सेयर धितो राखेर कर्जा लिने हो ? यी बैंकले ल्याए आकर्षक स्कीम

  २०७७ साउन १५ गते १०:४८     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले सेयर धितो कर्जामा मूल्यको ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था गरेको छ । र, सेयर मूल्यांकनको लागि १२० दिनको औसत मूल्य गणना गर्ने पनि भनेको छ ।

यसअघि १८० दिनको औसत मूल्य गणना गरी सेयर मूल्यको ६५ प्रतिशतसम्म मात्रै कर्जा दिन पाइने व्यवस्था थियो । मौद्रिक नीतिले सेयरधितो कर्जामा सुविधा थपेपछि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम आकर्षक स्कीम ल्याउन थालेका छन् ।

हालसम्म नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले सेयर धिताे कर्जा याेजना सार्वजनिक गरिसकेका छन् । जसमध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्ताे व्याजदरमा कर्जा दिने भएकाे छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले सेयर मौद्रिक नीतिले सेयरधितो कर्जामा सुविधा थपेकै दिन आकर्षक स्कीम ल्याएको हो । इन्भेष्टमेन्ट बैंकले एक वर्षसम्म व्याजदर परिवर्तन नहुने गरी ९.९९ प्रतिशत व्याजदरमा सेयर धितो कर्जा दिने स्कीम ल्याएको हो ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले ९.३२ प्रतिशत ब्याजदरमा सेयर धितोमा ऋण दिने भएको छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले ९.४९ प्रतिशत व्याजदरमा सेयरको धितो कर्जा दिने भएको छ । कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र कर्जा पाउन सक्ने बैंकले जनाएको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले ९.८९ प्रतिशत व्याजदरमा सेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा दिने भएको छ ।

यी कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने बैंकले जनाएको छ । साथै, यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउनेछन् ।

सनराइज बैंक
सनराइज बैंकले ९.९५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा (लोन एगेनिष्ट सेयर) दिने भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला सेयर कर्जा योजना ल्याएकाे छ । यस योजना अन्तर्गत सेयर खरीद अगाडिनै कर्जा सिमा प्रदान गरिने तथा आफुसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ ।

यस सेयर कर्जा योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार कर्जा सीमा थपघट गर्न सक्नेछन् । बैंकले दुई दिनमै उक्त ऋण स्वीकृति गर्ने छ ।

नेपाल एसबिआई बैंक

एसबिआई बैंकले १४.२५ प्रतिशत व्याजदरमा सेयर धितो कर्जा दिने भएको छ । साउन १ गतेबाट लागू हुने गरी उक्त सुविधा दिन थालेको हो ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले १४.२१ प्रतिशत व्याजदरमा सेयर धितो कर्जा दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.