मर्जर र एक्विजिनमा लाभांश कर छुटः राज्य हिस्स, बैंकका सेयरधनीले करोडौं कमाए

  २०७७ असार २८ गते १२:४७     शिव सत्याल

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएका बैंक वित्तीय संस्थाको संख्या घटाउनको लागि सरकारले ठूलो परिमाणको राजस्व गुमाउनु परेको छ । मर्जर तथा एक्विजिसनमा जाने बैंक वित्तीय संस्था तथा त्यसका सेयरधनीलाई सरकारले दिएको कर छुटसहितका सुविधाको कारण ठूलो परिमाणमा राजस्व गुमाउनु परेको हो ।

सरकारले बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएको कारण घटाउन भन्दै मर्जर र एक्वीजीसन कानुनी व्यवस्था गरेर मर्जर र अक्वायरमा जाने बैंक वित्तीय संस्थालाई २ वर्षसम्म डिभिडेन्ड कर नलाग्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाको कारण मर्जर र एक्विजिसनमा जाने बैंक वित्तीय संस्थाका सेयरधनीले लाभांश कर तिर्नु नपर्ने भएको हो ।

गाभ्ने/गाभिने कार्यलाई प्रोत्साहन गर्न आयकर ऐन, २०५८ मा आर्थिक अध्यादेश २०६७ मार्फत दफा ४७(क) थप गरी विभिन्न छुटहरु दिइएको थियो । यस अनुसार ‘गाभ्ने संस्थाले गाभिने संस्थाको कट्टी हुन नसकेको नोक्सानीलाई आगामी सात बर्षसम्म दामासाहीले कट्टा गर्न, गाभ्ने/गाभिने संस्थामा कार्यरत कर्मचारीहरुलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनका लागि गरिने थप एकमुष्ठ भुक्तानीमा लाग्ने करको दरमा पचास प्रतिशत छुट पाउने, गाभ्ने/गाभिने संस्थामा गाभ्नु/गाभिनु अघि कायम रहेका शेयरधनीहरुले गाभिएको दुई बर्षभित्र शेयर बिक्रीबाट आर्जन हुने लाभमा पूँजीगत लाभकर नलाग्ने, गाभ्ने/गाभिने संस्थाले गाभ्ने/गाभिने अघि कायम रहेका शेयरधनीहरुलाई वितरण गर्ने लाभांशमा दुई बर्षसम्म कर नलाग्ने व्यवस्थाहरु रहेको छ । यस्तो सुविधा उपभोग गर्नको लागि गाभ्नरगाभिन चाहने संस्थाले २०७५ असार मसान्तभित्र गाभिने आशयपत्र आन्तरिक राजश्व विभागमा पेश गर्नुपर्ने र २०७६ असार मसान्तभित्र गाभिने प्रक्रिया पूरा गर्नु पर्ने’ व्यवस्था आर्थिक ऐन, २०७३ मा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले नै लाइसेन्स दिएका बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर र एक्विजिसनलाई प्रोत्साहन गर्ने राज्यको नीतिका कारण यसरी कर गुमेको हो । बैंक वित्तीय संस्थाले प्रदान गरेको लाभांशमा कति रकम लाभांश कर गुम्यो भनेर हिसाव गर्न सकिए पनि मर्जर र एक्विजिसनमा जाने बैंक वित्तीय संस्थाका सेयरधनीले २ वर्षसम्म सेयर बिक्री गर्दा पुँजीगत लाभकर तिर्नु पर्ने अर्को व्यवस्थाको कारण राज्यले गुमाएको कर रकम हिसाव हुनै सकेको छैन ।

आयकर ऐनमा दिइएको सुविधा प्रयोग गरी केही बैंकहरुले भने प्रत्येक २/२ वर्षमा साना साना संस्था खोजेर मर्जरमा जाने वा अक्वायर गर्ने गरेको पनि पाइएको छ ।

