व्यापारिक मार्गमा चार आकाशेपुल

  २०७७ असार २२ गते ९:१२     विकासन्युज

काठमाडौं । व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ मा निर्माण शुरु गरिने ती चार आकाशेपुलमा करिब रु २० करोड खर्च हुने अनुमान गरिएको आयोजना प्रमुख सञ्जयकुमार मिश्रले बताए । आकाशेपुल निर्माणको अध्ययन प्रतिवेदनअनुसार पथलैया, परवानीपुर, गण्डकदेखि अलौँको एकीकृत जाँच चौकी (आइसिपी) सम्म करिब २८ किलोमिटर लम्बाइको व्यापारिक मार्गमा पहिलो चरणअन्तर्गत सिमरा विमानस्थलमा एउटा, जितपुर बजार क्षेत्रमा दुई वटा र परवानीपुरमा एउटा गरी चार वटा आकाशेपुल निर्माण गरिने प्रमुख मिश्रले बताए ।

आकाशेपुलको विस्तृत प्रतिवेदन तयार गरी सडक विभागमा पठाइसकिएको र सो प्रतिवेदन स्वीकृति भएर आउने बित्तिकै ठेक्का प्रक्रियामा जाने बताउँदै प्रमुख मिश्रले भने, “सो सडकखण्डमा थप १० वटा आकाशेपुल निर्माण गरिने प्रस्ताव गरिएको छ ।” उनका अनुसार प्रस्तावित आकाशेपुल परवानीपुर, सुक्खा बन्दरगाह क्षेत्र, पावर हाउस चोक तथा घण्टाघरलगायतको ठाउँमा निर्माण गरिने योजना छ ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण आकाशेपुल निर्माणको प्रक्रियामा ढिलाइ भएको भए पनि आउँदो वर्षको असोजसम्ममा पुलको ठेक्का लगाउने योजना रहेको जनाइएको छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.