प्रसूति गृहको ‘ह्वील लक’

  २०७७ साउन १८ गते १६:०१     शिव सत्याल

साउन १५ गते बिहानै ज्वाइले फोन गर्दै भन्नुभयो- सावित्रालाई गाह्रो भएको छ, उपचारको लागि मन्थली ल्याउन लागेको ।

‘हिजोदेखि लगातार पेट दुखिरहेको छ, एपेन्डिक्स हो कि भन्ने शंका लागेको छ, मन्थलीमा के कस्तो उपचार हुन्छ, नभए काठमाडौं नै ल्याउनु पर्ने होला,’ उहाँले थप्नुभयो ।

मैले हुन्छ भने ।

उहाँले साझ ७ः३० बजेतिर फेरि फोन गर्नुभयो । रामेछाप सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा विरामी भर्ना गर्नुभएछ । तर, शंका गरिए जस्तो एपेन्डिक्स भएको होइन होला भन्ने जवाफ अस्पतालले दिएछ । तर, समस्या के हो भन्ने पत्ता लागेनछ ।

थप उपचारको लागि काठमाडौं ल्याउने निर्णय गर्दै उहाँ गाडी खोज्न थाल्नुभएछ । एम्बुलेन्स छैन । भाडाका गाडी लकडाउनको कारण बन्द । रातो नम्बर प्लेटका निजी सवारी साधन मन्थलीदेखि काभ्रेको साँगा वा धुलिखेलसम्म मान्छे ओसार्न व्यस्त । गाडी पाइएनछ । बल्लबल्ल एउटा ट्याक्सी भेटिएछ । ट्याक्सीले मन्थलीबाट धुलिखेलसम्म ल्याएको ३० हजार रुपैयाँ भाडा मागेछ । हो, ३० हजार रुपैयाँ । सामान्य अवस्थामा मन्थलीबाट काठमाडौं आएको सुमोमा नै करिब १ हजार रुपैयाँ भाडा लाग्थ्यो ।

ज्वाइले फोन गर्नुभयो । यो सबै घटना सुनाउनु भयो । केही व्यवस्था मिलाउन सकिन्छ कि भनेर म लागेँ । रामेछापकै पत्रकार सरोज सुवेदीलाई फोन गरेँ । सुवेदीले ‘एम्बुलेन्स पाइन सक्छ, मलाई दुई चार कल फोन घुमाउन दिनुस् न’ भन्नुभयो ।

नभन्दै उहाँले रामेछापको एम्बुलेन्स भेट्टाउनु भएछ । साढे ७ हजार रुपैयाँ रहेछ भाडा । पत्रकार दिपक घिमिरेले मन्थलीमा आवश्यक समन्वय गरेर एम्बुलेन्स चढाएर काठमाडौं पठाउनु भयो ।

गत विहीबार ८ बजे मन्थलीबाट एम्बुलेन्स हिड्यो । राती काठमाडौंको हेल्पिङ ह्याण्ड अस्पतालमा ल्याइयो । हेल्पिङ ह्याण्डस्ले पनि एपेन्डिक्स नभएको बरु पाठेघरमा समस्या भएको हुन सक्ने भन्दै प्रसूति गृह थापाथली रिफर गरिदियो । शुक्रबार बिहान २ बजेतिर प्रसुती गृह पुर्याइयो ।

प्रसूति गृहको इमर्जेन्सीमा भर्ना गराइयो । विहान ७ बजेतिर म प्रसूति गृह पुगेँ । कोरोना संक्रमण सन्त्रासको कारण अस्पतालको पार्किङमा गाडी लान नदिने गरिएको रहेछ । आफूसँग स्कुटर थियो । कहाँ राख्ने त ? ‘त्यो तपाईंको समस्या हो, भित्र ल्याउन मिल्दैन’ सुरक्षा गार्डले भने ।

अनि सडक किनारा खोज्दै हिडेँ । प्रसूति गृहको मुलढोका नजिकै अलिकति कुनो जस्तो ठाउँ छ । तर, भित्तामा लेखिएको रहेछ ‘पार्किङ निषेध ।’

