टेक्कन बाइकले चिनाएको मोटरहेड सर्भिस सेन्टर विस्तारमा आक्रामक बन्दैछः साइमन रसाइली

  २०७७ साउन १६ गते ११:१९     विकासन्युज

एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनी द्वारा सञ्चालित मोटरहेडको मार्केटिङ म्यानेजर हुन् साइमन रसाइली । रसाइली अटो मोबाइल क्षेत्रमा विगत ६ वर्षदेखि कार्यरत छन् । विभिन्न समयमा महत्वपूर्ण जिम्मेवारी लिएर आवद्ध भएका रसाइली अहिले मोटरहेडमा आवद्ध भएर काम गरिरहेका छन् । कोरोना भाइरसको सन्त्रास उत्पन्न भएसँगै सामाजिक दुरी कायम गर्न पनि मानिसहरुको ध्यान निजी सवारी साधनमा गएछ । मोटरहेड पनि अटोमोबाइल क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल भएको छ । मोटरहेडको टेक्कन २५० मोटरसाइकलले लगातार ३५ हजार कुदाएर २०१४ मा विश्व रेकर्ड कायम गरी गिनिज बुकमा नाम लेखाएको छ ।मोटरहेड कम्पनीको हालको बजारको अवस्था, मोटर हेडले बिक्री गर्ने बाइक र कम्पनीको आगामी योजनाका बारेमा विकासन्युुजका सन्ताेष राेकायाले  रसाइलीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानी ।


पछिल्लो समय मोटरहेड कम्पनीका केही मोटरसाइकलहरु ग्राहकले धेरै रुचाएका छन्, धेरैले खरिद पनि गरिरहेका छन्, यसभित्रको कथा के हो ?

सुरुमा हामीले नेपालको भौगलिक बनावट र यहाँका ग्राहकलाई के चाहिन्छ भन्ने कुरा अध्ययन गर्यौं । ग्राहकहरुको त्यो चाहनालाई हामीले आपुर्ति गर्नको लागि हामीले मोटर हेडका बाइकहरु नेपालमा भित्र्याएका हौं । यो मोटर हेडका बाइकहरु नेपालमा ल्याएको पनि ३ वर्षभन्दा भयो । अहिलेको पनि हामीले ग्राहकको रोजाइलाई नै ध्यान दिन्छौं । ग्राहकले चाहेको र यहाँको भौलिक बनावट अनुसार चाहिने बाइकहरु हामीले आयात गर्दै आएका छौं । ग्राहकको चाहना अनुसार नै हामी अगाडि बढ्ने भएकोले हामीलाई ग्राहले रुचाएका हुन् ।

हामीले ३ महिनाभन्दा बढी समय लकडाउनमै व्यतित गर्नुपर्यो । अहिले बजार खुलेको पनि १ महिना भइसकेको छ । यो अवधिमा बजार विस्तार तथा व्यापार के कस्तो भइरहेको छ ?

हामीले ४ महिना बन्दाबन्दीको अवस्थामा पनि हाम्रा ग्राहकलाई सेवा दिइरहेका थियौं ।अन्य क्षेत्रका डिलरहरु मार्फत सेवा दिन नसके पनि उपत्यकामा भने हामीले सेवा दिँदै आएका थियौं । हाम्रो कम्पनीबाट प्राविधिकहरुलाई जुनसुकै पनि समयमा सर्भिसका लागि तयार पारिरहेका हुन्थ्यौं । लकडाउनको समयमा पनि हामीले सर्भिसमा धेरै ध्यान दियौं ।यो बिचमा सबै नागरिकहरु घरभित्रै भएको कारणले पनि व्यापार त्यति हुन सकेन । लकडाउनमा सोरुमहरु त्यति खुलेका पनि थिएनन् ।

लकडाउन खुलिसकेपछि यो एक महिनाको अवधिमा अटो मोवाइल क्षेत्रमा दुई पाँग्रे सवारी साधनको माग बढेको अथार्त अफ रोड मोटरसाइकलहरुमा ग्राहकको चाहना बढेको हामीले पायौं । लकडाउनकाे समयमा व्यापार त्यति हुन सकेन तर अबकाे याेजना भने बजार विस्तारकाे छ ।

लकडाउनकाे समयमा पनि ग्राहकको सेवामा तल्लीन रह्यौं भन्नुभयो । सुरक्षाको बिधि के कसरी अपनाउनु भयो । अहिले पनि कसरी काम गरिरहनु भएको छ ? 

हामीले सुरक्षाको विधिलाई एकदमै प्राथमिकता दिइहरेका छौं । फिल्डमा खटिनेहरुको कोरोना परीक्षण गर्ने , विभिन्न समयमा स्यानिटाइजरको प्रयोग, माक्सको प्रयोग गरेर हामीले स्वास्थ्य सुरक्षा विधिहरु अपनाइरहेका छौं । ग्राहकहरुसँग पनि सामाजिक दूरी कायम गरेर हामीले सेवा सुविधाहरु दिइरहेका छौं । हाम्रो सर्भिस सेन्टरहरुमा पनि हामीले त्यसरी नै काम गरिरहेका छौं ।

अहिले सबैको ध्यान निजी सवारी साधनतर्फ गइरहेकाे छ । त्यसलाई मध्यनजर गर्दै विभिन्न कम्पनीहरुले पनि सवारी साधनमा स्कीम ल्याएका छन् । ती स्कीमहरुमा ग्राहकहरुको चासो कतिको छ ?

