एमसीसी ठिक छ, सम्झौता कार्यान्वयन हुनुपर्छ

  २०७७ असार ३० गते १२:१४     रमेश घिमिरे

मेरिकी सरकारको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बाट नेपालले ५० करोड डलर अनुदान प्राप्त गर्न भएको द्विपक्षीय सम्झौता घुमिफिरी रुम्जाटार भइरहेको छ । केही महिनादेखि विज्ञ, जानकार र राजनीतिकर्मीबीच यसको अध्ययन विश्लेषण गर्ने तर पुरानै निष्कर्षमा पुग्ने अवस्था देखिइरहेको छ । शब्द र वाक्यको अंश अंशमा नेपाली परिवेशअनुसार अर्थ लगाउँदा अनेक आशंका देखिन्छन् । तर अमेरिकी परिवेशबाट सारमा अर्थ खोज्दा सम्झौता स्वाभाविक र सामान्य देखिन्छ ।

अहिले सम्झौता नपढी र बुझ्ने प्रयास नै नगरी विरोध गर्नेको संख्या ठूलो छ । सुरुमा नेकपा वरिष्ठ नेता भीम रावल सम्झौताको अध्ययन गरेर खरो विरोधमा उत्रिए । उनले ओली सरकारमा वरिष्ठ पद नपाएको आक्रोश स्वरुप सरकारका सबै कामको विरोध गर्दै आएकाे रूपमा अर्थ्याउनेहरू पनि छन् । त्यसैले उनले विरोध गरेकै आधारमा सम्झौता खराब हो कि भनेर आशंका गर्न मिलेन । जबकि एमसीसीसँगको सम्झौता रावल नै उपप्रधान तथा रक्षा मन्त्री हुँदा मन्त्रिपरिषदले पारित गरेको थियो । नेपाल र अमेरिका समान सार्वभौम मुलुक भए पनि सम्झौताले नेपाललाई तल पारेको भीम रावलको दाबी छ ।

अन्तर्राष्ट्रिय कानुनको अभ्यासकर्ता कै रुपमा रहेका पूर्व महान्याधिवक्ता डा. युवराज संग्रौलाले अंग्रेजी शब्दहरुको प्रयोगलाई लिएर विरोध जनाएका छन् । डा. संग्रौला नेकपा निकट कानुनव्यवसायी हुन् । उनको आसय यस्ता महत्वपूर्ण सम्झौता गर्दा सरकारले उनलाई संलग्न गराउनु पर्दथ्यो भन्ने रहेको बुझिन्छ । नेपालको तर्फबाट कमजोर वकिल परेका कारण सम्झौतामा सही शब्द प्रयोग हुन नसकेको उनको आसय छ ।

अमेरिकाको हिन्द प्रशान्त रणनीति (आइपीएस) सम्बन्धी प्रगति प्रतिवेदनहरुमा नेपालमा एमसीसीले गर्न लागेको सहयोगको सम्बन्धमा समेत उल्लेख गरिएका छन् । त्यस्तै, अमेरिकी अधिकारीहरुले बेला प्रसंगमा एमसीसीमार्फत हिन्द प्रशान्त क्षेत्रका गरिब मुलुकहरुलाई अनुदान दिएकाले आइपीएस प्रभावकारी बनाउन अझ सहज हुने धारणा राख्छन् । यसका आधारमा एमसीसी आइपीएसको अंग हो, आइपीएस अमेरिकाको रक्षा मन्त्रालयअन्तर्गतको कार्यक्रम हो, त्यसैले एमसीसी पनि अमेरिकी सैन्य अभ्यासकै हिस्सा हो भन्ने अर्थ लगाएर विरोध गरिएको छ ।

लेखक

पहिलो त आइपीएस आफैंमा नेटो जस्तो सैन्य गठबन्धन होइन । एमसीसी ऐन अमेरिकाले सन् २००३ मा पारित गरेको हो भने आइपीएस सन् २०१७ मा सुरु भएको अवधारणा हो । आइपीएस कुनै औपचारिक कानुन, संगठन वा गठबन्धन होइन । हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी मित्र मुलुकहरुको साझा प्रयासबाट आर्थिक विकास र सुशासनबाट स्थायित्व कायम गर्ने हो, जसबाट अन्तर्राष्ट्रिय शान्तिको प्रवद्र्धन हुन्छ भन्ने मान्यता हो । एमसीसीसँगको सम्झौता पारित गरेर नेपाल आइपीएसमा सहभागी मुलुकमा गणना हुँदैन ।

