विद्यालय निरीक्षकसँग ४ कराेड ५४ लाखकाे अकूत सम्पत्ति, विशेष अदालतमा मुद्दा दायर

  २०७७ असार ३० गते २२:२५     विकासन्युज

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०५३ कात्तिक २२ गतेदेखि जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका रेग्मी २०७१ मङ्सिरमा उपसचिवमा बढुवा भएका थिए । रेग्मीले अकूत सम्पत्ति कमाएको भनी परेको उजुरीमाथि छानबिन गर्दा रु चार करोड ५४ लाख ३३ हजार ६९८ बराबरको सम्पत्ति गैरकानूनी देखिएको छ ।

आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै स्रोत नखुलेको र श्रीमती फम्फादेवी पाण्डे र छोरी सन्ध्या रेग्मीको नाममा रहेको सम्पत्तिसमेत जफतको माग गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले भूमिसुधार कार्यालय राजविराज सप्तरीमा कार्यरत नायब सुब्बा कृष्णबल्लभ ठाकुरले रु १३ हजार बराबरको घुस लिएको अभियोगमा मंगलबार पक्राउ गरेको छ । जग्गा स्रेस्ता कायम गरिदिने बहानामा उनले घुस माग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार काठमाडौँका मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बाहरु उद्धव सापकोटा, नारायणप्रसाद पोखरेले, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । उनीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई सेवाग्राहीसँग रु आठ लाख ५० हजार बराबरको घुस लिएको अभियोग लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.