मेलम्चीको पानी काठमाडौंमा आएपनि उपभोक्ताको घरमा तत्काल नपुग्ने, कसले बिगार्यो १६ करोडको पाइपलाइन ?

  २०७७ असार २२ गते ११:०८     विकासन्युज

काठमाडौं । अबको दुई महिनामा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउने भएको छ । सो पानी सुन्दरीजलमा जम्मा गरेर काठमाडौं उपत्यकाका उपभोक्ताको घरघरमा पुर्याउने योजना मेलम्ची खानेपानी आयोजना विकास समितिको छ ।

आयोजनाले अस्थायी ड्याममार्फत डाइभर्सन गरी सुरुङमा पानी पठाएको छ । आयोजनाले सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि सुन्दरीजलसम्म पानी ल्याउने भएपनि त्यहाँबाट उपभोक्ताको घरघरमा पानी पुर्याउने जिम्मा भने काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनलयले पाएको छ ।

सुन्दरीजलबाट उपभोक्ताको घरसम्म पुग्ने संरचनामा समस्या आएको कारण उपभोक्ताले तत्काल पानी उपभोग गर्न नपाउने निर्देशनालयले जनाएको छ । आफूले विगतमा विच्छ्याइएका पाइपमा विभिन्न पक्ष/निकाय/व्यक्तिले अनधिकृत रुपमा क्षति पुर्याएकोले उपभोक्ताको घरसम्म पानी पुग्न समस्या हुने निर्देशनलयको भनाइ छ ।

‘जनताको घरघरसम्म पानी पुर्याउन यो निर्देशनालय तदारुक्ताका साथ काम गरिरहेको भए तापनि पूर्वाधार वा पानी वितरणसँग सम्बन्धित प्रणालीलाई बेलाबेलामा विभिन्न पक्ष/निकाय/व्यक्तिद्वारा बारम्बार अनाधिकृत रुपमा क्षति पुर्याउने कार्य भइरहेको छ, जसको परिमाण यो संजालले कार्य गर्न नसक्ने अवस्थामा पुग्न सक्छ,’ निर्देशनालयले प्रकाशित गरेको सार्वजनिक सुचनामा भनिएको छ ।

निर्देशनालयले काठमाडौं उपत्यकामा १२ सय किलोमिटर पाइप विच्छ्याइसकेको छ । यसमध्ये ३५ किलोमिटर पाइप क्षतिग्रस्त भएको बताइएको छ । यसरी पाइपमा क्षति पुर्याएको आरोप भने सडक विभागलाई लगाइएको छ ।

‘मेलम्चीको प्रशोधित खानेपानी उपत्यकामा आपूर्ति गर्ने तयारी अन्तिम चरणमा पुगेको अवस्थामा तेस्रो पक्षद्वारा सडक निर्माण÷पुनस्र्थापना तथा ढलका पाइप विछ्याउने क्रममा निर्देशनालयले विछ्याएका ३५ सय ९२ मिटर पाइपलाइन गत वर्षभित्र नै क्षतिग्रस्त भएको छ,’ निर्देशनालयले भनेको छ । यसरी क्षति भएको पाइपलाइनको लागत १६ करोड ४ लाख ५० हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ भने यो वर्ष कति पाइपलाइनमा क्षति भयो भन्ने खुलाइएको छैन ।

निर्धारित समयमा नै मेलम्चीको पानी सुन्दरीजलमा उपलब्ध भएपनि क्षतिग्रस्त पाइपलाइनको समयमै मर्मत हुन नसक्दा पानी आपूर्ति गर्न अवरोध हुने निर्दशनालयको भनाइ छ । विछ्याइएका पाइपहरु विभिन्न पक्षले जानाजान वा अन्जानमा अझै पनि क्षति पुर्याइरहेको आरोप निर्देशनालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.