कनेक्ट आइपिएसमा एकैदिन सवा खर्ब रूपैयाँ कारोबार, गत वर्षकाे काराेबार ९७ खर्ब

  २०७७ साउन १ गते १३:३५     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारलाई प्राेत्साहन गरेसँगै कनेक्ट आइपिएस मार्फत हुने कारोबारमा पनि वृद्धि हुँदै गएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपिएस प्रणालीमा गत वर्षभन्दा २२.२ प्रतिशतले कारोबार संख्या वृद्धि भएको छ ।

एनसीएचएले कनेक्ट आइपीएस, आइपीएस र चेक क्लियरिङ गरी आर्थिक वर्ष २०७६/०७७ मा २ करोड ६ लाख २४ हजार वटा कारोबार गरेको छ । त्यसमा  ९.७ ट्रीलियन अर्थात ९७ खर्ब रूपैयाँ काराेबार भएकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बताए ।

‘आर्थिक वर्ष २०७६/०७७ मा आर्थिक वर्ष २०७५/७६ भन्दा २२.२ प्रतिशतले कारोबार संख्या बढेको छ, त्यसमा कारोबार मूल्य भने ५.५ प्रतिशतले वृद्धि भएको छ,’ उनले भने । २०७५ बैशाखबाट सञ्चालनमा आएको कनेक्ट आइपिएसको कारोबार नियमित रूपमा बढ्दै गएको उनले बताए ।

गत आर्थिक वर्ष २०७५/७६ मा कुल कारोबार संख्या १ करोड ६८ लाख कारोबार भएको थियो भने ९.२ ट्रिलियन अर्थात ९२ खर्ब २० अर्ब रूपैयाँ कारोबार  भएको उनको भनाई छ । आर्थिक वर्ष २०७६/७७ को अन्तिम दिन अर्थात हिजो मात्रै कनेक्ट आइपिएस मार्फत १ लाख ७७ हजार संख्या कारोबार भएको उनले बताए । त्यसमा कारोबार मूल्य भने १ खर्ब १७ अर्बको रहेको उनको भनाई छ ।

प्रधानका अनुसार मासिक रुपमा कनेक्ट आएपिएसको कारोबार बढ्दै गएको छ । लकडाउनको समयमा बैंकका ग्राहकले घरैबाट कारोबार गर्ने भएकोले कारोबार बढेको उनको भनाई छ । ‘पहिले कनेक्ट आइपिएसमा दैनिक एक अर्ब कारोबार हुन्थ्यो, अहिले पछिल्लो समयमा असारको मध्यतिर सवा दुई अर्बदेखि साढे दुई अर्ब जति कारोबार भइरहेको छ’ उनले भने ।

कनेक्ट आइपिएस प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गतेदेखि दैनिक २ अर्ब नाघेको छ । विगत तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आइपिएसको मासिक कारोबारमा संख्या र मूल्यको आधारमा क्रमशः वृद्धि हुँदै गएको उनले बताए ।

उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरूको कुल मासिक कारोबार क्रमश १३.८ अर्ब रुपैयाँ, २४ अर्ब रुपैयाँ र ३९.५ अर्ब रुपैयाँ रहेको सिंहले बताए । कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीको मोबाइल एप, वेब र बैंक शाखाजस्ता वैकल्पिक च्यानलहरू बाहेक एनपिआइले पनि कनेक्ट आइपिएसको कारोबार बढाउन निकै महत्वपूर्ण भूमिका उनको भनाई छ ।

कम्पनीमा हालसम्म चेकमा ७० वटा बैंक तथा वित्तीय संस्था, आइपीएसमा ६५ र कनेक्ट आइपीएसमा ५७ वटा बैंक तथा वित्तीय संस्थाहरु आवद्ध छन् । यसमा अन्य वालेट कम्पनीहरु पनि आवद्ध भइहरेको उनले बताए ।

एनपिआइले बैंक तथा वित्तीय संस्थाहरूको मोबाइल, इन्टरनेट, कर्पोरेट बैंकिङजस्ता वैकल्पिक च्यानलहरू, पिएसपिएसरपिओएस, सरकारी निकायहरू र अन्य ठूला संस्थाहरूबीच इन्ट्रिगेसन र इन्ट्रोपेरियाविलिटीका लागि स्थानीय भुक्तानी च्यानलको रुपमा काम गर्दछ ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित यस एनसीएचएलले एनसिएचएल इसिसी, एनसिएचएल आइपिएस, कनेक्ट आइपिएस ई(पेमेन्ट, कनेक्ट आरटिजिएस र एनपिआइ प्रणालीहरू सञ्चालन गर्दै आएको छ। हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्रायः सबै बीमा कम्पनी, रेमिट्यान्स कम्पनी, नेप्से, सेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरूमा जोडी प्रयोगमा आइसकेको छ ।

मोबाइल, वेब, गेटवे र एपिआईजस्ता मल्टिपल च्यानलहरू मार्फत सदस्य बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवाप्रदायक, भुक्तानी प्रणाली संचालक तथा अन्य संस्थाहरूले उक्त प्रणालीमा भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ । यस प्रणालीमा सम्पूर्ण कारोबारहरू सिधै बैंक खाताबाट हुने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.