बढ्दाे कोरोना संक्रमणले अवस्था झन् झन् खराब हुनसक्ने डब्ल्यूएचओको चेतावनी

  २०७७ असार ३० गते ८:१७     विकासन्युज

काठमाडौं । सरकारले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोना भाइरस महामारी ‘खराबमाथि खराब’ हुँदै जाने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले ‘थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको’ बताए । प्रमाणित उपायहरू नअपनाइएका वा नपछ्याइएका ठाउँमा सङ्क्रमितहरू बढिरहेको उनले बताए ।

गेहब्रेयससले के भने ?
सोमवार जिनिभामा बोल्दै डा गेहब्रेयससले ‘नेताहरूको मिश्रित सन्देशले’ उनीहरूले महामारीलाई नियन्त्रणमा ल्याउन सक्छन् भन्ने जनविश्वासलाई कमजोर पारेको बताए ।

‘यो भाइरस आम मानिसको एक नम्बरको शत्रु बनेको छ तर सरकार र मानिसहरूका गतिविधिले त्यस्तो देखाउँदैन,’ उनले भने । उनले सामाजिक दूरी, हात धुने, आवश्यक ठाउँमा मास्क लगाउनेजस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने बताए ।

‘निकट भविष्यमा पुरानो सामान्य अवस्था फर्कने देखिँदैन ।’ उनले चेतावनी दिँदै भने, ‘यदि आधारभूत कुरालाई पछ्याइएन भने यो महामारी जाने एउटै बाटो छ । त्यो भनेको खराब, खराब र खराब हुनु हो ।’

अमेरिकी देशहरूमा केन्द्रविन्दु
उत्तर र दक्षिण अमेरिकी देशहरू यतिखेर महामारीको केन्द्रविन्दु बनेका छन् ।

डब्ल्यूएचओको आपत्कालीन सेवा सम्बन्धी निर्देशक डा माइक रायनका अनुसार अमेरिकी देशहरूमा खुकुलो पारिएको लकडाउनका उपायले केही ठाउँमा ‘व्यापक सङ्क्रमण’ फैलाएको थियो ।

ल्याटिन अमेरिकामा अहिलेसम्म १ लाख ४५ हजारभन्दा बढी कोरोना भाइरससँग जोडिएका मृत्यु पुष्टि भएका छन् । आधाजसो ती मृत्यु ब्राजिलमा भएको छ जहाँ राष्ट्रपति जइर बोल्सोनारूले भाइरससँग जुझ्ने कडा उपायहरूको विरोध गरेका थिए । त्यहाँ जाँच नै कम भएकाले त्यस्तो सङ्ख्या अझै उच्च हुनसक्ने ठानिएको छ ।

अमेरिकामा उच्च प्रभाव
संयुक्त राज्य अमेरिकामा एकातर्फ सङ्क्रमितहरू बढिरहँदा अर्कोतर्फ राष्ट्रपति डोनल्ड ट्रम्प र स्वास्थ्य विज्ञहरूबीच तनाव देखिएको छ ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा अहिलेसम्म ३३ लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने १ लाख ३५ हजारभन्दा बढीको भाइरसका कारण मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण छ ।

सङ्क्रमितको सङ्ख्यामा ह्वात्तै वृद्धि देखिएपछि अमेरिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य क्यालिफोर्नियामा पुनस् कडा प्रतिबन्धका नियम लागु गरिएका छन् ।

गभर्नर ग्याभिन न्युसमले रेष्टुराँ, बार, मनोरञ्जन स्थल, चिडियाखाना र सङ्ग्रहालयजस्ता भवनपरिसरभित्रका गतिविधि तत्काल लागु हुनेगरी बन्द गर्न लगाएका छन् । महामारीबाट उच्च प्रभावित अमेरिकाका विभिन्न क्षेत्रमा गिर्जाघर, व्यायामशाला र शैलुनहरू समेत बन्द गरिनेछन् ।

पछिल्ला दुई सातामा क्यालिफोर्नियामा परीक्षण गरिएकामध्ये सङ्क्रमितको सङ्ख्या २० प्रतिशतले वृद्धि भएको छ । आइतवार फ्लोरिडामा एकैदिन १५ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएका थिए ।

इङ्ग्ल्याण्डमा मास्क अनिवार्य
ब्रिटेनको सरकारले आउँदो साताबाट इङ्गल्याण्डका पसल र सुपरमार्केटहरूमा मुख ढाक्नेगरी मास्क लगाउनैपर्ने नियम ल्याएको छ ।

प्रधानमन्त्रीको कार्यालयबाट जारी गरिएको विज्ञप्ति अनुसार भिडभाड हुने र घरभित्रका ठाउँमा मास्क लगाएर आफू र वरपरका मानिसहरूलाई सुरक्षित पार्न सकिन्छ भन्ने स्पष्ट प्रमाणहरू पाउन थालिएको बताइएको छ ।

सार्वजनिक सवारीमा मास्क लगाउने नियम भने जुन महिनादेखि नै लागु छ । तर त्यसबारे कुराहरू राम्रोसँग प्रस्ट नपारिएको भन्दै सरकारको आलोचना हुने गरेको छ ।

ब्रिटेन कोरोनाभाइरसको महामारीबाट बढ्ता प्रभावित हुनेमध्येको देशमा पर्छ । त्यहाँ अहिलेसम्म २ लाख ९१ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ४४ हजारभन्दा बढीले भाइरसका कारण ज्यान गुमाएका छन् ।  (बीबीसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.