निक्षेपको ब्याज घटाएर सस्तो ब्याजदरमा कर्जा दिनुपर्ने व्यवसायीको धारणा, बैंकर भन्छन्: यो न्यायसंगत भएन

  २०७७ असार २८ गते १७:४६     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरुले कोरोना भाइसरका कारण उत्पन्न लकडाउनले व्यवासाय धरापमा परेको भन्दै सस्तो व्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने धारणा राखेका छन् । आइतबार काठमाडौमा आयोजित एक कार्यक्रममा उद्योगी व्यवसायीहरुल निक्षेपकर्ताले पाउने व्याज घटाएर ऋणीले पाउनु पर्ने कर्जाको व्याजदर सस्तो हुनु पर्ने धारणा राखेका हन् ।

नेपाल चेम्बर अफ कर्मसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बैंकहरुले निक्षेपकर्ताले जम्मा गरेको निक्षेपको व्याजदर घटाई उद्योग व्यवसायीले पाउनु पर्ने कर्जाको व्याजदर सस्तो बनाउनु पर्ने बताएका हुन् । उनले नेपाल राष्ट्र बैकले आगामी साउन पहिलो साता ल्याउने मौद्रिक नीतिले उद्योग व्यवासयमा परेको आर्थिक मन्दीलाई पुर्नरुत्थान गर्नको लागि नीतिगत व्यवस्था गरी विशेष भूमीका खेल्नुपर्ने बताएका छन् ।

‘व्यापार व्यवसाय उत्पादनमुखी र निर्यातमुखी गर्न मौद्रिक नीतिले भूमीका खेल्नुपछ, सरकारले बजेटमा उल्लेख गरेको पुर्नर्कजालाई कार्यान्वयन गर्न पनि राष्ट्र बैंकले बढी भूमीका खेल्नुपर्छ,’ उनले भने ।

राष्ट्र बैकले आगामी मौद्रिक नीतिमार्फत बैकहरुले प्रवाह गर्ने कर्जाको व्याजदर साढे ३ प्रतिशतसम्म झार्नु पर्ने उनको भनाई छ । सबैले अनुभुति गर्ने खालको मौद्रिक नीतिले आउनु पर्ने उनले बताए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि बैंकहरुले व्याजदर घटाउनु पर्ने धारणा राखेका छन् । उनले आफुहरुले विभिन्न बैकरहरुसंग छलफल गर्दा साढे ३ प्रतिशतसम्म व्याज घटाउन सकिने अवस्था रहेकोले राष्ट्र बैकमार्फत जारी हुने मौद्रिक नीतिले पनि कर्जाको व्याजदर घटाउनु पर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताएका छन् ।

‘यो नाफा आर्जन गर्ने वर्ष होइन, सबैले सरभाइव हुनुपर्छ, बैंकले पनि यो वर्ष कम्प्रोमाइज गर्नुपर्छ, बैकिङ चार्ज लिनु हँुदैन’ उनले भने ।
उनले आगामी मौद्रिक नीति मार्फत कर्जा रि–स्ट्रक्चरीङ, धितोमा थप २० प्रतिशत कर्जा दिनुपर्ने, व्याजदर घटाउनुपर्ने र पुनर्कजालाई कार्यान्वयन गर्न सहज बनाउनुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा नेपाल बैकर संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने निक्षेपमा व्याजदर धेरै घटाउन नहुने धारणा राखेका छन् । धेरै निक्षेपकर्ताको रोजिरोटी नै निक्षेपबाट आएको व्याज भएको हुनाले हालको भन्दापनि घटाउन उचित नहुने उनको भनाई छ ।

‘निक्षेपकर्ता लाई पनि न्याय गर्नुपर्छ, निक्षेपकर्तालाई निरुत्साहित गरेर कर्जामा मात्रै व्याज घटाउनु त्यति सान्दर्भिक हुँदैन तर सबैलाई सहज हुने खालको नीति मौद्रिक नीति मार्फत आउनु पर्छ,’ उनले भने ।

‘अहिले बैंकले मात्रै धेरै नाफा कामायो भन्ने गलत मनसायपनि धेरैमा छ, हामीपनि व्याजदर धेरै होस् भन्ने चाहदैनाँै, हामीले पहिले १५ प्रतिशतदेखि १२ प्रतिशतसम्म व्याजदर झार्न प्रयास गयौं, त्यो सफल भयो, अहिले १२ प्रतिशतबाट पनि एकल अंकमा ल्याइसकेका छौँ, अब त्यसबाट पनि कम गर्ने सम्भव छैन,’ उनले भने ।

अहिले बजारमा तरलता बढेको बताउँदै उनले राष्ट्र बैंकले पनि कोरोनाको कारण असर परेका क्षेत्रहरु निर्धारण गरेर प्याकेज ल्याउनुपर्ने बताए । राष्ट्र बैकले तरलतामा सहज र व्याजदरपनि थोरै कम हुने किसीमले मौद्रिक नीति ल्याउनुपर्ने उनको धारणा छ ।

राष्ट्र बैंकको जोड आर्थिक पुनरुत्थानका लागि हो: प्रवक्ता भट्ट

नेपाल राष्ट्र बैकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राष्ट्र बैकको जोड र प्रयास आर्थिक पुनरुत्थानको लागि भएको बताएका छन् ।

आगामी साउन पहिलो साता आउने मौद्रिक नीतिले कोरोना भाइसरले पारेको असरलाई न्यूनिकरण गर्न र हालका समस्याहरुको समाधानतर्फ मौद्रिक नीतिले जोड दिने बताएका हुन् ।

उनले मौद्रिक नीतिले प्रभावित क्षेत्रलाई निर्धारण, वित्तीय साधनको प्राथमिकिकरण, विद्युतिय कारोवारलाई प्रोत्साहन र संस्थागत सुशासनको नीतिलाई बलियो बनाउने ढंगले जोड दिने बताएका छन् ।

हाल खराब कर्जा पनि न्यून रहेको, मुद्रास्फिती पनि घट्दै गएको र आर्थिक साइकलका परिसुचकहरु पनि सकारात्मक रहेकोले कोरोनाले उत्पन्न समस्याहरु समाधान र आर्थिक पुनरुत्थानका लागि लामो समय कुर्न नपर्ने उनले धारणा राखेका छन् ।

2 comments on "निक्षेपको ब्याज घटाएर सस्तो ब्याजदरमा कर्जा दिनुपर्ने व्यवसायीको धारणा, बैंकर भन्छन्: यो न्यायसंगत भएन"

  • Laxman says:

    शेखर जी यो बर्ष तपाईं हरुले नि कम नाफा अथवा बिना नाफा काम गरे भो त । खाली बैंक लाई मात्र देख्नु भको छ ।

  • Arjun says:

    Yini haruko kura sunyo vane ta….nepal ko arthatantra sakhap huncha. Bank haru prati jan biswas ghatne kam nahos.Bank le profit kamaumai parchha tesko lagi.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.