स्कुटर त्यही राखेँ । भित्र गएँ । विरामी भेटेँ । करिब आधा घण्टाजति बसेँ । घरबाट खाना बनाएर ल्याउनु पर्ने भयो । साढे ७ बजेतिर निस्केको त स्कुटरमा ट्राफिकले ह्वील लक गरेछ ।

सेतो मोटरसाइकल अड्याएर नजिकै ट्राफिक बसिरहेका रहेछन्–चन्द थरका । उनलाई गएर सोधे– मेरो स्कुटरमा ह्वील लक तपाइले लगाएको हो’ भनेर ।

उनले ‘हो’ भने ।

‘किन लगाएको ?’ मैले सोधेँ ।

‘यहाँ पार्किङ गर्न मिल्दैन भन्ने देख्नुभएन ?’ उनले भने ।

देखेको थिएँ– मैले भनेँ ।

‘अनि किन राख्नुभएको त ?’ उनले सोधे ।

‘कहाँ राख्नु त ? पार्किङमा लान मिल्दैन रे । विरामी इमरजेन्सीमा छ । तपाईंलाई विश्वास लाग्दैन भने हिड्नुस्, गएर हेरौं’ भनेँ ।

‘स्कुटर कहाँ राख्ने भन्ने तपाईंको कुरा हो । यहाँ राख्न मिल्दैन । नो पार्किङ लेखेको छ । तपाईंको विरामी भेट्न जान म डाक्टर होइन, तपाईंको आफन्त पनि होइन । मेरो ड्युटी पनि त्यो होइन । पार्किङ गर्न नमिल्ने ठाउँमा स्कुटर राख्नुभयो, त्यसैले मैले ह्वील लक लगाएँ ।’ उनले भने ।

एकछिन गलफत्ती गरेँ । उनले गलत ठाउँमा पार्किङ गरेवापत जरिवाना तिर्नुपर्ने अडान लिए । जरिवाना तिर्नको लागि उनले मेरो लाइसेन्स मागे । अब पर्यो अर्काे फसाद ।

सवारी चालक अनुमतिपत्रको म्याद सकिएपछि गत वर्षको साउनतिर यातायात व्यवस्था कार्यालयमा गएर राजस्व तिरेँ । राजस्व तिरेको एउटा चिर्कटो दिइएको थियो । त्यो चिर्कटो र म्याद सकिएको लाइसेन्स देखाएपछि सवारी चलाउन पाइन्छ भनेर यातायात कार्यालयले भनेको थियो । त्यो चिर्कटो च्यातियो । म्याद सकिएको लाइसेन्स मात्रै बाँकी छ । म्याद सकिएको लाइसेन्स देखाउँदा अर्काे कारबाहीमा परिएला भन्ने डर लाग्यो । यातायातले लाइसेन्स आएको छैन भनेर दिएको छैन ।

घर पुगेर विरामी बैनीलाई खाना लिएर आउनु पर्ने थियो । नो पार्किङमा पार्किङ गरेको सँगै सवारी चलाउन चाहिने आवश्यक कागजपत्र नबोकेको अर्काे अभियोग पनि थपिने भयो । अनि इमान्दार जस्तो बनेर ब्लुबुक झिकेर ट्राफिकको हातमा राखिदिएँ । र, भनेँ ‘सर, म पत्रकार हो, विरामी इमरजेन्सीमा छ, घर गएर खाना ल्याइदिएर अफिस जानुपर्नेछ, त्यसैले मिल्छ भने त्यसै ह्वील खोलिदिनुस्, मिल्दैन भने पनि छिटो चिट काटेर मलाई छोडिदिनुस्’ भनेँ ।

मैले म पत्रकार हो भनेको र अलि ‘कुल’ पनि बनेको देखेर ट्राफिक पनि अलि ‘कुल’ भए । अनि उनले ‘नर्मल जरिवाना तिर्ने गरी चिट काटिदिने’ बताए । पछि थाहा भयो–नर्मल जरिवाना भनेको ५ सय रुपैयाँ तिर्नु भन्ने हुँदोरहेछ ।

