कोरोना बीमामा ८ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने कम्पनीको प्रस्ताव बीमा समितिले रोक्यो

  २०७७ असार २३ गते ११:३८     विकासन्युज

काठमाडौं । कोरोना बीमामा ८ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने गरी एक बीमा कम्पनीले गरेको तयारी बीमा समितिले रोकेको छ । कम्पनीले ८ लाख, ५ लाख, ३ लाख, १ लाख र ५० हजार रुपैयाँ बिमांकको बीमा गर्ने तयारी थालेको थियो ।

बीमा समितिले बैशाख पहिलाे सातादेखि कोरोना बीमा सुरु गरेको थियो । सो बीमाको बिमांक रकम १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ हुने तय भएको थियो । समितिले ल्याएको कोरोना बीमाको बिमांक बढाउनु पर्छ भन्ने आवाज उठिरहेको अवस्थामा एक कम्पनीले ८ लाख रुपैयाँसम्म बिमांक हुने गरी आफ्नै प्रकारको बीमा योजनाको तयारी गरेको थियो ।

कम्पनीले गरेको तयारी अनुसार कोरोना बीमामा दाबी भुक्तानी दिन नसकिने अवस्था भएकोले रोकिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कोरोना बीमाको पुनर्बीमा भएको छैन । यसबाट प्राप्त भएको बीमा शुल्क रकमको एउटा कोष बनाइएको छ भने सो कोषको रकमबाट नपुगेको अवस्थामा नेपाल पुनर्बीमा कम्पनी, सबै निर्जीवन बीमा कम्पनी, सरकार र बीमा समितिले तोकिए अनुसार दाबी भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

‘बीमा शुल्कबाट प्राप्त रकमको एउटा कोष बनाइएको छ, दाबी भुक्तानीको लागि नपुग रकम निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकारले तिर्ने भनिएको छ, अन्तराष्ट्रिय बीमा कम्पनीहरुले पुनर्बीमा नगरेको र स्रोत व्यवस्थापन गरेर दाबी भुक्तानी गर्नुपर्ने बीमामा यसरी आफूखुसी बिमांक रकम राखेर बीमा गर्न पाइदैन, त्यसैले रोकेका हौं,’ कार्यकारी निर्देशक पौडेलले भने ।

सो बीमा कम्पनीले भने घातक रोग बीमालाई पनि कोरोना बीमामा समायोजन गरेर मृत्यूपछि मात्रै दाबी भुक्तानी हुने गरी बिमांक तोकेको थियो । समितिले भने १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ मात्रै बिमांक हुने व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.