टेलिकमकाे अफरः १० रूपैयाँमै डे प्याक, भ्वाइस प्याककाे समय बढ्याे, अन्य के के ?

  २०७७ असार ३१ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी कम्पनीले समर अफर उपलब्ध गराएको हो ।

समर अफर अन्तर्गतको सेवा मिति २०७७ साउन १ गते देखि ९० दिनसम्म उपलब्ध हुनेछ । पहिले देखि नै उपलब्ध केही प्याक यथावत राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप ग्राहकमैत्री बनाइएको छ ।

यस्ता छन् अफरहरुः

कम्पनीले युट्युब स्ट्रिमिङ डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराएको छ । सोसल मिडिया प्याक अन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि २०० एमबी डाटा उपलब्ध हुनेछ । सोसल मिडिया प्याकमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ ।

रातिको समयमा प्रदान गरिएको भ्वाइस प्याक यसअघि राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकोमा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म उपलब्ध गराइने छ । नाइट टाइम भ्वाइस प्याक अन्तर्गत रु. १० मा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध छ भने रु. १५ मा ३ रातका लागि २०० मिनेट र रु. ३० मा ७ रातका लागि ३५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । यी प्याक राती १० बजे देखि बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने छ ।

अल टाइम डाटा प्याक अन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याकमा केही परिमार्जन गरिएको छ । यसमा रु. ६० मा ३ दिनका लागि ४०० एमबी, रु. १०० मा ७ दिनका लागि ८०० एमबी, रु. २८० मा २८ दिनका लागि २.५ जीबी, रु. ५०० मा २८ दिनका लागि ७ जीबी र रु ८०० मा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ ।

डे डाटा प्याक अन्तर्गत अब रु. १० मा ८० एमबी र रु. १८ मा २५० एमबी डाटा प्याक प्राप्त गर्न सकिने छ । विहान ६ देखि साँझ ६ बजे सम्म प्रयोग गर्न सकिने सो प्याकको समयावधि २४ घण्टा हुनेछ । वान नाइट अनलिमिटेड डाटा अन्तर्गत राती ११ देखि विहान ६ बजे सम्म चलाउन सकिने प्याकेज रु. २० मा उपलब्ध हुनेछ ।

डे भ्वाइस प्याक अन्तर्गत रु. १२ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२० मिनेट कल गर्न सकिने अर्को प्याक पनि उपलब्ध हुनेछ । यो अफरमा प्रदान गरिएको १२० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने छ ।

रु. १५ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने अनलिमिटेड कल अफरलाई निरन्तरता दिइएको छ । लार्ज डाटा प्याक अन्तर्गत अब रु. १,६०० मा ६० दिनका लागि ३० जीबी प्याक र रु. ३००० मा १२० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुनेछ ।

फोरजी/एलटीई अफर अन्तर्गत रु. १५ मा १ दिनका लागि जम्मा १०० एमबी डाटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुनेछ ।

साथै पहिले देखि नै स्प्रिङ अफरका रुपमा उपलब्ध अन्य प्याकहरु यथावत रहेका छन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डाटा फ्रि उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.