कस्ताे लेख्ने हाे गाडीकाे नम्बर प्लेट ?

  २०७७ साउन १९ गते १५:५८     सन्ताेष राेकाया

काठमाडौं । बजारमा सवारी साधनका नम्बर प्लेटहरु धेरै किसिमका देखिन्छन् । कोही राता कोही सेता त कोही पहेँला । यस्ता धेरै रङ्गका नम्बर प्लेटहरु हुँदा सर्वसाधारणमा यो कुन संस्थाको सवारी हो भन्ने यकिन गर्न पनि गाह्रो छ ।

यसका साथै आम सर्वसाधरणहरुमा सवारी साधन नम्बर प्लेट वितरण तथा नामाङ्कनको प्रक्रिया के हो ? कस्ताे लेख्ने हाे ? भन्ने  कुरा बुझ्न गाह्रो नै पर्छ । किनकि अहिले बजारमा सवारी साधनमा आफुखसी नम्बर प्लेट राख्ने होडवाजी व्याप्त छ ।

यी धेरै किसिमका आफुखुसीले बनाएका नम्बरप्लेटले मानिसममा एक प्रकारको दुविधा उत्पन्न गराएको छ । हाल बजारमा सवारी साधनहरुमा १४ किसिमका नम्बर प्लेट जडान भएको यातायात व्यवस्था विभाग बताउँछ । तर, ती सबै नम्बर प्लेटहरु सवारी धनीले आफुखुसी बनाएको स्वयमं विभागका महानिर्देशक गाेगन बहादुर हमाल स्वीर्काछन् ।

हालसम्म सवारी साधनको नम्बर प्लेटका लागि सवारी धनीले सम्बन्धित अञ्चलको यातायात कार्यालयमा आवेदन दिई सवारी साधनको नम्बर पाउँदै आएका थिए । अब भने सम्बन्धित प्रदेशको यातायात कार्यालयलयबाट सवारी साधनका लागि नम्बर प्लेट पाउने व्यवस्था गरेकाे यातायात व्यवस्था विभागले जनाएको छ ।

पुराना नम्बर प्लेटहरुमा भद्रगोलको अवस्था देखा परेको र धेरै प्रदेशको नम्बर प्लेटको अंक पनि बढी भइसकोले अब नयाँ नम्बर प्लेटलाई सिस्टमेटिक र प्रादेशिक नामांकन हुने किसिमले सवारी साधनको नम्बर प्लेट वितरण गर्न लागिएको हमालले बताए ।

देश प्रादेशिक संरचनामा गइसकेपछि सवारीका नम्बर प्लेट पनि प्रदेशकै नाम अगाडि आउने हिसावले वितरण गरिने उनले बताए । अहिले पनि एउटा सवारी साधनमा एक र अर्को सवारी साधनमा भिन्नै किसिमको नम्बर प्लेट नामाङ्कन गरेको भेटिन्छ । यस्तो किसिमको दुविधा हटाउन अब एकै प्रकारको नम्बरप्लेट वितरण सुरु हुने उनको भनाई छ ।

हालसम्म सम्बन्धित अञ्चलको यातायात कार्यालयबाट अञ्चलको नाम आउने गरी नम्बर प्लेट लेखिन्थे भने अब प्रदेशको पहिचान हुने गरी नम्बर प्लेट वितरण हुने उनको भनाई छ ।

के हो इम्बोस्ड नम्बर प्लेट ?

धातुको प्लेटमा बाहिर उठ्ने गरी ‘पन्चिङ’ गरी प्लेटमा नम्बर राखिनेछ । यस्तो नम्बर चाँही अहिले प्रयोगमा आएको जस्तै बाहिरबाट हेर्नका लागि हो । तर यो केरमेट गर्न नमिल्ने र १० वर्ष भन्दा बढी टिक्ने हुन्छ । विभागका महानिर्देक गोगन बहादुर हमालका अनुसार प्लेटमा सात अंक भएको गोप्य नम्बरसहितको ‘चीप’ पनि प्लेटमा जडान गरिएको हुन्छ । यसमा बार कोड पनि हुन्छ । चीपमा सवारीको चेसिस, दर्ता, इन्जिन नम्बर देखि कहिले बनेको हो भन्ने पनि रेकर्ड रहेको हुन्छ ।

प्लेटमा सात अंक भएको गोप्य नम्बरसहितको ‘चीप’ पनि प्लेटमा जडान गरिएको हुन्छ । यसमा बार कोड पनि हुन्छ । चीपमा सवारीको चेसिस, दर्ता, इन्जिन नम्बर देखि कहिले बनेको हो भन्ने पनि रेकर्ड रहेको हुन्छ । चीपमा सवारी धनिको विवरण, कर तिरे नतिरेको रेकर्ड पनि राखिन्छ ।

नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि उक्त प्रदेश भित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक उल्लेख गर्नुपर्नेछ। प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोके बमोजिम हुनेछ।

अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नु पर्नेछ । पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नु पर्नेछ। त्यस्तो सवारी समूह जनाउने अंक आवश्यकता अनुसार ००१ देखि ९९९ सम्म हुनेछ ।

त्यस्तै सवारी दर्ता नम्बर बढीमा ४ अंकको ९०००१ देखि ९९९९० सम्म हुनेछ। प्रयोगअनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानु पर्ने छ ।

उदाहरणका लागि पहिलेको बागमती अञ्चल, प्रदेश ३ र अहिलेको बागमती प्रदेश गरेर तीन किसिमका नम्बर प्लेट छन् । त्यसमा एकरुपता दिन यस्तो गर्न लागिएको हमालले बताए ।

