टेलिकमले पूर्णरुपमा विस्थापित गर्यो तारवाला फोन

  २०७७ असार २५ गते १८:४९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोन(पीएसटीएन) लाई पूर्णरुपमा विस्थापित गरेको छ । फाइबरमा आधारित एफटिटिएच सेवाले उक्त फोनलाई विस्थापित गरेको हो ।

बर्दघाटमा २०५६ साल चैत्र महिनामा १५० लाइन क्षमताको सि डट एक्सचेञ्जबाट टेलिफोन सेवा शुरु गरिएकोमा २०६० सालमा १००० क्षमताको जे र्याक प्रणाली जडान गरिएको थियो । २०७२ सालमा ८९६ लाइन क्षमताको एमसान जडान गरी इन्टरनेट सेवा विस्तार गरियो । सो पश्चात ग्राहकको अत्यधिक मागका कारण ३००० लाइन क्षमताको ओएलटी एक्सचेञ्ज जडान गरीे ०७६ श्रावण २३ गतेबाट अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवाको वितरण शुरु गरिएको थियो । नयाँ एक्सचेञ्जबाट ग्राहकले टेलिफोन र इन्टरनेट सेवा उपयोग गर्न सक्दछन् भने कम्पनीले भविष्यमा वितरण गर्ने आइपिटिभी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

सामाजिक दुरी कायम गर्दै कम्पनीको कार्यालयमा आयोजित एक कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा वस्यालले ग्रामीण भेगमा पनि उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन अनुरोध गरेका छन् । उनले नगरका सबै जनतालाई सञ्चार सेवा उपलब्ध गराउनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्घता पनि व्यक्त गरेका छन् ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक सूर्यनारायण मालाकारले आगामी दिनमा अझ बढी गुणस्तरीय सेवा प्रदान गर्दै निर्देशनालयभित्र पर्ने सबै स्थानहरुमा अत्याधुनिक प्रविधिका दूरसञ्चार सेवाहरु क्रमशः विस्तार गरिने बताए ।

नेपाल टेलिकमले मुलुकभरी हालसम्म ७० हजारभन्दा बढी एफटिटिएच लाइन वितरण गरिसकेको छ । प्राविधिक रुपले सम्भव हुने अन्य स्थानहरुमा पनि कम्पनीले सेवाको स्तरोन्नति गर्दै लैजाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.