भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सवारीसाधन आजदेखि सञ्चालनमा

  २०७७ असार २१ गते २०:०४     विकासन्युज

हेटौँडा । भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने देउराली र हेबीमा केही दिनअघि गएको पहिरो पन्छाई भीमफेदी काठमाडौँतर्फको यातायात सेवा आजैबाट सञ्चालनमा ल्याइएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

उक्त राजमार्गलाई विस्तार गर्ने क्रममा वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीदेखि कुलेखानीसम्म करिब साढे १५ किलोमिटर सडकको विस्तार गर्ने क्रममा निर्माण कार्य भइरहेकाले ठाउँठाउँमा पहिरो जाँदा केही हप्तादेखि कुलेखानीदेखि हेटौँडासम्मको यातायात सेवा अवरुद्ध हुन पुगेको थियो ।

काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारी साधनलाई मदन भण्डारी राजमार्गको फाखेल–सिस्नेरीबाट आवतजावत गर्न स्थानीय प्रहरी चौकीले अनुमति प्रदान गरेको सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रविन झाले जानकारी दिए ।

हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने हल्का सवारी साधनलाई व्यक्तिको आवश्यकता हेरी भैँसेस्थित प्रहरीले भीमफेदीतर्फ जाने अनुमति दिएको र खाद्यान्न, औषधि, इन्धन, लत्ताकपडालगायत अन्य सामग्री बोक्ने सवारी साधनलाई त्रिभुवन राजपथको दामन, पालुङ हुँदै मकवानपुरको विभिन्न गाउँमा पठाउने गरेको भैसे प्रहरी चौकीका इञ्चार्ज कुलबहादुर श्रेष्ठले बताए ।

प्रदेशको राजधानी हेटौँडाबाट ललितपुरको सातदोबाटो जोड्ने कान्तिराजपथमा पर्ने जिपुर र ठिंगनमा केही हप्ता अगाडि पहिरो जाँदा सातदोबाटोबाट हेटौँडासम्मको यातायात सेवा अवरुद्ध रहेको चौघडा प्रहरी चौकी हेटौँडाले जनाएको छ । सो राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छ्याइ यातायात सञ्चालनमा ल्याउन अझै एक महिना लाग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.