थप सशक्त बन्दै मेगा बैंक, गण्डकी विकास बैंकलाई प्राप्ति गरी शुरू गर्याे संयुक्त कारोबार 

  २०७७ असार २१ गते १८:३६     विकासन्युज

काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडले आज(असार २१ गते) बाट संयुक्त कारोबार शुभारम्भ गरेको छ । आइतबार पोखरामा एक समारोहकाबीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरी ‘मेगा बैंक नेपाल लिमिटेड’काे नामबाट एकीकृत काराेबार शुरू गरिएकाे हाे ।

पोखरामा केन्द्रीय कार्यालय रहेको र ९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकास बैंक मेगा परिवारमा समाहित भएको घोषणा गर्दै मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भई मेगा बैंक देशकै ठूलो मध्येको एक “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भएको बताए । अध्यक्ष शाहका अनुसार, मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ ।

कार्यक्रममा बोल्दै साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले गण्डकी विकास बैंकले स्थापनाको छोटो सयममै गण्डकी प्रदेशसहित विभिन्न प्रदेशका ग्राहकहरुको मन जित्न सफल भएको र अब त्यो विश्वास र माया मेगा बैंकमा सरेको बताए ।

कार्यक्रममा मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा कार्यालय विस्तार भएको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि गण्डकी प्रदेशमा मात्रै मेगा बैंकको शाखा सञ्जाल ४८ वटा भएको बताइन् । अब मेगा बैंकको शाखा सञ्जालका हिसाबले वागमती प्रदेशपछि गण्डकी प्रदेश दोस्रो नम्बरमा रहेको उनले बताइन् । उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको ओज बढेको उल्लेख गर्दै उनले मेगा बैंकको शाखा सञ्जाल अब ५८ वटा जिल्लामा फैलिएको जानकारी दिइन् ।

सीइओ खुञ्जेलीका अनुसार, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२ औं र मुनाफाका आधारमा ११औं स्थानमा रहेको छ । यसैगरी, मेगा बैंकको कर्मचारी संख्या पनि १२ सयबाट १८ सय पुगेको छ ।

One comment on "थप सशक्त बन्दै मेगा बैंक, गण्डकी विकास बैंकलाई प्राप्ति गरी शुरू गर्याे संयुक्त कारोबार "

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.