काेराेना संक्रमण: विश्वकाे तेस्रो स्थानमा पुग्यो छिमेकी मुलुक भारत

  २०७७ असार २२ गते ७:२७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएसँगै भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ ।

भारतमा गत तीन दिनमा यता नयाँ सङ्क्रमितको सङ्ख्या लगातार बढ्दै गएको छ । हाल सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या करिब ६ लाख ९७ हजार ८ सय पुगेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ हजार ७ सय पुगेको छ ।

आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ सङ्क्रमित थपिएका थिए ।  भारतमा यथार्थ कोरोना संक्रमितको संख्या चित्रण गर्न नसक्ने विज्ञहरुले बताउँदै आएका छन् । भारतका मूख्य शहर नै कोरोना भाइरसले प्रभावित भएका छन् ।

भाइरस सङ्क्रमण फैलँदै गर्दा भारतको एक प्रमुख पर्यटन आकर्षण ताज महल आगन्तुकका निम्ति सोमबारदेखि खुला गर्ने योजना पनि अहिलेलाई स्थगित गरिएको छ। भारतमा सबैभन्दा धेरै सङ्क्रमितहरूको सङ्ख्या पश्चिमी महाराष्ट्र राज्यमा पाइएको छ ।