राष्ट्र बैंकले निक्षेपकर्ताको हित हेर्दा सेयरधनीलाई झट्का, यो वर्ष ६ प्रतिशतभन्दा बढी नगद लाभांश नपाइने

  २०७७ साउन १४ गते १७:३३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुका सेयरधनीले औसतमा ६ प्रतिशतभन्दा बढी नगद लाभांश नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थि वर्षको मौद्रिक नीतिमार्फत नगद लाभांशमा कडाइ गरेका कारण सोभन्दा बढी पाइने अवस्था नरहेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले दिने नगद लाभांशमा सीमा तोकिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण अर्थतन्त्रमा गम्भीर असर परेकोले बैंक वित्तीय संस्था समस्या नआओस भनेर राष्ट्र बैंकले नगद लाभांशमा सीमा तोकेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतभन्दा बढी लाभांश बाड्न नपाइने व्यवस्था गरेको छ । तर, नगद लाभांशमा लगाइएको सीमाका कारण चालु आर्थिक वर्षमा सेयरधनीले ५ देखि ६ प्रतिशतसम्म मात्रै नगद लाभांश पाउने अवस्था छ ।

‘नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म (उक्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत व्याजदर भन्दा बढी नहुनेगरी) मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरिनेछ । तर कुल चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम खुद वितरणयोग्य मुनाफा भएका इजाजतपत्र प्राप्त संस्थाको नगद लाभांस वितरणमा रोक लगाइने छ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिको बुदा नम्बर १२२ मा उल्लेख छ ।

सो बुँदामा भएको कोष्ट (ब्राकेट) भित्रको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने नगद लाभांशमा कडाइ गरिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गत आर्थिक वर्षको निक्षेप व्याजको भारित औसतभन्दा बढी नहुने गरी नगद लाभांश दिन भनेको छ ।

राष्ट्र बैंकले नै प्रकाशित गरेको गत आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) सम्मको देशको देशको आर्थिक अवस्था अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेपको भारित औसत व्याजदर ६.१७ प्रतिशत छ । यस्तै, मौद्रिक नीतिले ५ प्रतिशतभन्दा कम वितरणयोग्य नाफा भएका बैंक वित्तीय संस्थाहरुलाई नगद लाभांश दिन रोक लगाएको छ । त्यसैकारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने सेयरधनीले चालु आर्थिक वर्षमा ५ देखि ६ प्रतिशतसम्म मात्रै नगद लाभांश पाउने देखिएको हो ।

बैंक तथा वित्तीय संस्था निक्षेपकर्तालाई व्याज कम दिन थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । निक्षेपको व्याज कम हुने वित्तिकै बैंकका सेयरधनीले कम नगद लाभांश पाउने अवस्था रहन्छ । संस्थापक सेयरधनीले नगद लाभांशमा जोड दिने भएकोले राष्ट्र बैंकले निक्षेपकर्ताको हित संरक्षण गर्न निक्षेपको व्याज र नगद लाभांशलाई परिपुरकको रुपमा व्यवहार गर्न लागेको हो ।

One comment on "राष्ट्र बैंकले निक्षेपकर्ताको हित हेर्दा सेयरधनीलाई झट्का, यो वर्ष ६ प्रतिशतभन्दा बढी नगद लाभांश नपाइने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.