नेप्सको प्रमुख कार्यकारी अधिकृतमा सुब्बा, भन्छन्ः वित्तीय समावेशीतामा केही गरेर देखाउँन आएको छु

  २०७७ असार २५ गते १३:३३     विकासन्युज

काठमाडौं । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृतमा सन्जिव सुब्बा नियुक्त भएका छन् । करिब १ वर्षअघि नेपाल बैंकिङ इन्स्टिच्युट (एनबीआइ) को प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका सुब्बालाई नेप्सले ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (तत्कालिन नेपाल ग्रिनलेज बैंक) बाट बैंकिङ करिअर सुरु गरेका सुब्बा सो बैंकमा करिब १० वर्ष काम गरेपछि जागिर छोडेर थाइल्याण्ड गएका थिए । थाइल्याण्डको वेब्स्टार विश्वविद्यालयमा १० वर्ष काम गरेका सुब्बा सो विश्वविद्यालयको रजिष्टार हुँदै कार्यकारी निर्देशकसम्म बनेका थिए । उनी ३२ वर्षको उमेरमै सो विश्वविद्यालयको रजिष्टार बनेका थिए ।

वेब्स्टार विश्वविद्यालयमा १० वर्ष काम गरेपछि सुब्बा फेरि नेपाल फर्किएका थिए । नेपाल फर्केपछि उनी एनबीआईको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । खासै चर्चामा नरहेको एनबीआईलाई उनले नेपालको वित्तीय क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने प्रभावकारी संस्थाको रुपमा स्थापित गराए । एनबीआईको प्रमुख कायृकारी अधिकृतको जिम्मेवारी वहन गर्दा सुब्बा ४२ वर्षका थिए ।

एनबीआईमा करिब १० वर्ष काम गरेपछि उनले पदबाट राजीनामा गरेका थिए । वित्तीय समावेशीताको क्षेत्रमा काम गर्न खोजिरहेका सुब्बा प्रविधिसँग नजिक रहेर आफूले सोचे अनुसार अगाडि बढ्न सकिने अपेक्षा सहित नेप्सको व्यवस्थापन सम्हाल्न पुगेका हुन् ।

वित्तीय समावेशीताको क्षेत्रमा आफूलाई काम गर्ने इच्छा भएको र प्रविधिको प्रयोग गरी आफ्नो इच्छा अनुसारको काम गर्न पाइने सम्भावना देखेर नेप्समा संलग्न भएको सुब्बाले बताए ।

‘अबको आवश्यकता भनेको वित्तीय समावेशीता हो, यो क्षेत्रमा काम गर्ने मेरो ठूलो इच्छा छ, प्रविधि प्रयोग गरेर वित्तीय समावेशीता कायम गर्न सकिन्छ भन्ने लाग्यो, त्यसैले नेप्समा आवद्ध हुने निर्णय गरेको हूँ, प्रविधिसँग साक्षात्कार आजको पुस्तासँग काम गर्न पाउँदा पक्कै पनि रमाइलो हुन्छ होला, सबैको साथ पाउँछु होला,’ नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरेपछि विकासन्युजसँग कुरा गर्दै सुब्बाले भने ।

थाइल्याण्डको वेब्स्टार विश्वविद्यालयको रजिष्टारमा नियुक्त हुँदा सुब्बा ३२ वर्षका थिए भने नेपालको वित्तीय क्षेत्रलाई दक्ष जनशक्ति उत्पादन गरिदिने एनबीआईको प्रमुख कार्यकारी अधिकृत हुँदा उनी ४२ वर्षका थिए । सुचना प्रविधिको प्रयोग गरेर वित्तीय सेवा प्रदान गर्ने नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने उनले ५२ वर्षको उमेरमा सम्हाल्न पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.