लाग्यो– ५ सय किन तिर्नु ? ट्राफिकसँग अझै ‘रिक्वेष्ट’ गरेँ । निकै अनुरोध गरेपछि उनले चिट काटेनन्, ह्वील खोलिदिएँ । मेरोसँगै ह्वील लक गरिएका अन्य ४/५ वटा बाइकको ह्वील लक पनि त्यसरी नै खोलियो कि ‘नर्मल जरिवाना’ तिर्नुपर्यो ? खोजिनीति गर्न भ्याउने अवस्थामा थिइनँ । कोठातिर लागेँ ।

मन्त्री र कालोम्याट

प्रसूति गृहको मुलढोका अगाडी नर्भिक अस्पतालको पार्किङ छ । त्यहाँ जतिबेला पनि छिर्न पाइन्छ । मोटरसाइकल र स्कुटर राखेको प्रतिघण्टा २५ रुपैयाँ तिर्नुपर्छ । त्यसपछि म जतिबेला पनि नर्भिकको पार्किङमा स्कुटर राखेर प्रसूति गृह छिर्ने गर्न थालेँ ।

शनिवार (हिजो) राती खाना लिएर जान अलि ढिला भयो । रातीको ९ बजिसकेको थियो । विरामीको कुरुवालाई राती सुत्ने सुविधा छैन । त्यसैले म्याटमा सुत्न मिल्छ भनेर विरामी कुरुवाले म्याट बोकेर जाने गरेका रहेछन् ।

कोरोना संक्रमण भित्र पस्न नदिन प्रसूति गृहको गेटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शनिवार रातीको दृश्य अझ अनौठो थियो ।

म्याट बोकेर गएका विरामी कुरुवालाई सुरक्षा गार्डले रोकिरहेका थिए । गेटको गलफत्ती एकछिन हेरेपछि थाहा भयो– शनिवार कालो रंगको म्याट भित्र लान रोकिएको रहेछ ।

‘कालो म्याट भित्र लान मिल्दैन, अर्काे रंगको छ भने लानुस्, नभए क्यान्टिनको छेउमा अर्काे म्याट पाइन्छ, त्यही किनेर चलाउनु’ गेटमा तैनाथ सुरक्षा गार्ड उर्दी लगाइरहेका थिए ।

खाना पुर्याएर फर्कें । विरामी कुरुवा भतिजी बसेको थिइ । राती १० बजेतिर फोन गर्दै भनी– अंकल भोलि मन्त्री आउने रे, विहान ७ बजेदेखि १२ बजेसम्म छोरा मान्छेलाई अस्पतालमा पस्न दिदैन रे, भिनाजुलाई अस्पताल नआउनु भन्नु, मलाई लिन विहान आउँदा दिदी कुर्न कोही लेडिज ल्याउनु पर्ने भयो, कसलाई लिएर आउनु हुन्छ, ल्याउनु’ उसले भनी ।

बल्ल बुझें । अघि कालो म्याट भित्र लान नदिनुको कारण भोलि आउने मन्त्री रहेछन् ।

………………….

मनमा केही प्रश्न उब्जिए । मन्त्री आउने दिन कालो म्याट लान नपाइने हो भने अरु दिन किन पाइने ? मन्त्री आउने दिन छोरा मान्छेले आफ्ना आमा, श्रीमती, दिदी बहिनी वा आफन्त कुर्न नपाउने हो भने अरु दिन किन पाउने ? मन्त्री आउने दिन सरसफाइ र स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिनुपर्ने भए अरु दिन किन नपर्ने ? म्याटको रंगप्रति अस्पताल प्रशासनको बुझाइ के होला ?