सिभिल बैंकले २०७१ जेठमा एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्था एक्वायर गर्यो । आर्थिक वर्ष २०७१÷७२ मा सिभिल बैंकको चुत्ता पुँजी ३ अर्ब रुपैयाँको हाराहारीमा थियो भने उसले ७ प्रतिशत लाभांश दिएको थियो । अर्थात लाभांश वापत सो आर्थिक वर्षमा सिभिलले २१ करोड रुपैयाँ बाढ्यो ।

आर्थिक वर्ष २०७२/७२ मा सिभिलले ३ प्रतिशत लाभांश बाढ्यो । सो आर्थिक वर्षमा बैंकले सेयरधनीलाई ९ करोड रुपैयाँभन्दा बढी लाभांश दियो ।

आयकर ऐन २०५८ (संशोधनसहित) को व्यवस्था अनुसार सेयरधनीले लाभांश कर ५ प्रतिशत तिर्नुपर्छ । तर, मर्जर र अक्वायरमा गएका बैंक वित्तीय संस्थाले २ वर्षसम्म लाभांश कर तिर्नु नपर्ने व्यवस्था आर्थिक अध्यादेश २०६७ मार्फत गरियो । सो व्यवस्था कायम रहेको कारण आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ मा गरी १ करोड ५० लाख रुपैयाँभन्दा बढी लाभांश कर तिर्नु परेन ।

ग्लोबल आइएमई बैंकले २०६९ सालमा आइएमई फाइनान्स कम्पनी र ग्लोबल बैंक मर्ज भए । ग्लोबल बैंक र आइएमई फाइनान्स कम्पनीबीच मर्जरका कारण दुई आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकका सेयरधनीले लाभांश कर तिर्नु परेन । सोही कारण यो बैंकका सेयरधनीले पहिलो वर्ष ६ करोड ९० लाख र दोस्रो वर्ष ५ करोड ६० लाख रुपैयाँ लाभांश कर छुट पाए ।

एनआइसी बैंक र बैंक अफ एसियाबीच २०७० सालमा मर्जर भयो । मजर्रपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७७ करोड रुपैयाँ नाघ्यो । मर्ज भएपछि बनेको एनआइसी एसिया बैंकले आर्थिक वर्ष २०७१/७२ मा ४१ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा २७ प्रतिशत लाभांश दियो । यी दुबैं आर्थिक वर्षमा एनआइसी एसिया बैंकका सेयरधनीले क्रमशः ११ करोड ६५ लाख र ७ करोड ६५ लाख रुपैयाँ लाभांश कर छुट पाए ।

माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड फाइनान्सबीच २०६९ सालमा मर्जर भयो । मर्जरकै कारण सो आर्थिक वर्षमा माछापुच्छ्रे बैंकका सेयरधनीले २ करोड ९० लाख रुपैयाँभन्दा बढी लाभांश कर छुट पाए ।

सिटिजन्स बैंक इन्टरनेसनलले २०७१ चैतमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स र पिपुल्स फाइनान्स अक्वायर गर्यो । सोही अक्वायरका कारण सो बैंकका सेयरधनीले २ वर्षसम्म क्रमशः ३ करोड २५ लाख र ३ करोड ४५ लाख रुपैयाँ जोगियो ।

सिद्धार्थ बैंकले २०७३ जेठमा विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकसँग मर्जर गर्यो । मर्जरमा गएका बैंक वित्तीय संस्थाले लाभांश तिर्नु नपर्ने नीतिगत व्यवस्थाका सिद्धार्थका सेयरधनीले पहिलो वर्ष ४ करोड ६३ लाख र दोस्रो वर्ष ५ करोड रुपैयाँभन्दा बढी कर छुट पाए ।

