कृषि विकास बैंक ह्याक गरेको अभियोगमा एक जना पक्राउ

  २०७७ असार २१ गते १८:१४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक ह्याकिङ गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।

उनी धादिङको रुविभ्यालिका सौजन तामाङ हुन् । उनलाई जावलाखेलबाट पक्राउ गरिएको हो । २०७६ असोज ७ गते कृषि विकास बैंकको न्युरोड शाखाबाट सुनिता श्रेष्ठको खातामा रहेको ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी भएको थियो।

श्रवण कुमार श्रेष्ठको खातामा २० लाख रुपैयाँ रकमान्तर गर्न चेक पेश गरेको अवस्थामा उनीहरुमाथी संका गरिएको थियो। बैंकको वित्तीय प्रणालीमा पहुँच राखि ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको पाइएको थियो।

गत असोज ७ गते श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जारलाई पक्राउ गरिएको थियो ।