यतिबेला सबैको व्यापार कम नै छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र नै संकटमा परेको अवस्था छ । यतिखेर नै धेरैले निजी सवारी साधन खरिद गर्ने चाहना पनि स्वभाविक राखेका छन् । तर वित्तीय अवस्थाले समस्या सिर्जना गरेको छ । निजी सवारी साधन खरिद गर्ने चाहना हुँदा हुँदै पनि त्यो चाहना वित्तीय अवस्थाले पुर्ति गर्न नसकिरहेको अवस्था छ। त्यही कुरालाई अध्ययन गरेर अर्थात बुझेर हामीले विभिन्न अफरहरु ल्याएका छौं । ग्राहकहरुका लागि वित्तीय व्यवस्थापन गरिदिएका छौं । त्यसैले ती स्कीमले ग्राहकहरुलाई धेरै नै सहज भएको छ । ग्राहकहरुले आफ्ना चाहना तथा आवश्यकता पुरा गर्ने उचित समय पनि यति बेला नै ठानिरहेका छन् ।

अहिले ग्राहकहरुका लागि मोटरहेडले के कस्ता स्कीम ल्याएको छ ?

हामीले विभिन्न मोडेलहरुमा स्कीम ल्याएका छौं । हामीले स्क्याम्बलर र एमएच १५० मा २० हजार रुपैयाँ छुट दिएका छौं । यस्तै,टेक्कन, एक्स–ट्रक,स्पोर्टस् एमएच २०० लगायत चार मोडेलहरुमा १५ हजार नगद छुट दिएका छौं । यसका साथ साथै अहिलेको परिस्थिती बुझेर ग्राहकहरुका लागि १ लाख रुपैयाँको निःशुल्क कोभिड–१९ बीमा गर्ने गरेका छौं । त्यसपछि १ वषको रोड ट्याक्स, फुल हेल्मेट र बाइकको बीमा हामी गर्ने गरेका छौं । ग्राहकहरुले पनि यी स्कीमहरु मन पराएका छन् ।

यो स्कीमहरु कहिले सम्मको लागि हो ?

हामीले साउन मसान्तसम्मको लागि यी स्कीमहको समयावधि राखेका छौं । पहिले लकडाउन भरिनै स्कीम गर्ने योजना बनाएका थियौं । अब लकडाउन समाप्त भएसँगै साउन मसान्तसम्मका लागि यी स्कीम ल्याएका छौं । यी स्कीमहरु सकिने बित्तिकै फेरि हामी चाडपर्व लक्षित स्कीमहरु ल्याउने योजनामा छौं ।

कोरोना भाइरस आउनु भन्दा अगाडिको समय र अहिलेको समयमा ग्राहकको आवागमन के कस्तो छ ?

पहिलेको भन्दा अहिले ग्राहकको संख्यामा अवश्य पनि कमि आएको छ । अहिले पहिलेको भन्दा ३०/४० प्रतिशत ग्राहक मात्र आइरहेका छन् । अहिले सहज वातावरण नभएको कारणले पनि हुन सक्छ होला ग्राहक त्यति धेरै आउने गरेका छैनन् ।

तपाईहरु बजारमा जानुहुन्छ । ग्राहकको मनसाय पनि बुझ्नुहुन्छ । अहिलेको यो बजार सामान्य अवस्थामा पुग्न कति समय लाग्ला ?

अहिलेको यो परिस्थितीमा बजार सामान्य अवस्थामा पुग्न कति समय लाग्छ भन्न एकदमै गाह्रो छ । किनकि अहिले पनि कोरोना भाइरसको जोखिम अझै पनि कायम नै छ । यदि अहिले नै कारोना भाइरस न्यूनिकरण भएपनि अझै बजार पहिलेकै अवस्थामा पुग्न एक वर्ष लाग्न सक्ने अवस्था छ ।

बजारमा मोटरहेड जस्ता धेरै बाइक बिक्रेता कम्पनीहरु छन् । आम ग्राहकहरुले मोटरहेडकै बाइक मात्र किन रोज्ने । यसको विशेषता के छ ?

सर्वप्रथम त हामीले ग्राहकको मनोविज्ञान र खरिद गर्न सक्ने क्षमता बुझ्नु पर्छ । हाम्रा ग्राहकहरु पनि धेरै हाई लेभलका हुनुहुन्न । हामी नर्मली एउटा जागिर गर्ने मानिस हौं । हामीले नेपालीहरुको चाहना आवश्यकतालाई मध्येनजरलाई ध्यानमा राखेर अर्थात बुझेर बाइकहरु आयात गरिरहेका छौं । नेपाली बजारमा जुन फ्याम्ली इनकमलाई आधार बनाएर नै हामीले बाइक आयात गदै आएका छौं । एउटा न्युन वर्गको मानिसले पनि बाइक चलाउन सक्ने कुरालाई ध्यानमा राखेर हामी बाइक ल्याउने र खरिद गर्ने काम गरिरहेका छौं ।

तपाईहरुले कति मोडेलका बाइकहरु बिक्री गरिरहनु भएको छ ?