आइपीएस प्रत्यक्ष रुपमा कुनै सैन्य र राजनीतिक प्रकृतिको संगठन होइन । त्यसैले त्यसमा सहभागी हुनु समेत हाम्रो परराष्ट्र नीति विपरीत हुन्छ भन्न सकिंदैन । अझ एमसीसीमै सहभागी भएर असंलग्न परराष्ट्र नीतिको उल्लंघन भयो भन्नु कति औचित्यपूर्ण होला ? अमेरिकी परराष्ट्र नीति जुनसुकै एजेन्सीका कार्यक्रममा पनि लागू हुन्छ । त्यसैले रक्षा मन्त्रालय र स्वायत्त अन्तर्राष्ट्रिय सहयोग संस्थाको रुपमा स्थापित एमसीसी दुवैको साझा उदेश्य अमेरिकाको राष्ट्रिय हित प्रवद्र्धन गर्नु त हुन्छ नै । कुनै पनि देशले अरुलाई सहयोग गरेर आफ्नो अहित होस् भन्ने उदेश्य राख्छ र ?

सम्झौता कार्यान्वयनका क्रममा नेपाल कानुन बाझिएमा सम्झौताका शर्त लागू हुने व्यवस्था छ । यसलाई संविधानभन्दा सम्झौता माथि रहेको भन्ने अर्थ लगाएर विरोध गरिएको छ । दुई देशबीच भएका कुनै पनि सन्धि सम्झौतामा देशीय कानुनभन्दा सन्धि सम्झौताका प्रावधान माथि हुन्छन् । यो कुनै नयाँ प्रावधान होइन । नेपाल सन्धि ऐन र भियना अभिसन्धिले व्यवस्था गरिसकेको र लागू भइरहेको सामान्य कुरा हो ।

सम्झौता कार्यान्वयनका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) संस्था स्थापना गरिएको छ । यो नेपाल सरकारले विकास समिति ऐनबमोजिम गठन गरेको संस्था हो । यसमा विभिन्न मन्त्रालयका पदाधिकारी नै पदेन सदस्य रहन्छन् । सञ्चालक समितिमा एमसीसीका प्रतिनिधिलाई आमन्त्रित गर्न सकिने व्यवस्था छ, उनीहरुको मताधिकार हुँदैन ।

सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारले एमसीए नेपाललाई अबाञ्छित हस्तक्षेप गर्न नपाउने व्यवस्था छ । जसले संस्था जन्मायो, उसैले निर्देशन दिन र नियन्त्रण गर्न नमिल्ने संस्था हुन सक्दैन, यहाँ सरकारलाई अधिकार विहीन बनाइयो भन्ने तर्क गरिएको छ । वास्तवमा एमसीए नेपाल भनेको नेपाल सरकारकै अंग हो, अमेरिकाको त होइन । यहाँ सबै पदाधिकारी नेपालकै सरकारी पदाधिकारी छन् ।

कानुनी दृष्टिकोणबाट हेर्दा जसले संस्था सिर्जना गर्छ, उसको नियन्त्रण हुन्छ । प्रशासनिक दृष्टिकोणबाट हेर्दा त्यसमा केही मान्यता थप गर्नुपर्दछ । सिर्जना गरिएको संस्थालाई जे जति काम गर्न जिम्मेवारी दिइएको छ, त्यो काम स्वतन्त्रतापूर्वक गर्न दिनुपर्छ र बीचबीचमा हस्तक्षेप गर्नु हुँदैन । हस्तक्षेप गर्ने हो भने कार्य सम्पादनमा प्रभावकारिता आउँदैन । यो सार्वजनिक र निजी दुवै व्यवस्थापनमा लागू हुने सामान्य मान्यता हो ।

परियोजना स्थलबारे पनि विरोध गरिएका छन् । हेटौंडाबाट बुटवल जाने प्रशारण लाइन पहाडी रुटबाट लैजानुको कारण चीन विरोधी गतिविधिलाई सहयोग पुर्याउन हो भन्ने आशंका गरेर विरोध गरिएको छ । तराईमा एउटा उच्च प्रशारण लाइन विद्यमान छँदैछ । मध्य पहाडबाट अर्को उच्च प्रशारण लाइन लैजानु दीर्घकालीन दृष्टिकोणले सुझबुझपूर्ण सोच हो । अर्को कुरा तराईमा वस्ती र जंगलको कारण क्लियरेन्स लिन अति नै कठिन भएको कारण पहाडी रुट चयन गरेको नेपाल विद्युत प्राधिकरणले स्पष्ट पारिसकेको छ ।

एमसीसीको अनुदान नेपाल भित्राउन मिहेनत गरेका तत्कालीन अधिकारीहरुका अनुसार, प्रशारण लाइनमा एमसीसी आउन खोजेको थिएन । मुआब्जा र जंगल कटानको कारण प्रशारण लाइन निर्माणमा कठिनाइ हुँदै आएको छ । एमसीसीको परियोजना ५ वर्षमा सम्पन्न गर्नैपर्ने हुन्छ । त्यसैले अमेरिकी पक्षले इच्छा जाहेर गरेको थिएन । नेपाली अधिकारीले पहाडी रुटमा त्यस्तो समस्या नहुने र मुआब्जाको मुद्दा सहज पार्ने आश्वस्त पारेपछि मात्र अमेरिकी पक्ष सहमत भएको थियो ।

