बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

  २०७७ असार २१ गते १७:५८     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौं रकम रकमान्तर गरी बैंकलाई हानीनोक्सानी पुर्याउने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ घर भई काठमाडौं तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षीय सौजन तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गएराति ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको हो । उनीविरुद्ध सङ्गठित अपराधसमेतको कसुरमा अनुसन्धान थालिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

तामाङलगायतको समूहले गत असोज ७ गते कृषि विकास बैंक शाखा कार्यालय न्युरोडमा अनधिकृतरुपमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रूपैयाँ रकमान्तर गरी त्यसबाट ९ लाख ५० हजार रूपैयाँ भुक्तानी लिन सफल भएको थियो । यस्तै श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाख रूपैयाँको चेक पेश गरेको अवस्थामा शङ्का लागि सिस्टम परीक्षण गर्दा उक्त कैफियत फेला परेको थियो ।

आरोपी सुनिता श्रेष्ठसमेतका व्यक्तिको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी कूल ४ करोड ८८ लाख ४६ हजार रूपैयाँ रकमान्तर गरी भुक्तानी लिएको भन्ने सूचना प्राप्त भएपछि महाशाखाले अनुसन्धान थालेको थियो ।

महाशाखाले सोही दिन श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशङ्कर पञ्जालाई पक्राउ गरी सङ्गठित अपराध कसुरमा अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइको थियो । तर तामाङ भने फरार हुँदै आएका थिए ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.