गाडीवालाले सरकारको नियमलाई टेरेनन्, भाडा दोब्बर, न मुखमा मास्क न गाडीमा स्यानिटाइजर

  २०७७ साउन १६ गते १५:२९     सन्ताेष राेकाया

काठमाडौं । यातायात व्यवसायीहरुले यात्रुहरुबाट  दोब्बर भाडादर लिइरहेकाे गुनासो आएकाे छ। कोरोना भाइरसको कारण उत्पन्न ४ महिना लामो लकडाउनपछि सञ्चालन भएका सार्वजनिक सवारी साधनले दोब्बर भाडा लिएको यात्रुले गुनासो गरेका हुन् ।

सरकारले विभिन्न स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा गरी र ५० प्रतिशत बढी भाडा लिएर जिल्ला भित्रैका सवारी साधनहरु चलाउन पाइने गरी निर्णय गरेपनि यातायात व्यवसायीहरुले भने गाडीमा चढ्ने यात्रुहरुबाट दोब्बर भाडा लिइरहेको गुनासाे यात्रुहरुबाट आएकाे हाे ।

असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी चल्न दिने निर्णय गरेको थियो । त्यो सँगै उपत्यका भित्रका तीन जिल्ला र अन्य जिल्लाहरुमा पनि सार्वजनिक सवारी साधनहरु सञ्चालनमा आएका थिए ।

नेपाल सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि मापदण्ड नै तयार गरेर त्यही स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सवारी साधन चलाउनु पर्ने बताएको थियो । विभागको मापदण्डमा सवारी साधनको सीट क्षमताको बढीमा ५० प्रतिशत यात्रु राख्ने, सबै यात्रुले मास्क लगाउने, व्यवसायीले सगाडीमा स्यानिटाइजर राख्ने, चालक र सहचालकले पनि मास्क र ग्लोब्स लगाउनुपर्ने प्रावधानहरु उल्लेख गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकले नै यातायात व्यवसायीहरु लकडाउनको समयमा धेरै आर्थिक संकटमा परेको भन्दै ५० प्रतिशत भाडा बढाएर गाडी सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । तर, यातायात व्यवसायी अर्थात गाडीवालाहरुले भने अहिले यात्रुहरुबाट पहिलेको भन्दा दोब्बर भाडा उठाइरहेको बुझिएको छ ।

सार्वजनिक सवारी साधनहरुले १ किलोमिटरदेखि ४ किलोमिटरसम्म १४ रुपैयाँ भाडा लिनु पर्ने प्रावधान छ । तर, व्यवसायीहरुले यात्रुहरुबाट २५ देखि ३० रुपैयाँसम्म भाडा लिँदै आएका छन् ।

सीमित सवारी साधनमा सीमित यात्रुहरुबाट दोब्बर भाडा लिए पनि उनीहरुले सवारी साधनमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षामा विधिहरु भने अवलम्बन गरिएको देखिँदैन । सरकारले गाडीमा सामाजिक दूरी कायम गर्नुपर्ने, सबै यात्रुले मास्क लगाउनु पर्ने, गाडी चालक, सह–चालकले माक्स ग्लोभ्स लगाउनु पर्ने भनिएपनि त्यसको कार्यान्वयन भने सीमित सवारी साधनहरुमा मात्र देखिन्छ ।

सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पुरा गरेको छ वा छैन भनेर नियमित अनुगमन गर्दै आएको बताए पनि ट्राफिकले पनि खासै वास्ता नगरेको सवारी साधनमा देखिएको स्वास्थ्य सुरक्षा व्यवस्थाले प्रष्ट पार्छ ।

महानगरीय ट्राफिक महाशाखा भने पहिले त्यस्ता खालका गुनासाहरु निरन्तर आएपनि अहिले गुनासाे गर्नेहरुकाे संख्या पनि कम हुँदै गएको बताउँछ । महाशाखाका प्रवक्ता बामदेव गौतमले अहिले ट्राफिकले सार्वजनिक सवारी साधनहरुको अनुगमनलाई तीव्रता दिएकोले सवारी साधनहरु पनि सजग हुँदै गएको बताए ।

‘पहिले सवारी साधनहरुले यात्रुहरुबाट बढी भाडा असुल्ने, स्वास्थ्य सुरक्षाका मापदण्डहरु कार्यान्वयन गर्ने गरेका थिएनन्, त्यसपछि हामीले अनुगमन बढायौं, अहिले त्यसमा कमि आउँदै गएको छ,’ उनले भने । अहिले यात्रुहरुबाट त्यस्तो खालको गुनासो पनि कम आइरहेको उनको भनाई छ ।

सरकारले लकडाउनको अन्त्य गरेसँगै फेरि देशमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । त्यसमाथि पनि काठमाडौं उपत्यकामा त कोरोनाको जोखिम धेरै छ । विश्वभर कोरोनाको यति ठूलो जोखिम हुँदा हुँदै पनि बसमा चड्ने यात्रुहरुले पनि सर्तकता नअपनाएको बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.