बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिको निर्देशन

  २०७७ असार २३ गते १३:२९     विकासन्युज

काठमाडौं । बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिले निर्देशन दिएको छ । नेपाल सरकारद्वारा गठित अर्थ समितिको उपसमितिले बोर्डले तोकिएको मापदण्ड पुरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनी मार्फत सेयर खरिद बिक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स दिन सिफारिस गरेको हो ।

पुँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन अर्थ समितिले गठन गरेको उपसमितिकी अध्यक्ष रामकुमारी झाँक्रीले मंगलबार अर्थसमितिमा प्रतिवेदन बुझाउँदै बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेकी हुन् ।

साथै, समितिले धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल सम्बन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न सुझाव दिएकाे छ ।

त्यस्तै, सेयर खरिद बिक्री गर्न पाउने गरी खोलिएका वाणिज्य बैंकहरुका सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ती गर्ने र गाभिने नीतिगत व्यवस्था गर्न सिफारिस गरेको छ ।

अर्थ समितिले सांसद राम कुमारी झाँक्रीको नेतृत्वमा रामबाबु यावद, प्रमिला राई, हेमकुमार राई र मेटमणि चौधरी सदस्य रहेको उपसमिति गठन गरेको थियो । बैंकलाई ब्रोकर लाइसेन्स दिने या नदिने भन्ने सम्बन्धमा गठित उक्त समितिले अध्ययन गरी उक्त प्रतिवेदन तयार गरेको हो ।

नेप्सेले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिश कार्यविधि तयार गरेको थियो । साथै, यस सम्बन्धमा गत साउन १७ मा वाणिज्य बैंकका सहायक कम्पनीले धितोपत्र खरिद बिक्री गर्ने अनुमतिपत्रका लागि निवेदन दिने बारे नेप्सले सूचना जारी गरिसकेकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.