हतारमा कोभिड-१९ को खोप ल्याउने योजनाविरुद्ध वैज्ञानिकहरूको चेतावनी

  २०७७ असार २३ गते १४:०७     विकासन्युज

काठमाडाैं । भारतमा कोभिड-१९ विरुद्ध निर्माण भइरहेको खोप सर्वसाधारणमा प्रयोग गर्नेगरी ल्याउन निर्धारित समयसीमा अपत्यारिलो भएको भन्दै वैज्ञानिकहरूको एउटा समूहले त्यसो गर्न सम्भव नहुने बताएका छन् ।

भारतीय विज्ञान प्रतिष्ठानले ‘हतारमा पूर्ण वैज्ञानिक प्रक्रिया तथा मापदण्डमा सम्झौता हुने खालको उपाय’ विरुद्ध चेतावनी दिएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् ‘आईसीएमआर’ ले अगस्ट १५ तारिखका दिन कोभिड-१९ विरुद्धको खोप मानिसहरूमा प्रयोगमा ल्याउने आफूले परिकल्पना गरेको जनाएको थियो ।

अगस्ट १५ तारिखमा भारतको स्वतन्त्रता दिवस पर्छ । तर पछि आईसीएमआरले आफूले “समयसीमा” निर्धारण नगरेको बताएको छ ।

विवाद कसरी सुरु भयो ?

मानवमा कोभ्याक्सीन नामक खोपको परीक्षणका लागि १२ वटा संस्थालाई चयन गरिएको भन्दै आईसीएमआरका प्रमुख बलराम भार्गवले लेखेको पत्र सार्वजनिक भएपछि विवाद सुरु भएको हो ।

सामाजिक सञ्जालमा उक्त पत्रबारे व्यापक चर्चा भएको थियो । अगस्ट १५ तारिखका दिन प्रयोगमा ल्याउन सुरु गर्न सकियोस् भन्दै अनुमोदनसम्बन्धी सबै प्रक्रियाहरू द्रुत गतिमा पूरा गरी मानवमाथिको परीक्षणलाई तीव्र बनाउन पत्रमा भनिएको थियो ।

निर्देशनको अवज्ञा गरेको खण्डमा त्यसलाई “गम्भीर रूप”मा लिइने भनिएको थियो । त्यसमा झन् द्विविधा थप्दै भारतको विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघिको वक्तव्यबाट एउटा वाक्य हटायो । त्यो वाक्यमा भनिएको थियोः विकासको क्रममा रहेका कोभ्याक्सीनसहित कुनै पनि खोप सन् २०२१ अघि सर्वसाधारण मानसिमा प्रयोगमा जाने देखिँदैन ।

त्यो कुराले व्यापक विरोध र आलोचना निम्त्यायो । धेरैले अगस्ट १५ तारिखको समयसीमा देखावटी भएको र त्यसले भारतप्रतिको विश्वसनीयतामा गम्भीर असर पुर्‍याउने बताए । भारतीय विज्ञान प्रतिष्ठानका प्रमुखले आईसीएमआरले खोप परीक्षणका लागि घोषणा गरेको समयलाई “नसुनिएको” स्थानीय सञ्चारमाध्यमलाई बताए ।

स्पष्टीकरण
यद्यपि त्यसयता आईसीएमआरले आफ्ना भनाइबारे स्पष्ट पार्दै अगस्ट १५ तारिख समयसीमा नभएको जनाएको छ । भारतीय पत्रिका मिन्टले आईसीएमआरका एक अधिकारीलाई उद्धृत गर्दै प्रारम्भिक कुरालाई गलत रूपमा बुझिएको जनाएको छ ।

एउटा खोपको विकासमा सामान्यतया यदि दशकाैं होइन भने वर्षौं लाग्न सक्छ । यद्यपि अनुसन्धानकर्ताहरूले त्यति काम केही महिनाभित्रै गरिसक्ने प्रयास गर्दैछन् । अधिकांश विज्ञहरूलाई लाग्छ कोभिड-१९ विरुद्धको खोप सन् २०२१ को मध्यसम्ममा उपलब्ध हुन सक्छ।

नयाँ कोरोना भाइरस पहिलो पटक देखिएको समयदेखि १२-१८ महिनाको अन्तराल हुन्छ । यदि त्यसो भयो भने त्यो ठूलो वैज्ञानिक उपलब्धि हुनसक्छ । तर त्यसले काम गर्छ भन्ने कुराको निश्चित छैन । (स्राेत बीबीसी नेपाली)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.