दुर्गमका बैंकका शाखाको पीडाः बैंकिङ नबुझ्ने ग्राहक, परिस्थिति नबुझी नाफा खोज्ने व्यवस्थापन

  २०७७ असार २४ गते २२:०६     सुशिल घिमिरे ‘त्रैलोक्य’ 

विगतमा नेपाल राष्ट्र बैंकको निर्णय र योजनाले धमाधम बैंक, वित्तीय संस्था, माइक्रो फाइनान्स लगायत बैंक वित्तीय संस्थाहरु खुल्न थाले । वित्तीय स्रोत उपलब्ध गराउने संस्थाहरुको देशव्यापी उपस्थितिपछि स्थानीयस्तरमा विभिन्न उद्योग व्यवसाय सुरु हुन थाल्यो । जलविद्युत कम्पनीहरु खुल्न थाले । यसपछि नै नेपालमा विगत दुई दशकमा सबैभन्दा बढि परिवर्तन र फड्को वित्तीय क्षेत्रमा देखियो ।

देश संघीयतामा गएपछि सरकार र नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्नै पर्ने योजना आयो । यो योजनाले आमजनतामा वित्तीय चेतना, साक्षरता र पहुँच अभिबृद्धिमा सहयोग पुग्यो । र, नाफामुखी र शहर केन्द्रिको आरोप खेप्दै आएका वाणिज्य बैंकहरु ७ सय ५३ वटा स्थानीय तहमा पुगे । यसले गाँउगाँउ तथा विकट दुरदराजमा बैंक पुगे, वित्तीय साक्षारता र वित्तीय स्रोत परिचालनको राम्रो अवसर सिर्जना भयो ।

वित्तीय क्षेत्र आफैमा एउटा जोखिमको र संवेदनशील क्षेत्र हो । तथापि शहर बजार र तराईका सुरक्षित स्थानीय तहमा शाखा खोल्न र चलाउन त्यति गाह्रो नहोला । तर, विकट र दुर्गम स्थानमा बैंक र यसका शाखा खोल्न र चलाउन अवश्य नै चुनौतिहरु छन् । आजको समयमा विकट र दुर्गम स्थानीय तहमा बैंक र यसका शाखाले विशेष प्रकारका चुनौतिहरुको सामाना गर्नु परेको छ ।

वित्तीय साक्षरता

विकट र दुर्गम स्थानीय तहको बैंकमा प्रमुख समस्या भनेको नै वित्तीय साक्षरताको अभाव होे । आजको युवा पुस्ता गाँउमा नबस्नु र अधिकांश जनसख्या बालबच्चा र वृद्ध हुनुले समस्या सिर्जना गरेको छ । बैंकको विश्वासभन्दा पनि चलिरहेको साहु महाजन प्रथा हालसम्म पनि कायमै छ । पहिलो पटक बैंकले शाखा खोलेको अवस्थामा पनि ‘खाएर भाग्ने पो हो कि’ भन्ने जस्ता सोचले अझै पनि गाँजेको अवस्था छ ।

लेखक

चेतना, साक्षारता र शिक्षाको अभावले बैंकले शाखा खोलेको दुई तीन वर्षसम्म त सेवाग्राहीलाई बैंकसम्म ल्याउनै गाह्रो परेको हुन्छ । बैंकप्रतिको विश्वास जित्नको लागि अधिकांश समय कर्मचारीहरुले वित्तीय साक्षरतामा नै ध्यान दिनु पर्ने देखिन्छ ।

प्राविधिक समस्या

बही खाताको ढड्ढा युगबाट कम्प्युटराइज्य युगमा आज हामी आएका छौं । झन् बैंकको हरेक काम पूर्णतः प्राविधि मै भर पर्दछ । तर, दूरदराजका शाखाहरुमा राम्रोसँग इन्टरनेट नचल्ने, कम्प्युटर, प्रिन्टर, जेनेरेटर जस्ता प्राविधिक उपकरणमा समस्यामा भएमा दक्ष प्राविधिकको अभावले बनाउन लामो समय लाग्ने जस्ता प्रमुख समस्या समाधानमा अझै अझै पनि कठिनाइ भोग्नु परेको छ ।

