राष्ट्रिय वाणिज्य बैंकले तीन कम्पनीलाई दियो एक करोडसम्मकाे अनुदान

  २०७७ असार २९ गते १७:२४     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गरे वापत विभिन्न कम्पनीलाई अनुदान रकम दिएको छ । बैंकले जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत तीन कम्पनीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

सो अन्तर्गत बैंकले अशोक स्टील इन्डस्ट्रिज प्रा.लि.लाई एक करोड रुपैयाँ, सीताराम गोकुल मिल्क्सलाई २० लाख एक हजार एक सय एकतीस रुपैयाँ र गोइन्का स्टील प्रा.लि. लाई पाँच लाख ६० हजार चार सय रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैंकले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक सोमबार एक समारोहका बिच हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरेका छन् । उनले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको आधार दर (६.०७ प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन पनि आव्हान गरेका छन् ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यान्वयनको लागि प्रोजेक्ट एक्स्क्यिुटिङ एजेन्सी (पीईए) को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी र केशवप्रसाल लम्साल, उपकार्यकरी अधिकृतहरु देबेन्द्ररमण खनाल, सरस्वती अधिकारी, देवेसप्रसाद लोहनी एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका प्रतिनीधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.