नेपालमा कोरोना संक्रमितको संख्या किन कम देखिन थाल्यो ? अब संक्रमण बढ्ने जोखिम छ कि छैन ?

  २०७७ असार ३० गते १३:१०     डाेमी शेर्पा

काठमाडौं । नेपालमा आइतबार मात्र ८२ जना नयाँ संक्रमित थपिए । कुल ३ हजार ९ सय १६ जनाको रियल टाईम पिसिआर मार्फत परीक्षण हुँदा मात्र ८२ जना अर्थात २ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको हो ।

पछिल्लो १० दिन अर्थात असार १९ गतेदेखि असार २८ गतेसम्मको नेपालमा संक्रमितको डाटा हेर्ने हो भने संक्रमितको संख्या झण्डै १० प्रतिशतले घटेको छ ।

१० दिन पहिले असार १९ गते एकैदिन ७ सय ७४ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त दिन ४ हजार ४ सय ८३ जनाको रियल टाईम पिसिआरबाट परीक्षण भएको थियो । अर्थात परीक्षण गरिएको करिब १७ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो ।

पछिल्लो १० दिनको पिसिआर परिक्षण र संक्रमितको संख्या यस्तो छ

परीक्षण कति घट्यो ?

पछिल्लो १० दिनको पिसिआर परीक्षणको संख्या हेर्दा सबैभन्दा बढि असार २३ गते र सबैभन्दा कम असार २७ गते भएको छ । असार २७ गते ५ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ जसमा २ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै असार २७ गते ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ जसमा ७० जनामा मात्र कोरोना पुष्टि भएको छ ।

यसरी सबैभन्दा बढि र कम परीक्षणबीच २ हजार ४ सय ८५ को भिन्नता देखिन्छ । तर यस माथि दिइएको चार्ट हेर्दा परीक्षण धेरै संख्यामा हुँदा धेरैमा संक्रमण पुष्टि हुन्छ भन्ने देखिँदैन । किनभने सबैभन्दा बढी संक्रमित देखिएको असार १९ गते ४ हजार ४ सय ८३ जनाको परीक्षण भएको थियो ।

दक्षिण एसियामा हेर्ने हो भने माल्दिभ्स र भुटानपछि नेपालकै पिसीआर परीक्षण संख्या राम्रो रहेको छ ।

संक्रमितको संख्या घट्नुको कारण 

नेपालमा संक्रमितको संख्या घट्नुको कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका पनि एक हो । मन्त्रालयले कुनै पनि प्रकारको लक्ष्ण नदेखाएको व्यक्तिहरुको परीक्षण नगर्ने निर्देशिका नै जारी गरेको छ । तर स्वास्थ्य विज्ञहरुको अनुसार नेपालमा कोरोना भएको अधिकांश व्यक्तिहरुमा कुनै पनि प्रकारको लक्षण देखिएको छैन । संक्रमितहरुको संख्या घट्नुको यो एउटा मुख्य कारण भएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालय– अझै त्रासमै छौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमतिको संख्या घट्दै गए तापनि नेपाल अझै त्रासमा रहिरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले देखिएको संख्याले निष्र्कष निकाल्न नसकिने बताए ।

‘अहिले पोजेटिभ देखिने संख्या कम हुँदै गरेको देखिन्छ तर यसको निष्कर्ष हामीले अहिले नै दिन सक्दैनौं । हामी अहिले बढिरहेको आवतजावत र मानिसहरुले सामान्य सुरक्षाको विधिहरु पालना नगर्दा संक्रमण फेरि बढ्दैन भनेर हामी भन्न सक्दैनौं,’ डा. अधिकारीले भने ।

नेपाल भारत खुल्ला सिमाको कारण पनि नेपालमा कोरोना संक्रमण जोखिम कम भएको छैन । भारतमा कोरोना संक्रमण विस्तार भइरहेकोले नेपालमा जोखिम उच्च देखिएको हो । भारतमा अहिले संक्रमण बढेर विश्व कै सबैभन्दा बढि संक्रमित भएको तेस्रो राष्ट्र बनेको छ ।

संक्रमितको संख्या लुकाउनु भएको हो त भन्ने प्रश्नमा अधिकारीले संक्रमितको संख्या लकाउनु पर्ने कनै कारण नभएको बताए ।

बाहिर घट्दै उपत्यकामा बढ्दै

ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जिल्ला बाहिर संक्रमण घटिरहँदा उपत्यकामा भने बढिरहेको बताए ।

पाण्डेले उपत्यकामा अहिलेसम्म ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उपत्यकामा देखिएको अधिकांश संक्रमितहरु विदेशबाट आएकाहरु रहेको र कोही कोही भने कुनैपनि ट्राभल हिस्ट्री नभएको व्यक्तिहरु भएको उनी बताउँछन् ।

कुनैपनि ट्राभल हिस्ट्री नभएको व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ पनि सुरु गरिसकेको उनले बताए । यस्तै काठमाडौँ उपत्यकाका ५ हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.