सहरी विकासका कम्प्युटर अपरेटरले गरे नेपाल टेलिकमको सर्भर ह्याक

  २०७७ साउन १ गते १४:३०     विकासन्युज

काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटरले नेपाल टेलिकमको सर्भर ह्याक गरेका छन् । कम्प्युटर अपरेटर दिवाकर देउजाले टेलिकमको सर्भर सिस्टममा प्रवेश गरी टेलिकमका प्याकेज प्रयोग तथा विक्री समेत गरेर आर्थिक लाभ लिएका छन् ।

आफ्नो सर्भर ह्याक भएको नेपाल टेलिकमले गत असार दोस्रो साता थाहा पाएको थियो । सर्भरमा अनधिकृत प्रवेश गरी कम्पनीलाई हानी नोक्सानी पुर्याएको भन्दै टेलिकमले गत असार १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा अनुसन्धानको लागि पत्राचार गरेको थियो ।

टेलिकमको यस्तो पत्र प्राप्त भएपछि सीआईबीले अनुसन्धान गर्दा धनकुटा जिल्ला पाख्रिबास नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भइ हाल धनकुटा नगरपालिका वडा नम्बर ४ बस्ने सहरी विकास तथा भवन कार्यालय धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा भएको पाइएको सीआईबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

‘टेलिकमको पत्र प्राप्त भएपछि अनुसन्धान गर्दा सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत दिवाकर देउजाले ह्याक गरेको पत्ता लाग्यो, उनलाई सीआईबीले पक्राउ गरी नेपाल प्रहरीको साइबर व्यूरो पठाएको छ, थप अनुसन्धान भइरहेको छ,’ सीआईबीका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक पाण्डेले भने ।

देउजाले नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरी आफूले आर्थिक लाभ समेत लिई नेपाल टेलिकमलाई हानिनोक्सानी पुर्याकई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्याएको हुँदा कारबाही गरी पाउँ भनि नेपाल टेलिकमको २०७७ असार १२ गते सीआईबीमा पत्र पठाएकाे थियाे ।

पत्र प्राप्त भएपछि अनुसन्धानको सिलसिलामा ह्याकरले अनट्रयाकेबल इन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक/पटक पहुँच बनाएको पाइएकाे सीअइबीकाे भनाइ छ ।

देउजामाथि विद्युतीय कारोबार ऐन अनुसार कारबाही चलाउने प्रहरीले जानकारी दिएको छ । ह्याकरले टेलिकमको सिस्टमभित्र प्रवेश गरी के कति आर्थिक लाभ वा टेलिकमलाई कति हानी नोक्सानी पुर्याए भन्ने बारेमा थप अनुसन्धानबाट खुल्ने सीआईबीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.