अमेरिकाले अनलाइन कक्षा मात्रै हुने विदेशी विद्यार्थीको भिसा रद्द गर्ने

  २०७७ असार २३ गते १०:३९     विकासन्युज

काठमाडाैं । अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको कक्षा पूर्ण रूपमा अनलाइन हुने भए उनीहरूको भिसा आगामी सेप्टेम्बरदेखि रद्द गरिने बताइएको छ ।

अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले यो नियम नमान्ने व्यक्तिहरूलाई देशनिकाला पनि गर्न सकिने बताएको छ । कोरोना भाइरस महामारीका कारण थुप्रै अमेरिकी विश्वविद्यालयले कक्षाहरू अनलाइन सञ्चालन गर्न थालेका छन् । यो नियमबाट कति विद्यार्थीलाई असर पर्छ भन्ने स्पष्ट छैन ।

नेपाली विद्यार्थी कति ?

अमेरिकामा सन् २०१९ मा १३ हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको र त्यहाँ रहेका कुल विदेशी विद्यार्थीहरूको सङ्ख्याको आधारमा नेपाल बाह्रौँ स्थानमा छ ।

प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विदेशी विद्यार्थीहरू अध्ययनका लागि अमेरिका जाने र पूरा शुल्क तिर्ने हुँदा ती विश्वविद्यालयको महत्त्वपूर्ण आर्थिक स्रोत हुन् । हार्भर्डले नयाँ शैक्षिक सत्रमा सबै कक्षाहरू अनलाइन गर्ने बताएको छ ।

आईसीईको स्ट्यूडन्ट एन्ड एक्स्चेन्ज भिजिटर प्रोग्र्यामले यो वर्ष सेप्टेम्बरसम्म सबै कक्षा अनलाइन भए पनि विदेशी विद्यार्थीहरूलाई आवासीय अनुमति कायम राखेको छ ।

को प्रभावित हुन्छन् ?
सोमवारको घोषणामा भने सेप्टेम्बरदेखि अनलाइन कक्षामात्रै लिने विद्यार्थीहरूलाई अध्यागमन नियमानुसार देशबाट हटाइने प्रक्रिया सहितको कारबाही गरिने बताइएको छ ।

यो नियम एफवन भनिने अध्ययन भिसा र एमवन भनिने व्यावसायिक तालिमका विद्यार्थी भिसा भएकाहरूलाई लागु हुनेछ । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सन् २०१८ मा विदेशी विद्यार्थीहरूले अमेरिकी अर्थतन्त्रमा ४५ अर्ब डलर योगदान गरेका थिए ।

आईसीईको उक्त निर्णयको धेरैतिरबाट आलोचना भएको छ । (बीबीसीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.