चौथो त्रैमासमा अधिकांश बैंकहरु नोक्सानमा, जगेडा कोषबाट लाभांश वितरणका लागि राष्ट्र बैंकसँग स्वीकृति माग

  २०७७ असार २८ गते ९:०८     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले चालु आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा अधिकांश बैंकहरु नोक्सानमा जान सक्ने बताएका छन् । कर्जा असुली नहुँदा गर्नु पर्ने प्रोभिजनको कारण बैंकहरु नोक्सानमा जाने उनले बताए । ‘अवस्था राम्रो छैन’ दाहालले भने- ‘बैंकहरुकाे अपरेशन लसमा हुँदैनन, तर प्रोभिजनले लस गराउँछ ।’

बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्ष तथा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले यस वर्षको नाफाबाट नसके संचित कोषबाट भएपनि सेयरधनीलाई लाभांश दिनुपर्ने बताए । साना लगानीकर्ताको घर चलाउन, सेयर बजारमा राम्रो सन्देश दिन मौद्रिक नीति मार्फत नै यस्तो व्यवस्था हुनुपर्ने उनले बताए ।

तर नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्टले यस्तो सम्भावना कम रहेको संकेत गरेका छन् । ‘बैंकको सल्भेन्सीमा असर पर्नु भएन । अन्तर्राष्ट्रिय रुपमा स्थापित नर्म्समा असर पर्नुभएन’ उनले भने । भारत लगायत केही देशमा बैंकहरुलाई लाभांश वितरणमा रोक लगाएको सन्दर्भ पनि उनले उल्लेख गरे ।

उनले एनएफआरएस अनुसार अक्रोलबेस वासलात नबनाई क्यासबेस वासलात बनाउनु पर्ने बताए । हिसावमा नाफा देखिन, सरकारलाई कर बुझाउनु पर्ने तर लगानीकर्ताले लाभांश नपाउने खालको वासलात सच्याउनु पर्ने गोल्यानले बताए ।

यस विषयमा राष्ट्र बैंक, आईक्यान, कर प्रशासनका प्रतिनिधि संलग्न एक समितिले अध्ययन गरिरहेको र माैद्रिक नीतिमा सम्बोधन हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जानकारी दिए ।

भिडियाे हेर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.