कोरोनाले बीमा क्षेत्रमा कति असर गर्यो ? अध्ययनमा जुट्यो बीमा समिति

  २०७७ साउन १६ गते १६:१३     नबिन पाेखरेल

काठमाडौ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विभिन्न क्षेत्रमा निकै असर पुर्याएको छ । त्यो असरले सीमित क्षेत्र मात्र नभई देशको अर्थतन्त्रलाई समेत निकै प्रभावित बनाएको छ ।

कोरोना भाइरसले बीमा क्षेत्रलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वभाविक असर नै परेको छ । यसले बीमा क्षेत्रमा के कति असर पर्यो ? त्यसको सही विवरण तथा तथ्यांक हालसम्म यकिन नभएपनि यसको बारेमा विस्तृत जानकारीका लागि बीमा समिति अध्ययनमा जुटेको छ ।

बीमा समितिका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) ले नेपाली बीमा क्षेत्रमा परेको असरका बारेमा अध्ययन गर्न जुटेको हो ।

समितिका अनुसार समितिले कोरोना महामारीको असर बीमा क्षेत्रमा तत्काल नभई निकट भविष्यमा देखिने भन्दै अध्ययन थाल्ने भएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले कोरोना महामारीले बीमा क्षेत्रमा पारेको असर अहिलेभन्दा भविष्यमा बढी हुने भएकोले यसले पारेको वास्तविक असरको फिगर निकाल्न समितिले अध्ययन गर्न लागेको बताए ।
‘हामीले कोरोना महामारीको असर जीवन बीमा क्षेत्रमा तत्काल असर देखेका छौं, निर्जीवन बीमा क्षेत्रमा आगामी वर्षहरुमा धेरै रहने हाम्रो अनुमान छ’, उनले भने ।

कोरोना महामारीका कारण जीवन बीमा क्षेत्रमा अभिकर्ताहरुले बिमितसम्म पुगेर बीमा गराउन पाएनन् । अभिकर्ताहरुले सम्बन्धित कम्पनीको नाम लिएर बीमा सम्बन्धि जानकारी दिने, बीमा गराउने तथा दाबी भुक्तानीको बेलामा समेत सहजिकण गर्छन् । तर कोरोना महामारी तथा लक डाउनले अभिकर्ताहरुले काम गर्न समस्या परेको उनको भनाई छ ।

कार्यालयमा बिमित पु्ग्नपनि कठिन भएकाले जीवन बीमा व्यवसाय प्रत्यक्ष रुपमा प्रभावित हुन पुगेको उनको भनाई छ । यस्तै, निर्जीवन बीमा क्षेत्रमा भने आगामी वर्षमा असर देखिने समिति बताउँछ ।

तत्कालका कोरोना महामारीले बीमा क्षेत्रमा के कस्तो असर पार्यो भन्ने कुरा एक किसीमको अनुमान मात्र रहेको बीमा समितिले बताएको छ । अध्ययन नगरीकन वास्तविक अवस्था थाहा पाउन नसकिने समितिको ठहर छ ।

बीमा समितिले विभिन्न कम्पनीहरुमा कोरोनाले पुर्याएको असर अध्ययन गरेर भोलिका दिनमा आवश्यक मापदण्ड बनाएर अघि बढ्ने जनाएको छ । बीमा समितिले सो विषयमा कम्पनीहरुसँग छलफल गरी सकेको छ ।

आगामी दिनमा कम्पनीहरुसँग कसरी समन्वय गर्ने भनेर पनि बीमा समितिले मापदण्ड तयार गरेकोे छ । सो मापदण्ड अनुसार बीमा कम्पनीहरुलाई समितिले आवश्यक निर्देशन दिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.