लकडाउन बिचौलियाको चाड बन्यो, ३ महिनामा अस्वभाविक नाफा, मारमा उपभोक्ता

  २०७७ असार २४ गते १३:५६     सन्ताेष राेकाया

काठमाडौं । विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा बिचौलियाहरुको ठूलो समूह देखिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले लकडाउनको समयमा विभिन्न खाद्यवस्तुका उत्पादनदेखि उपभोक्तासम्म ठूलो विचौलियाको समूह सक्रिय देखिएको बताएको छ ।

कोरोना भाइरसको कारण घरभित्रै रहेका मानिसहरुलाई आवश्य पर्ने खाद्य वस्तुदेखि अन्य सामग्रीहरुमा पनि महँगो मूल्य पार्न बाध्य गराउने बिचौलियाहरुको समूह सक्रिय देखिएको हो । विभागका प्रवक्ता रवीन्द्र आचार्यका अनुसार उपभोक्तमाले धेरै उपभोग गर्ने तेल, पानी, औषधि, स्टिल र सिमेन्टमा धेरै बिचौलिया देखिएका छन् ।

आचार्यले लकडाउनकै समयमा पनि विभागले विभिन्न उद्योग तथा पसलहरुमा अनुगमन गर्दा बिचौलियाहरु भेटिएको बताएका हुन् । उनीहरुले यो ३ महिनाको समयावधिमा उपभोक्ताहरुलाई वस्तुमा महँगो पारेर मारमा पारेका छन् । धेरै सस्तो पर्ने वस्तुको मूल्य पनि महँगो तिर्न उपभोक्ताहरु बाध्य भएका हुन् । सबैलाई कोरोना भाइरसको डर त्रास रहेको बेला बिचौलियाहरुलाई भने वस्तुमा कसरी मूल्य बढाउने भन्ने तर्फ ध्यान गएको अनुगमनबाट बुझिएको उनको भनाई छ ।

सरकारले लकडाउनको घोषणा गरेपनि बिचौलयाहरुले खाद्य वस्तु उत्पादनदेखि उपभोक्तासम्म सामान पुर्याउनका लागि विभिन्न उपाय निकालेर चर्को मूल्य असुलेको उनले बताए । उनीहरुले यो ३ महिनाको समयावधिमा अस्वभाविक रुपमा नाफा कमाएका छन् । जसको प्रत्यक्ष मारमा उपभोक्ताहरु परेका छन् ।

आचार्यका अनुसार विभागले लकडाउनको समयमा अनुगमनलाई धेरै तीव्रता दिएकोले उपभोक्ता ठगिनबाट बचेको दावी गरे । ‘लकडाउनमा बिचौलियहरुले धेरै कमाउने धन्दा गरे, हामी त्यसको अनुगमनमा तीव्रता दिएर लाग्यौं, यसले उपभोक्ताले महाँगो मूल्यमा वस्तु किन्नबाट पनि बँचे,’ उनले भने ।

बिचौलियाका ९ तह

विभागका अनुसार लकडाउनको समयमा बिचौलियाहरुले विभिन्न सामानमा महँगो मूल्य हाल्न उपभोक्तालाई बाँधय पारेका छन् । खाद्यवस्तु उत्पादनदेखि उपभोक्तासम्म पुग्ग्दा ९ तहका बिचौलिया भेटिएको विभागले बताएको छ ।

आचार्यका अनुसार खाने तेलमा ४ देखि ६ तह देखिएको छ भने पानी उद्योगमा पनि ३ देखि ५ तहका बिचौलिया भेटिएका छन् । ‘हामीले ९ वटा तेल उद्योगमा अध्ययन गर्दा उत्पादनस्थल, डिलररडिस्ट्रिब्युटर्स, होलसेल, सेमी होलसेल, खुद्रा र उपभोक्तासहित अधिकतम ४ देखि ६ तह देखिए, पानी उद्योगमा पनि ३ देखि ५ तहका बिचौलिया भेटिए,’ उनले भने ।

यस्तै, लकडाउनको समयमा औषधि उद्योगमा पनि बिचौलिया भेटिएका छन् । आचार्यका अनुसार औषधिमा उत्पादक, डिस्ट्रिब्युटर्स, होलसेल, रिटेलर र उपभोक्ता गरी पनि ५ तहका बिचौलियाहरु भेटिएका हुन् ।

विभागले विभिन्न समयमा गरेको अनगुगमनमा स्टील उद्योग र सिमेन्टमा पनि बिचौलिएका भेटिएका हुन् । विभागका अनुसार सिमेन्टमा ६ तह र स्टिल उद्योगमा ४ तह र सर्जजिकल सामग्रीमा ९ तहसम्मका बिचौलिया देखिएका छन् ।

यसरी अस्वभाविक रुपमा विचौलिया देखिएपछि विभागले वस्तुको मूल्य निर्धारण गर्ने बताएको छ । यसका लागि मापदण्डको मस्यौदा तयार गरिएको विभागले बताएको छ । जसले बिचौलियाको फन्दामा परेर महँगो मूल्य तिर्नु पर्ने उपभोक्ताको समस्या समाधान भएर जाने बताइएको छ ।

लकडाउनको समयमा सरकारले वस्तुको मूल्य नबढाए पनि उपभोक्ताहरुले भने महँगोमा खरिद गर्न बाध्य भएका छन् । सरकारले अनुगमनलाई तीव्रता दिइरहेको भएपनि त्यसको प्रभावकारिता भने न्युन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.