पुरानो नम्बर प्लेटमा अञ्चल संकेत, लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत उल्लेख हुने गरी दुई लाइनको दर्ता नम्बर हुन्थ्यो। अहिले भने तीन लाइनमा दर्ता नम्बर हुनेछ । पहिलो लाइनमा प्रदेश संकेत र प्रदेशमा रहेका यातायात कार्यालयको संकेत नम्बर हुनेछ । दोस्रो लाइनमा लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत हुनेछ । तेस्रो लाइनमा दर्ता नम्बर उल्लेख हुनेछ।

दुई पाङ्ग्रे सवारी साधनको हकमा भने अगाडि पट्टीको नम्बर प्लेट दुई लाइनमा र पछाडिको तीन लाइन हुनेछ। दुई लाइनमा हुने नम्बर प्लेटको पहिलो लाइनमा प्रदेश संकेत र प्रदेशमा रहेका यातायात कार्यालयको संकेत नम्बर हुनेछ भने दोस्रो लाइनमा लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत तथा दर्ता नम्बर पनि उल्लेख हुनेछ। हाल दुई पाङ्ग्रेको अगाडि एक लाइन र पछाडि दुई लाइन नम्बर प्लेट रहेको छ । हालसम्म ५ हजार इम्बाेस्ड नम्बर प्लेट वितरण भइसकेकाे उनकाे भनाई छ ।

अब ४ थरिका नम्बर प्लेट मात्र

नयाँ नम्बर प्लेट भएका सवारी साधन सडकमा गुड्न थालेपछि अब नेपालका सडकमा चार थरिका नम्बर प्लेटका सवारी साधन हुनेछन् । हाल केही चार पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेका छन्। सर्वोच्च अदालतमा परेको मुद्दाका कारण इम्बोस्ड नम्बर प्लेटको वितरण राकिएको थियो । तर अब निरन्तर नयाँ नम्बर प्लेट वितरण हुुने उनको भनाई छ ।

सार्वजनिक सवारी साधन व्यावसायिक प्रयोजनमा पहेंलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो, सरकारीमा सेतो प्लेटमा रातो, कूटनीतिको सवारीमा सेतो प्लेटमा निलो अक्षरले लेखिनेछ ।

 ट्रयाकिङ गर्न पनि सहज

हमालका अनुसार राजमार्गका विभिन्न स्थानमा विभाग र ट्राफिक प्रहरीले ट्राकिङ स्टेसन राख्ने छन् । ती स्टेसनबाट आवतजावत गर्ने सवारी साधनको विवरण रेडियो फ्रिक्वेन्सट्ठ मार्फत संकलन र व्यबस्थापन हुने उनले बताए ।

यसबाट चोरी डकैती तथा तस्करी पनि कम हुने उनको विश्वास छ । प्रहरीलाई पनि नम्बर प्लेट थाहा पाउन सहज हुने उनको भनाई छ । विभागको डेटाबेसमा हुने विवरण र नम्बर प्लेटको विवरण मेसिनले नै तुलना गर्ने छ । यसैका लागि दूरसञ्चार प्राधिकरणले छुट्टै रेडियो फ्रिकेन्सी उपलब्ध गराउने छ ।

यस सम्बन्धमा विभागको वेबसाइटमा गएर ‘इम्बोस्ड नम्बर प्लेट अनलाइन’ फारममा सीधै आफ्नो विवरण भरेर निवेदन दिन सकिन्छ । इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न, चोरी गाडी दर्ता गर्न, निजी, सरकारी, कूटनीतिकलगायतका सवारी साधनका धनी र साधनको विवरण तथा राजस्व असुलीको अवस्थाबारे बुझन सहज हुनेछ ।

साथै कुन सवारी साधन कुन नाकाबाट कतिपटक आवतजावत र्गयो भन्ने कुरा पनि सजिलै पत्ता लगाउन सकिने छ ।

नम्बर प्लेट परिवर्तन गर्न खर्च कति लाग्छ ?

अहिलेसम्म देशभर २२ लाखको हाराहारीमा सवारी दर्ता भएको विभागको तथ्याङ्क छ । सबै नम्बरलाई डिजिटलाइज्ड गर्न ४ अर्ब ९१ करोड सात लाख रुपैया खर्च हुने विभागको अनुमान छ ।

डिजिटल नम्बर प्लेट लिनका लागि सवारी धनीले आफै शूल्क तिर्नुपर्ने हमालले बताए । सवारी साधन अनुसार मूल्य फरक पर्ने उनको भनाई छ । अहिले नयाँ नम्बर प्लेट फेर्न २५ सयदेखि ३ हजारसम्म शुल्क लाग्ने गरको छ ।

पुरानो नम्बर प्लेट के हुन्छ ?

विभागका अनुसार नयाँ नम्बर प्लेट आएपछि पुराना अञ्चल नामका नम्बर प्लेटहरु आफै विस्थापित भएर जानेछन् । कतिपयमा सरकारले सवारी साधन दर्ताका लागि नयाँ व्यवस्था लागू गरेसँगै पुरानो नम्बर के गर्ने भन्ने अन्यौल कायमै छ तर ती पुराना नम्बर प्लेटहरु नयाँ आएपछि विस्थापित भएर जानेछन् ।

यसअघि बागमती अञ्चलमा ९९ लटका सबै नम्बर सकिएको र तीन अंकको लट नम्बर दिन सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गर्नुपर्ने भएकाले नयाँ मोटरसाइकल र स्कुटरको दर्ता रोकिएको थियो ।

One comment on "कस्ताे लेख्ने हाे गाडीकाे नम्बर प्लेट ?"

  • Kalavati says:

    यो ठेकेदारसंग मिलेर लुटी खाने मेसो हो । यसमा अरबाैंको चलखेल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.