पाँच लाख घरको पुनर्निर्माण सम्पन्न, २५ प्रतिशत घर पुनर्निर्माणको क्रममै

  २०७७ असार २५ गते १८:२२     विकासन्युज

काठमाडौं । भूकम्पबाट क्षति भएका मध्ये हालसम्म ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको छ ।

संघीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ लाख ७ हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको बताएका हुन् । साथै, २ लाख २ हजार ६ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको उनले बताए ।

घर पुनर्निर्माणका लागि ७ लाख ८६ हजार १ सय ४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा छन् ।

भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएका छन् । नुवाकोट जिल्लामा ६४ हजार १ सय २४ र २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले ६ लाख भन्दा बढी गुनासाहरु सम्बोधन गरेको जानकारी दिँदै प्राधिकरणको निर्णयमा चित्त नबुझे पुनरावेदन समितिमा उजुरी दिन सकिने बताए । उनले भूमिहीन र सुकुम्बासी लाभग्राहीका बारेमा सबै टुङ्गो लागिसकेको र जोखिमयुक्त बस्ती स्थानान्तरणका लाभग्राहीलाई सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भएको जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती पुनर्निर्माणका लागि ८६ वटा प्रस्ताव प्राप्त भएकोमा भूकम्प प्रभावित क्षेत्रका विभिन्न ठाउँमा आकर्षक एकीकृत बस्तीहरु बन्दै गरेको बताए ।

समितिको बैठकमा प्राधिकरणले विद्यालय पुनर्निर्माण, पुरातात्विक महत्वका सम्पदा, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन पुनर्निर्माणबारे जानकारी गराएको थियो ।

समिति सभापति कल्याणीकुमारी खड्काले निजी आवास, विद्यालय पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै सम्पदा पुनर्निर्माणलाई अझ छिटो अघि बढाउन निर्देशन दिए । उनले प्राधिकरणको सयमावधिबारे छिट्टै टुङ्गो लगाउनु पर्ने बताए ।

प्राधिकरणको म्याद आगामी पुसमा सकिं‌दैछ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष थप्न सक्ने प्रावधान छ ।

बैठकमा सांसदहरुले गुम्बा पुनर्निर्माणमा विशेष ध्यान प्राधिकरणलाई आग्रह गरेका थिए । प्राधिकरणले ४ सय २ वटा गुम्बाको मर्मत सम्भारको काम भएको र पुनर्निर्माण गर्नुपर्ने १ सय १७ वटा गुम्बा पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम परेको जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकास समिति लगायत सबैको सहयोगले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल  भएको भन्दै राम्रा काममा अपनत्व लिन र कमीकमजोरी सुधारका लागि सुझाव दिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.