गाडी चलाउने सरकारको निर्णयमा व्यवसायीको धारणा ‘सरकारले स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरोस्’

  २०७७ असार २५ गते १८:५४     सन्ताेष राेकाया

काठमाडौं । सरकारले भोलि अर्थात शुक्रबारबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले स्वास्थ्य सुरक्षाको ग्यारेन्टी खोजेका छन् । सरकारले स्वास्थय सुरक्षाको ग्यारेन्टी गरे आफुहरु गाडी चलाउन तयार भएको यातायात व्यवसायीहरुले धारणा राखेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले उचित स्वास्थ्य व्यवस्था मिलाए आफुहरु तयार भएको तर महासंको आधिकारिक भनाई भने भोलि बस्ने कार्यसमितिकाे बैठकले नै गर्ने उनले बताएका छन् ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न सकिने निर्णय गरेको लगत्तै उनले विकासन्युज सँग भने, ‘गाडी चलाउने र यातायात व्यवसायीको स्वास्थ्य सुरक्षा सरकारले ग्यारेन्टी गर्नुपर्छ, यसको बारे महासंको आधिकारिक धारणा भने भोलि बस्ने महासंघको कार्यसमितिकाे बैठकले गर्नेछ ।’

सरकारले यातायात व्यवसायीहरुले ५० प्रतिशत भाडा बढाएर सञ्चालन गर्न सकिने निर्णय गरेको छ । तर, सिटौला भने भाडादरको बारेमा पनि भोलिको बैठकले यकिन गर्ने बताउँछन् । धेरै गाडीहरु अहिले ग्यारेजमै कुहिने अवस्थाको भएकोले सरकारले त्यसको उचित प्रवन्ध नगर्दासम्म अहिले नै यही हुन्छ र गाडी चलाउँछौं भन्ने अवस्था नरहेको उनको निजी धारणा छ ।

गाडीहरु ग्यारेजमा रहेकोले त्यसलाई सही अवस्थामा ल्याउन अर्थात सर्भिस गर्न पनि धेरै समय लाग्ने उनी बताउँछन् । सरकारका प्रवक्ता तथा अर्थ र सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पनि ट्याक्सीहरू तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताएका छन् ।

सरकारले नयाँ मापदण्डअनुसार काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सवारीसाधन चल्न पाउने निर्णय गरेकाे छ ।  सार्वजनिक सवारी चलाउँदा सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।

त्यस्तै ट्याक्सीमा चालक बाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ ।  एकै परिवारको भए पाँच वर्ष मुनिका बालबालिकालाई भने चढाउन पाइने गरिएकाे छ । निजी सवारी साधन र मोटरसाइकलमा समेत साेहीअनुसार हुने खतिवडाले जानकारी दिए ।

ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारी साधनभित्र सामाजिक दुरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागि समेत लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.