प्रश्न अरु पनि उब्जिए । रामेछापबाटै प्रदेशसभामा निर्वाचित सांसद कैशाल ढुंगेल बागमती प्रदेशको अर्थमन्त्री छन् । रामेछाप सदरमुकाममै राम्रो अस्पताल किन नबनाएको होला ? जिल्ला सदरमुकामै सामान्य अवस्थामा सार्वजनिक सवारी साधनले हजार रुपैयाँ भाडामा यात्रा गराउने दुरीमा एउटा गाडीले विरामी ल्याउन ३० हजार रुपैयाँ देऊ भन्न सक्ने मनोमानी अवस्थाको जननी को हो ? यस्ता विकृति रोक्न पहल किन नगरेको ? रातो नम्बर प्लेटका गाडीले चर्काे भाडा असुलेर साँगा चोकसम्म ल्याउने र त्यहाँबाट १ मिलोमिटर हिडेर उपत्यका छिर्दा चै कोरोना नआउने ? सार्वजनिक सवारी साधनले कोरोना ओसार्ने, निजी नम्बर प्लेटका गाडीले कोरोना किच्छ भन्ने सोचको हिमायती को होला ?

प्रश्नको बाढी रोकिएन । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) किन दिन्छ ? राजस्व उठाउन मात्रै ? लाइसेन्सको म्याद समाप्त भएपछि नविकरण गर्नै पर्ने भनेको राजस्व उठाउनको लागि मात्रै हो ? राजस्व तिरेको रसिदले गाडी चलाउन पाउने व्यवस्था कुन कानुनमा छ ? लाइसेन्स दिन्छु भनेर जनतासँग पैसा असुल्ने तर एक वर्षसम्म पनि लाइसेन्स नदिने फट्याइ यातायात कार्यलयले किन गरेको ? पैसा लिएपछि जे दिन्छु भनेको छ, त्यो दिनु पर्दैन ?

यस्तै प्रश्नका बीचमा झल्यास्स सत्तारुढ नेकपा सम्झिएँ । फेरि प्रश्न नै थपिए । केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद नछाडेकोले यो समस्या आएको हो ? प्रधानमन्त्री ओलीले नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई सामाजिक संजालमै गाली गर्ने व्यक्तिलाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेकोले मन्थलीबाट धुलिखेल ल्याएको भाडा ट्याक्सीले ३० हजार मागेको हो ? कि प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगन गरेका कारण मन्त्री आउने दिन प्रसुती गृहमा छोरा मान्छेलाई प्रवेश दिनु हुदैन भन्ने अल्पज्ञान पसेको ?

एकाएक प्रधानमन्त्रीको अनुहार याद आयो । हँसिलो अनुहार । कालो भादगाउँले टोपी । पुष्ट गाला । दौरा, सुरुवाल, कालो कोट र कालो जुत्तामा सजिएका प्रधानमन्त्री केपी शर्मा ओली । सर्वहारालाई राज्यत्ताको मुलधारमा ल्याउनु पर्छ भन्ने मान्यताले कम्युनिष्ट दर्शन बोकेर जिन्दगीको लामो समयसम्म जेलनेल भोगेको व्यक्ति प्रधानमन्त्री बनेपछि ‘यति’ र ‘ओम्नी’ पोस्ने प्रधानमन्त्री । धर्मलाई अफिम जस्तै हो भन्दै संसारभर साम्यवाद स्थापना गर्न हिडेको एक किशोर, जिवनको उत्तरार्धमा झण्डै दुई तिहाई मत प्राप्त दलबाट चुनिएर प्रधानमन्त्री बनेपछि भगवान रामको जन्मथलो कता होला भन्दै भौतिरिरहेको एक ‘स्वप्नद्रष्टा’ कार्यकारी प्रमुख ।

प्रधानमन्त्रीलाई भेट्न सक्ने ‘हैसियत’मा म छैन । भेटेपनि माथि उठाएका प्रश्न सोध्नुको औचित्य छ जस्तो मलाई लाग्दैन । प्रधानमन्त्रीलाई यति चै सोध्न पाए हुन्थ्यो– भगवान रामको जन्मथलो अयोध्या भेटियो प्रधानमन्त्रीज्यू ?

One comment on "प्रसूति गृहको ‘ह्वील लक’"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X