हामीले अहिले ६ मोडेलका बाइकहरु बिक्री गरिरहेका छौं । छ वटा मोडेल नै डट सेग्मेन्टका बाइक हुन् । केही बाइकहरु अफ रोड र केही अन रोडका लागि हामीले ल्याएका छौं । केही बाइक दुवै खालका विशेषता भएका पनि छन् । ६ वटा मोडेलहरुमा टेक्कन, स्ट्र्याम्बलर, एक्स–ट्रक, स्पोर्टस्, एमएच १५० र एमएच २०० रहेका छन् ।

यी ६ वटा मोडेलहरु मध्ये सबैभन्दा चलेको अर्थात ग्राहकले मन पराएकाे मोडेल चाहिँ कुन हो ?

आजभन्दा ३ वर्ष अगाडि हामीले नेपालमा एउटा मोडेल मात्र भित्र्याएका थियौं । जुन टेक्कन बाइक हो । टेक्कन बाइकलाई ग्राहकहरुले एकदमै रुचाउनु भएको छ । त्यो बाइकको लेभल हेर्दा त्यसको नेपालमा १२/१३ लाख रुपैयाँ हुनु पर्थ्यो । तर, हामीले त्यसलाई भित्र्याउँदा खेरि साढे ३ लाख रुपैयाँ परेको थियो । ग्राहकले रुचाएर नै एउटा मोडेलले मात्र हुँदैन र उनीहरुको नै चाहनाले हामीले अरु मोडेलहरु पनि भित्र्याएका हौं । अहिले हाम्रा सबै बाइकहरु ग्राहकले मन पराएका छन् ।

टेक्कन बाइकको विषेशता के हो ?

टेक्कन बाइक अफ रोड र अन रोडका लागि एकदमै राम्रो छ । त्यसको पफमेन्स पनि रामो हुन्छ । सबैलाई चलाउन पनि सहज हुन्छ । बाइकको पछाडि बस्न पनि सकिन्छ । पछिल्लो समय मानिसहरुमा सोचको पनि विकास हुँदै गएको छ । अहिले मानिसहरु घुम्न पनि रुचाउँछन् । नेपालको भोगलिक बनावट अनुसार हाम्रा ग्राहकले पनि एकदमै मन पराएका छन् । यो बाइकको माग पनि धेरै छ ।

यी ६ वटै माडेलहरुको मूल्य चाहिँ कस्तो छ ?

अहिले टेक्कन बाइकमा धेरे अपग्रेड गरेर ल्याएका छौं । पहिले ३ लाख ५० हजार रुपैयाँ थियो । अहिले त्यसको मूल्य ३ लाख ९२ हजार रुपैयाँ मात्र छ । यस्तै, स्क्राम्बलर २५० को ४ लाख ५० हजार, स्पोर्टस् २५० को ३ लाख ६५ हजार, एक्स–ट्रक २५० को ३ लाख ८० हजार, एमएच २०० एक्स को ३ लाख ७२ हजार र एमएच १५० आरको २ लाख ८८ हजार रुपैयाँ मूल्य रहेको छ । यो ३ वर्षको अवधिमा १३ वटा डिलर स्थापना गरिसकेका छौं । अहिले ती १३ वटै डिलरहरुमा सर्भिस सेन्टर विस्तार भइसकेका छन् ।

मोटरहेड कम्पनीको आगामी योजना के छ ?

मोटरहेड कम्पनीले बितेको समय र वर्तमान समयलाई मध्य नजर गरेर कम्पनीले काठमाण्डौंमा सहज र उचित वातावरणमा आफ्ना ग्राहकहरुलाई बिक्रिपछिको सेवा दिनको निम्ति विभिन्न ठाउँहरुमा सर्भिस सेन्टर सँगै पार्टस् उपलब्ध गराउने र ग्राहक सन्तुष्टि वरकरार राख्न दलजन शक्ति परिचालन गर्ने लक्ष लिएको छ । यसका साथै मोटरहेड संगको हरेक यात्राहरुलाई सुरक्षित र सहज बनाउन कम्पनीले राजमार्गका विभिन्न स्थानहरुमा आधिकारिक सर्भिस तथा पार्ट्सको सेवा उपलब्ध गराउन आवश्यक प्रक्रिया पनि सुरु गरिसकेको छौं ।

यस्तै, हामीले रोड साइड एसिस्ट्यान्स सेवा पनि कम्पनी लागिरहेको छ । कुनै पनि ठाउँमा कुनै पनि बेला असहज स्थिति आउन नदिन कम्पनीले आफ्ना दक्ष प्रविधिका चेलीलाई तयार राखि ग्राहकको अनुरोध अनुरुप सेवा प्रदान गर्ने व्यवस्थामा पनि कम्पनी लागि परेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.