जनशक्ति अभाव

मानिस स्वभावले नै प्रगतिवादी हुन्छ । सुगम र सुरक्षित ठाउँँमा बस्न रुचाउँछ । त्यसैले बैंकमा पनि कर्मचारीहरु बिकट शाखामा जान नरुचाउने, गइहाले पनि सरुवा गर्न खोज्ने, कामप्रतिको चाहना कम राख्ने जस्ता समस्या बैंकका ग्रामीण शाखाले भोगिरहेका छन् । यस्तै, एउटा बैंकबाट प्रमोशन भएर अर्को बैंकमा फड्को मार्ने जस्ता प्रबृत्ति पनि देखिएको छ । जसले गर्दा दक्ष र असर जनशक्तिको अभाव बैकको प्रमुख समस्या हो ।

भौगोलिक विकटता

बिकट पहाडी क्षेत्रका गाँउपालिका र स्थानीय तहको धेरै ठाउँमा अहिले पनि यातायातको साधन पुग्न सकेको छैन । सवारी साधनको अभाव तथा घरहरु एकआपसमा टाढा हुँदा बैंकका कर्मचारी तथा सेवाग्राही हिडेरै बैंकसम्म आउजाउ गर्नुपर्छ । यसले गर्दा सेवाग्राही र बैंकबीच दुरी कम गर्न समस्या भएको छ ।  यो समस्याले वित्तीय साक्षरता अभिबृद्धि मात्र समस्या भएको छैन, गाँउगाँउका सेवाग्राहीहरु घन्टौं लगाएर पाँच दश हजार जम्मा गर्न बैंकसम्म आउनुभन्दा घरमै राख्न रुचाउँछन् । यस्तो वाध्यताले बैकिङ बानी बसाल्न, बैंकको साना साना निक्षेप समेटेर राष्ट्रिय पुँजी संकलन गरी लगानीको स्रोत उपलब्ध गराउन र सर्वसाधारणको नगदको सुरक्षा हुने परिपाटी विकास गर्न अप्ठेरो परेको छ ।

नाफा कमाउनु पर्ने दबाव

बैक एउटा व्यवसायिक संस्था भएकोले जे जस्तो भएपनि व्यवस्थापक र संचालकले शाखा खोलेको दुई वर्षपछि नाफाको अपेक्षा गरेका हुन्छन् । शुरु शुरुमा बैंक खुल्नु चुनौति हुन्छ भने बिस्तारै शाखा मेनेजरदेखि कर्मचारीमा नाफा कमाउनु पर्ने दबाब हुन्छ । तर, कम जनसख्या र न्युन आर्थिक गतिविधि भएको स्थानीय तहमा दुई वर्षमै नाफातिर जानु पर्ने दबाव प्रमुख समस्या हो ।

असुरक्षित महशुस

बिगतको द्वन्दकालमा असुरक्षित महशुस गरेर धेरै बैंकहरु विस्थापित भएको अनुभव हाम्रै पुस्तासँग छ । बैंक भनेकै नगद कारोबार हुने र करोडौं रकम राखिने संस्था भएकोले जहिले पनि एक हिसावले भन्दा असुरक्षित नै महसुस हुन्छ । त्यसमा पनि बिकट पहाडी क्षेत्रमा शहर बजारको जस्तो सरकारी सुरक्षा दस्ता नहुनाले अझ बढी हदसम्म असुरक्षित महसुस हुन सक्दछ ।

यसका अलावा बैंकभित्र पनि पहाडको बैंक हो के काम हुन्छ र, के नै पो गरेको छ भन्ने जस्ता संस्था भित्रै पनि कर्मचारीलाई हेयको दृष्टिकोणले हेर्ने गरिएको अनुभव पनि केही कर्मचारीले गरेका छन् । सुगम र दुर्गमका कर्मचारीलाई एउटै मुल्याङ्गनमा राख्ने नगरी दुर्गम शाखाका कर्मचारीलाई तिनीहरुको योगदानको सम्बन्धित बैंक र राष्ट्र बैंकले अलिक फरक ढंगले गरेमा केही हदसम्म दुर्गम र विकट स्थानमा काम गर्ने बैंकका शाखाका कर्मचारीको मनोबल अलि बढ्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.