२०७३ असारमा बैंक अफ काठमाडू र लुम्बिनी बैंकबीच मर्जर भयो । मर्जरकै कारण लाभांश वितरण गर्दा दुई वर्ष सेयरधनीले लाभांश कर तिर्नु परेन । तिर्नु पर्ने हुन्थ्यो भने आर्थिक वर्ष २०७३/७४ मा ३ करोड ६५ लाख र दोस्रो वर्ष ८ करोड ७५ लाख रुपैयाँ लाभांश कर तिर्नुपथ्र्याे ।

२०७४ असारमा कुमारी बैंकले काष्ठमण्डप, काक्रेविहार र महाकाली विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्स कम्पनी अक्वायर गर्यो । सोही अक्वायरका कारण कुमारी बैंकका सेयरधनीले आर्थिक वर्ष २०७४/७५ मा ३ करोड र आर्थिक वर्ष २०७५/७६ मा ४ करोड ५५ लाख रुपैयाँ लाभांश कर छुट पाए ।

२०७३ पुसमा लक्ष्मी बैंकले प्रोफेसनल दियालो डेभलपमेन्ट बैंक अक्यायर गर्यो । सोही अक्वायरका कारण लक्ष्मी बैंकका सेयरधनीले आर्थिक वर्ष २०७३/७४ मा ३ करोड ९३ लाख र आर्थिक वर्ष २०७४/७५ मा ३ करोड ६९ लाख रुपैयाँ लाभांश कर छुट पाए ।

२०७३ पुसमा सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण सानिमाका सेयरधनीले आर्थिक वर्ष २०७३/७४ मा ५ करोड ५१ लाख र आर्थिक वर्ष २०७४/७५ मा ५ करोड ६० लाख रुपैयाँ लाभांश कर छुट पाए ।

२०७५ वैशाखमा मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण मेगाका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ मा ४ करोड ७ लाख रुपैयाँ लाभांश कर छुट पाए ।

२०७३ माघमा सनराइज बैंकले एनआइडीसी क्यापिटल मार्केट अक्वायर गर्यो । सोही अक्वायरका कारण सनराइजका सेयरधनीले आर्थिक वर्ष २०७३/७४ मा ५ करोड २५ लाख र त्यसपछिको आर्थिक वर्षमा ४ करोड ६८ लाख रुपैयाँ लाभांश कर छुट पाए ।

२०७३ चैतमा प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण प्राइमका सेयरधनीले आर्थिक वर्ष २०७३/७४ मा ८ करोड ५३ लाख र त्यसपछिको आर्थिक वर्षमा ६ करोड ४० लाख रुपैयाँ लाभांश कर छुट पाए ।

२०७४ जेठमा सेन्चुरी कमर्शियल बैंकले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण सेन्चुरीका सेयरधनीले २०७४/७५ मा २ करोड ६० लाख रुपैयाँ कर छुट पाए ।

२०७४ असारमा नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण आर्थिक वर्ष २०७४÷७५ मा इन्भेष्टमेन्ट बैंकका सेयरधनीले २१ करोड २८ लाख र आर्थिक वर्ष २०७५/७६ मा १२ करोड २१ लाख रुपैयाँ लाभांश कर छुट पाए ।

कुन बैंकले कहिले कुनसँग गरे मर्जर अक्वीजीसन ?

सिभिल बैंक

–सिभिल बैंकले २०७१ जेठमा एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्था एक्वायर गर्यो ।

–२०७३ असोजमा सिभिल बैंकले इन्टरनेसनल लिजिङ एण्ड फाइनान्स कम्पनी अक्वायर गर्यो ।

–२०७४ जेठमा सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स कम्पनी अक्वायर गर्यो ।

–२०७४ असारमा सिभिल बैंकले युनिक फाइनान्स अक्वायर गर्यो ।

ग्लोबल

–२०७० चैतमा ग्लोबल आइएमई बैंकले कमर्ज एण्ड ट्रष्ट बैंक अक्वायर गर्यो ।

–२०६९ असारमा ग्लोबल बैंक र आइएमइ फाइनान्स कम्पनीबीच मर्जर भएर ग्लोबल आइएमई बैंक बन्यो ।

