प्राधिकरणले किन बनायो २ वटा मात्रै सिम प्रयोग गर्न पाइने नियम ?

  २०७७ असार २२ गते १८:१२     नबिन पोखरेल

काठमाडौं । नेपाल दूर–संचार प्राधिकरणले अबदेखि एक जनाले २ वटाभन्दा बढी सिम कार्ड प्रयोग गर्न नमिल्ने व्यवस्था गरेको छ ।

अन्य सेवा प्रदायकको २ वटा मात्रै सिम प्रयोग गर्न पाइने भएपनि नेपाल टेलिकमको हकमा भने ग्राहकले सिडीएमएको समेत थप एउटा सिम गरी ३ वटा प्रयोग गर्न सक्ने छन् ।

यस्तो प्रबन्ध सेवा प्रदायकहरुले आफ्ना ग्राहकहरुलाई सिम कार्ड बेच्दा मिलाउनु पर्नेछ । नियामक निकाय नेपाल दूरसंचार प्राधिकरण (एनटीए) ले सबै सेवा प्रदायकहरुलाई सो विषयमा निर्देशन समेत जारी गरेको छ ।

अहिलेसम्म बजारमा एकै जनाले विभिन्न सेवा प्रदायकका थुप्रै सिम कार्डहरु प्रयोग गर्दै आएका छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार धेरै सिम कार्डहरु किन्ने गरेका हुन् ।

किन रोक्यो प्राधिकरणले ?

एनटीएका अनुसार एक जना व्यक्तिको नाममा धेरै वटा सिम कार्ड निकाल्दा दुरुपयोग बढ्ने सम्भावना हुन्छ । आफ्नो नामको सिम कार्ड आफैले प्रयोग गर्दा फोनको दुरुपयोग हुने सम्भावना कम हुन्छ ।

एनटीएका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार नेपालमा मात्र नभई अन्य देशमापनि सिम कार्डमा लिमिट तोकिएको छ ।

‘हाम्रो देशमा मात्र होइन, अरु देशले पनि सिम कार्ड प्रयोग गर्दा लिमिट तोक्ने गरिएको छ, यसले सबै पक्षलाई राम्रो हुन्छ, मुख्य कुरा त सिम कार्डको दूरुपयोग रोकिन्छ’, प्रवक्ता अर्यालले भने ।

अहिले मोवाइल फोनको प्रयोग बढ्दो क्रममा छ । डिजिटल फाइनान्सिङमा ग्राहकको आकर्षण बढ्दो छ । सरकारले प्रयोग गरेको नागरिक एपहरुमा समेत सिम कार्डको प्रयोग हुन्छ ।

एकजनाले नै धेरै वटा सिम कार्ड निकाल्दा गोपनीयता कायम हुन नसक्ने प्राधिकरणको भनाइ छ । त्यसरी अर्काको नामको सिम चलाउदा उक्त सिम कार्डहरुमा लेखिएका सेक्यूरिटी कोडहरु सुरक्षित नहुने एनटीए बताउँछ ।

सिम कार्डको गलत प्रयोग हुनबाट रोक्न तथा अपराधिक क्रियाकलापमा मोबाइलको प्रयोग हुन नदिन सिम कार्ड लिमिटेसन गर्नु पर्ने एनटीएको दाबी छ ।

आफ्नो घर परिवारको लागि सिम निकाल्दा समेत परिवार बाहिरको मान्छेहरुले प्रयोग गर्ने गरेको भेटिएको एनटीएले जानकारी दिएको छ । तर, त्यसरी सिम कार्डको प्रयोग गर्दा सिम कार्ड चलाएको व्यक्तिले गल्ती गरेपनि जसको नाममा सिम छ सोही व्यक्ति दोषी हुने भएकोले पनि सिमकार्डमा कडाइ गरिएको प्राधिकरणले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.