एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

  २०७७ साउन १२ गते १५:२५     अशोक घिमिरे

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५०० ले वृद्धि भएको छ ।

गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको मूल्य प्रतितोला रु ७७५ कायम भएको थियो ।

यस्तै, एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला ४३५ वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ । महासङ्घका अनुसार आज पनि सुनको मूल्य प्रतितोला एक हजार २०० ले बढेको छ ।

महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला र ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६० निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ८६० तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । मनि मेटल एक्सचेन्जका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२.२० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउँछन् । सुन प्रतितोला झण्डै एक लाख पुग्नै लागे पनि यसको कारोवार भने ठप्प रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.