जोरपाटी–सुन्दरीजल सडक मङ्सिरसम्ममा बन्ने

  २०७७ असार ३० गते १५:१८     विकासन्युज

काठमाडौं । जोरपाटी–सुन्दरीजल सडक आगामी मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विस्तारको क्रममा रहेको सडक उपलब्ध चौडाइमै कालोपत्र गर्न लागिएको हो । लामो समयदेखि तोकिएको मापदण्ड २२ मिटर कायम गर्नका लागि प्रयास भए पनि नसकिएपछि अहिलेकै अवस्थामा कालोपत्र गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सो सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्दा कतै १२ मिटर त कतै २० मिटरसम्म कायम हुने आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । सरकारले केही समय पहिले मात्रै काठमाडौँ उपत्यका विस्तारका क्रममा रहेका सडक उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । उनले भने, “सोही निर्णयका आधारमा कालोपत्र गर्न लागिएको हो ।”

सडक विस्तारकै लागि आयोजनाले बन्दाबन्दी समयमा समेत आवश्यक तयारीको काम गरिरहेको थियो । यहाँ रहेका ६७ रुख हटाइएको आयोजनाले जनाएको छ । अत्तरखेलमा रहेका झण्डै १५० घर हटाउन नसकिने हुनाले त्यस क्षेत्रमा सडकको चौडाइ कम हुने आयोजना प्रमुख अधिकारीले बताए । उनले भने, “जुन ठाउँमा जति उपलब्ध छ त्यति गर्दा कतै बढी र कतै कम हुने देखिन्छ ।” विस्तारका क्रममा रहेको सडकमा मर्मतसमेत नहुँदा स्थानीयवासी हैरानी भोग्दै आएका थिए । सडकमा खाल्डोका कारण वर्षाको समयमा आवतजावतमा कठिनाइ भएको स्थानीयवासी बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.