चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

  २०७७ असार २२ गते ९:१४     विकासन्युज

इलाम । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको छ ।

व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार आन्तरिक तथा बाह्य समस्याका कारण नेपालको निर्यात क्षमतामा कमी आएको हो । गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्तभित्र १३ करोड ६ लाख १ हजार ६ सय ७२ किलो निर्यात भएको चिया यस वर्ष सोही समयमा ८ करोड ३ लाख २५ हजार ७ सय ८७ किलो मात्र निर्यात भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ (साउन–जेठ) भन्दा आर्थिक वर्ष २०७६/७७ (साउन–जेठ) मा चिया निर्यातमा उल्लेखनीय कमी आएको हो । चियाको निर्यातमा कमी आएसँगै यसबाट भित्रिने आम्दानीमा समेत ह्रास आएको देखिएको छ । प्रवद्र्धन केन्द्रका अनुसार गएको आर्थिक वर्ष (साउन–जेठ)मा २ अर्ब ८९ करोड ३५ हजार बराबरको चियाबाट आम्दानी भित्रिएकोमा यस आर्थिक वर्ष (साउन–जेठ)मा २ अर्ब ६ करोड ५३ लाख ६८ हजार बराबर मात्र आम्दानी नेपाल भित्रिएको छ ।

यस्तै नेपालबाट भारत हुँदै तेस्रो मुलुक पुग्ने अर्को कृषिजन्य पदार्थ अलैँचीको समेत परिमाण र आम्दानी दुवैमा यस वर्ष गिरावट आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । गएको आर्थिक वर्ष ०७५/७६ को जेठ मसान्तसम्ममा ४८ लाख ८० हजार ९ सय ८५ किलोको अलैँची विदेश निर्यात भएकोमा यस आर्थिक वर्षको जेठसम्ममा ४३ लाख नौ हजार ५०९ किलो मात्र निर्यात भएको पाइएको छ । गएको वर्षको जेठ मसान्तसम्ममा रु ४ अर्ब ३५ लाख ८७ हजार बराबरको अलैँचीबाट आय भएकोमा यस वर्षको जेठ मसान्तसम्ममा ३ अर्ब ४६ करोड १० लाख ४२ हजार बराबरको मात्र आम्दानी भएको देखिएको छ ।

यसैगरी नेपालबाट निर्यात हुने अदुवामा पनि यस वर्ष ठूलो परिमाणमा गिरावट आएको पाइएको छ । गएको आव २०७५/७६ (साउन–जेठ)मा १ करोड २८ लाख ८४ हजार ८४ किलो अदुवा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ७६ लाख ८४ हजार ७१६ किलोमा मात्र निर्यात भएको तथ्याङ्कले जनाएको छ । गएको वर्षको जेठ मसान्तसम्ममा ४२ करोड २१ लाख ६७ हजार २ सय बराबरको आय भए पनि यस आवको सोही अवधिमा ३६ करोड ५० लाख ८७ हजार रूपैयाँ बराबरको मात्र अदुवाबाट आम्दानी भएको प्रवद्र्धन केन्द्रले जनाएको छ ।

वैदेशिक व्यापारमा कूल प्रतिशतको तीन दशमलव नौ प्रतिशत हिस्सा ओगट्ने अलैँचीको यस वर्ष १३ दशमलव छ प्रतिशतले आम्दानीमा गिरावट आएको छ भने दुई दशमलव तीन प्रतिशत हिस्सा ओगट्ने चियाको आम्दानीमा २८ दशमलव पाँच प्रतिशत र शून्य दशमलव चार प्रतिशत हिस्सा रहेको अदुवाको १३ दशमलव चार प्रतिशत गिरावट आएको वैदेशिक व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले जनाएको छ ।   रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.