खर्च कम गर्न बैंकहरूले थाले उपाय, शाखा मर्जदेखि कर्मचारी कटौतिसम्मको प्रयास

  २०७७ असार २१ गते १२:२२     विकासन्युज

काठमाडौं । कोभिड–१९ को असर लामो समय देखिने आकलनसहित बैंकहरुले खर्च कटौतिलाई जोड दिन लागेका छन् । बैंकहरुले एक्लाएक्लै खर्च कटौतिको प्रयास गर्दा चौतर्फि आलोचना हुन थालेपछि सामूहिक रुपमा नै खर्च कटौतिको प्रयास थालेका छन् ।

नेपाल बैंकर्स संघले कोभिड–१९ का कारण परेको असर र खर्च कटौतिको उपायबारे सामूहिक धारणा बनाउन एउटा कमिटि बनाएर नै काम थालेको छ । संघको उपाध्यक्ष तथा नेपाल एसविआई बैंकको प्रबन्ध सञ्चालक अनूकल भट्नाकरको संयोजकत्वमा गठित समितिले यसै साता संघमा आफ्नो प्रतिवदेन बुझाउँदैछ ।

चैत मसान्तमा उठ्नु पर्ने कर्जाको ४५ प्रतिशत मात्र किस्ता उठेको र असार मसान्तमा पनि कर्जा उठ्ने झन् कम देखिएको भन्दै बैंकर्सहरु बढी नै चिन्तित देखिएका छन् ।

खर्च घटाउने बैंकर्सहरुले कर्मचारी कटौति गर्नेदेखि एटीएम तथा शाखा मर्जसम्मको अभ्यास थालेको जानकारी राष्ट्र बैंकमा आएको राष्ट्र बैंकको कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

‘३/४ वटा बैंकले विभिन्न समस्या देखाउँदै शाखा मर्जको प्रस्ताव ल्याएका छन् । कोही मौखिक रुपमा सोध्न आएका छन्, कोही लिखित रुपमा आएका छन्, राष्ट्र बैंकको स्वीकृतविना कुनै पनि शाखा गाभ्न वा बन्द गर्न पाइदैन । हामीले स्वीकृत दिएका पनि छैनौं,’ उनले भने ।

पछिल्लो समय कारोबार कम भएको, शाखामा सेवाग्राही नआएको, राष्ट्र बैंकले खोल्नै पर्छ भनेर खोलिएका शाखाहरुमा लामो समयसम्म नोक्सानमा गएको लगायतको समस्या लिएर बैंकहरु राष्ट्र बैंकमा शाखा बन्द वा मर्जको लागि लबिङ गरिरहेको बताइएको छ ।

बैंकहरुले खर्च कटौतिको प्रयास स्वारुप निक्षेपको व्याज सरदर ३ प्रतिशतले घटाइसकेका छन् । मुद्दतिको व्याजदर १० प्रतिशतबाट करिव ८ प्रतिशतमा झारिएको छ भने बचतको व्याजदर सरदर ७ प्रतिशतबाट ४ प्रतिशतमा झारेका छन् ।

त्यस्तै, कर्मचारी खर्च कटौतिमा पनि बैंकहरुले विभिन्न प्रयास थालेका छन् । धेरै बैंकहरुले प्रोत्साहन स्वरुप दिइने केही भत्ताहरु कटौति गरेका छन् भने केही बैंकहरुले कर्मचारी कटौति गरेका छन् ।

करार नविकरण नभएको भन्दै केही कर्मचारीले राष्ट्र बैंकमा गुनासो गरेको गुनासो सुनुवाई इकाइको जिम्मेवारी समेत हेरिरहेका ढकालले बताए ।

‘हामीले कर्मचारी नहटाउनुहोस् भनेका छौं तर कर्मचारी र बैंकबीच भएको करारमा राष्ट्र बैंकले हस्तक्षेप गर्नु स्वभाविक हुन्न,’ उनले भने ।

बैंकहरुले नयाँ कर्मचारी लिँदा शुरुमा ३ महिना वा ६ महिना करारमा राख्ने गरेका छन् । त्यस्तै केही प्राविधिक कामका लागि करारमा कर्मचारी राख्ने गरेको छन् । केही कामदार व्यवस्थापन कम्पनीबाट आउटसोर्स गरिएका हुन्छन् । केही कर्मचारी लामो समय अस्थायी रुपमा काम गर्दै आएका हुन्छन् । यस्ता कर्मचारीहरुको जागिर यतिबेला जोखिममा परेका जानकारहरु बताउँछन् ।

सकेसम्म कर्मचारी कटौति नगर्ने बैंकर्सहरुको प्रयास भएका नेपाल बैंकर्स संघको अध्यक्ष भुवन दाहाल बताउँछन् ।

‘कर्मचारी कटौतिबाट एउटा बैंकले वर्षमा बढीमा ५र७ करोड बचत होला, त्यति रकमका लागि कर्मचारी कटौति नगरौं भन्ने संघको धारणा हो, खास समय अवधिको लागि लिइएका कर्मचारीको करार नविकरण नहुनुलाई ठूलो समस्याको रुपमा लिनु भएन,’ उनले भने ।

एउटै सपिङ महलमा ३/४ वटा बैंकको एटीएम भएको अवस्थामा एउटा मात्र राख्ने, एउटै इलाकामा धेरै शाखा छन् भने आपसमा शाखा मर्ज गर्न सकिन्छ कि भन्ने लाईनमा छलफल भईरहेको तर शाखा बन्द गर्ने कुरा नभएको उनले बताए ।

आम्दानी घट्दा खर्च कटौतिको प्रयास हुनुलाई व्यवस्थापनको स्वभाविक अभ्यासको रुपमा लिनुपर्ने जानकारहरु बताउँछन् । यसमा राष्ट्र बैंक पनि सकारात्मक हुनुपर्ने व्यवस्थापन विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.