–२०७० असारमा ग्लोबल आइएमइ बैंकले सोसल र गुल्मी विकास बैंसँग मर्जर गर्यो ।

–२०७३ फागनमा ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक अक्यायर गर्यो ।

–२०७४ असारमा ग्लोबल आइएमइ बैंकले रिलायबल डेभलपमेन्ट बैंक अक्वायर गर्यो ।

–२०७६ भदौमा ग्लोबल आइएमइ बैंकले हाथवे फाइनान्स कम्पनी अक्वायर गर्यो ।

–२०७६ पुसमा गते ग्लोबल आइएमइ बैंक र जनता बैंकबीच मर्जर भयो ।

एनआइसी एसिया

–२०७० बैशाखमा एनआईसी बैंक र बैंकअफ एसिया मर्जर भएर एनआइसी एसिया बैंक बन्यो ।

माछापुच्छ्रे

–२०६९ साउनमा माछापुच्छ्रे बैंक र तत्कालिन स्ट्याण्र्ड फाइनान्सबीच मर्जर भयो ।

सिटिजन्स

–२०७१ चैतमा सिटिजन्स बैंक इन्टरनेसनलले तत्कालिन नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स र पिपुल्स फाइनान्स अक्वायर गर्यो ।

–२०७३ असारमा सिटिजन्स बैंक इन्टरनेसनलले प्रिमियर फाइनान्स कम्पनी अक्वायर गर्यो ।

–२०७७ असारमा सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंक अक्वायर गर्यो ।

सिद्धार्थ

–२०७३ जेठमा सिद्धार्थ बैंकले विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकसँग मर्जर गर्यो ।

विओके

–२०७३ असारमा बैंक अफ काठमाडू र लुम्बिनी बैंकबीच मर्जर भयो ।

कुमारी

–२०७४ असारमा कुमारी बैंकले काष्ठमण्डप, काक्रेविहार र महाकाली विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्स कम्पनी अक्वायर गर्यो ।

एनसीसी

–२०७३ मंसिरमा एनसीसी बैंकसँग इन्फ्रास्टक्चर डेभलपमेन्ट, एपेक्स, सुप्रिम र इन्टरनेसनल डेभलपमेन्ट बैंकबीच मर्जर भयो ।

लक्ष्मी

–२०७३ पुसमा लक्ष्मी बैंकले प्रोफेसनल दियालो डेभलपमेन्ट बैंक अक्यायर गर्यो ।

सानिमा

–२०७३ पुसमा सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंक अक्वायर गर्यो ।

मेगा

–२०७५ वैशाखमा मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंक अक्वायर गर्यो ।

–२०७७ असारमा मेगा बैंकले गण्डकी विकास बैंक अक्वायर गर्ने निर्णय गर्यो ।

सनराइज

–२०७३ माघमा सनराइज बैंकले एनआइडीसी क्यापिटल मार्केट अक्यायर गर्यो ।

प्राइम

–२०७३ चैतमा प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक अक्वायर गर्यो ।

–२०७६ भदौमा गते प्राइम कमर्शियल बैंकले कन्काइ विकास बैंक अक्वायर गर्यो ।

–२०७६ फागुनमा प्राइम कमर्शियल बैंकले कैलास विकास बैंक अक्वायर गर्यो ।

सेन्चुरी

–२०७४ जेठमा सेन्चुरी कमर्शियल बैंकले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक अक्वायर गर्यो ।

–२०७४ असारमा सेन्चुरी कमर्शियल बैंकले सगरमाथा फाइनान्स अक्वायर गर्यो ।

–२०७४ मंसिर सेन्चुरी कमर्शियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स अक्वायर गर्यो ।

इन्भेष्टमेन्ट

–२०७४ असारमा नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक अक्वायर गर्यो ।

–२०७६ असारमा नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्स अक्वायर गर्यो ।

एनएमबी

–२०७६ असोजमा एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.