इसुजु भी-क्रसको नयाँ संस्करण सार्वजनिक, मूल्य ७० लाख ९० हजार

  २०७७ साउन १६ गते १८:३५     विकासन्युज

काठमाडौं । नेपालका लागि इसुजु गाडीको अधिकृत बिक्रेता कन्टिनेन्ट ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भी-क्रसको परिष्कृत संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । ७० लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको तथा २० वटा नयाँ फिचर थपिएको उक्त गाडीको बुकिङ खुलेको छ ।

नेपालभरका इसुजु डिलरबाट यो गाडी बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । ४-सिलिन्डर, कमन रेल, भिजिएस टर्बो इन्टरकुल्ड, २.५ लिटर डिजेल इन्जिनबाट सज्जित इसुजु भी-क्रसको परिष्कृत संस्करणको इन्जिनले १३४ एचपी र ३२० एनएम टर्क प्रदान गर्छ । पाँच स्पिड म्यानुअल गेरबक्स रहेको यो गाडीमा फोरह्विल ड्राइभ (सिफ्ट-अन-फ्लाई) मोड पनि उपलब्ध छ ।

इसुज गाडीहरु कम समस्या आउनेको अग्रपंक्तिमा पर्छन् । कम्पनीले ग्राहकलाई बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन देशभरका सहरी इलाकामा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको र यसलाई अझै सुदृढ बढाउँदै लगिने जानकारी दिएको छ ।

२०१९ इसुजु भी-क्रसको नयाँ भर्सन अगाडिपट्टि नयाँ ग्रिल र नयाँ स्वरुपमा आएको छ, जसमा बी-एलइडी हेडल्याम्प र क्रोम बेजेल सहितको फग ल्याम्प छन् । पछाडिपट्टि एलइडी टेल ल्याम्प र अपग्रेडेड क्रोम बम्पर छ । बाहिरी विशेषतामा १८ इन्चको डायमन्ड कट अलो ह्विल, रुफ-रेल र सार्क फिन एन्टेना छ । यसका साइड स्टेपहरु पनि पुनः डिजाइन गरी परिष्कृत गरिएका छन् ।

नयाँ इसुजु भी-क्रस प्यासिभ इन्ट्री एन्ड स्टार्ट स्टप (पिइएसएस) प्रणालीका साथ आएको छ । यो लाइफस्टाइल पिकअपको सुरक्षा विशेषतामा लचिलो र भार सीमित गर्ने सिटबेल्ट, गति संवेदनशील स्वचालित डोर लक, अगाडि सिटमा बस्ने व्यक्तिले सिट बेल्ट नबाँधेको खण्डमा सम्झाइदिने प्रणाली लगायत छन् ।

भारतको आन्ध्र प्रदेशमा रहेको इसुजु मोटर्स इन्डिया म्यानुफेक्चरिङ प्लान्टमा उत्पादित भी-क्रस सफायर ब्लु र सिल्की पर्ल ह्वाइट गरी थप दुई रङमा उपलब्ध छ । साबिकको रुबी रेड, टिटानियम सिल्भर, अब्सिडियन ग्रे, कस्मिक ब्ल्याक र स्प्लास ह्वाइट रङमा पनि यो गाडी उपलब्ध छ ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज बारे

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि दुई दशकभन्दा बढी समयदेखि नेपालमा विश्वविख्यात ब्रान्डका गाडी र हेभी उपकरणको कारोबारमा संलग्न छ । यसले कोमास्तु ब्रान्डको निर्माण र माइनिङ उपकरण, कियाको प्यासेन्जर भेइकल, ओटिस ब्रान्डको इलेभेटर, फुरुकावा ब्रान्डको ड्रिलिङ उपकरण, इसुजु ब्रान्डका गाडी लगायतको कारोबार गर्छ ।

विभिन्न उत्पादन कम्पनीहरुमा समेत लगानी गरेको कन्टिनेन्टल ग्रुप अन्तर्गत वित्त र हाउजिङ कम्पनी पनि छ । गुणस्तरीय वस्तु र सेवा प्रदान गर्ने लक्ष्य लिएको कन्टिनेन्टल ग्रुप अहिले नेपालको सुप्रसिद्ध व्यापारिक घरानामध्येको एक बनिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.