प्रशारण लाइन राष्ट्रिय सुरक्षामा समेत महत्वपूर्ण पूर्वाधार हो । त्यसैले यसमा विदेशी लगानी ल्याउनु हुँदैन भनेर पनि विरोध भइरहेको छ । चाउचाउ उद्योग, कपडा उद्योग, साना सडक, सिमेन्ट उद्योग जस्ता पर्याप्त विकल्प हुने परियोजनाबाहेक सबै ठूला परियोना राष्ट्रिय सुरक्षा संवेदनशील र रणनीतिक नै हुन्छन् । दुर्त राजमार्ग, रेलमार्ग, ठूला पावर हाउस, दूर सञ्चार कम्पनी आदि सबै संवेदनशील परियोजना हुन् । त्यसमा विदेशी लगानी नल्याउने हो भने हामी जस्तो पुँजी अपुग भएका मुलुकले कसरी विकास गर्न सक्छौं ?

एमसीएले कार्यान्वयन गर्ने परियोजनाको लागत महँगो भयो भनेर पनि विरोध भएको छ । गुणस्तरसँग तुलना गर्ने हो भने यो लागत महँगो देखिंदैन । नेपाल सरकारले परियोजना निर्माण गर्दा वास्तवमा लाग्नेभन्दा धेरै कमको लागत अनुमान तयार गरिन्छ किनकि बजेट धेरै ठाउँ छर्नुपर्ने हुन्छ । तर परियोजना भने तोकिएको समयभन्दा ४/५ गुणा बढी र लागत पनि त्यसैगरी बढी नै हुन्छ ।

सम्झौतामा परियोजनाबाट सिर्जना हुने बौद्धिक सम्पत्तिको अधिकार नेपाल सरकारले एमसीसीलाई हस्तान्तरण गर्ने उल्लेख छ । नेपालले भौतिक सम्पत्ति प्राप्त गर्ने हो तर त्यसबाट सिर्जना हुने बौद्धिक सम्पत्ति अमेरिकाकै हुन्छ । यो विरोध गर्नुपर्ने विषय हो र ? यो अमेरिकालगायत विकसित देशमा हुने दुई पक्षीय सम्झौताको सामान्य र सर्वसान्य शर्त हो ।

सम्झौतामा ५ वर्षपछि पनि एमसीसीका प्रतिनिधिले परियोजनाको अवलोकन निरीक्षण गर्न चाहेमा नेपाल सरकारले अनुमति दिनुपर्ने व्यवस्था छ । परियोजनाको सम्पत्ति अमेरिकाको हित विरुद्ध हुने गरी प्रयोग गर्न नपाइने व्यवस्था पनि सम्झौतामा छ । यसकै आधारमा निर्माण सम्पन्न भएपछि परियोजना अमेरिकी सरकारको स्वामित्वमा हुन्छ भन्ने अर्थ लगाइएको छ ।

कुनै पनि परियोजनाको लेखापरीक्षण र प्रभाव मूल्यांकन परियोजना सम्पन्न भएपछि नै हुने हो । त्यसैले ५ वर्षपछि एमसीसीका प्रतिनिधिले अनुगमन गर्न पाउनु कुनै अनौठो कुरा होइन । यो त गर्नैपर्ने काम हो । नेपालीले परियोजना निर्माण गरेपछि लथालिंग र बेवारिसे छोड्ने अभ्यास भोगेका छौं । हामीलाई अन्तिम समय नै नतोकी परियोजनाहरुको अनुगमन मूल्यांकन गर्ने अमेरिकी प्रावधान सुन्दा अचम्म लागेको मात्र हो ।

अमेरिकामा प्रयोग हुने शब्दावली र कानुनी वाक्य संरचना नेपालमा प्रचलितभन्दा फरक हुन्छन् । हाम्रो अभ्यास भारतबाट प्रभावित र भारतको बेलायतबाट प्रभावित छ । अन्य प्रजातान्त्रिक मुलुकभन्दा अमेरिकामा परियोजनाहरु सम्पन्न गर्ने अभ्यास केही विशिष्ट छन् । यस्ता विषयमा परिचित नभएको अवस्थामा अमेरिकाले गरेका सम्झौताका शब्द, वाक्य र प्रावधानहरु पढ्दा र अर्थ लगाउँदा अनौठो लाग्नु स्वाभाविक हो ।

(लेखक काठमाडौं महानगरपालिकाका योजना अधिकृत हुन्)
rameshghimire21@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.