लगानी बोर्डको सीईओमा यी १२ भेट्रनबीच प्रतिस्पर्धा हुँदै, कसले मार्ला बाजी ?

  २०७७ असार २१ गते १२:२०     विकासन्युज

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि १२ जना बीच प्रतिस्पर्धा हुने भएको छ । बोर्डको सीईओका लागि आवेदन दिने अन्तिम समय शुक्रबार ३ बजेसम्मको लागि तोकिएको थियो । सो समयभित्र आवेदन दिएका १२ जनाबीच अब बोर्डको सीईओको लागि प्रतिस्पर्धा हुने भएको हो ।

आवेदन लिएको १२ जनाहरु विभिन्न क्षेत्रमा अनुभव प्राप्त गरिसकेका छन् । यसले पनि ती १२ जनाबीचको प्रतिस्पर्धा एकदमै रोचक हुने देखिन्छ । स्रोतका अनुसार दरखास्त पेस गर्नेहरूमा सरकारी निकायका पदीय जिम्मेवारीमा रहेका अधिकारीदेखि, बैंकर, पूर्वप्रशासक तथा चार्टर्ड एकाउन्टेन्टहरूसम्म छन् ।

अहिले सीईओ बन्नका लागि उनीहरुको दौडधुप पनि निकै तातेको छ । ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी हुने परियोजनाको स्वीकृत दिने लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पद धेरैको लागि आकर्षणको केन्द्र बनेको छ ।

सीईओका लागि आवेदन दिनेहरूमा राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष एवं कर्मचारी सञ्चयकोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य र नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी रहेको बताइएको छ ।

त्यसैगरी पूर्वसहसचिव लक्ष्मीविलास कोइराला, बोर्डमा परामर्शदाताका रूपमा कार्यरत इन्जिनियर आशिष गजुरेल, विद्युत नियमन आयाेगका पूर्व सदस्य रामकृष्ण खतिवडा र विशेष आर्थिक क्षेत्र प्राधिकरणका पूर्व कार्यकारी निर्देशक चण्डीका भट्टले पनि आवेदन दिएका छन् ।

त्यस्तै, विदेशी लगानीबारे जानकार डा.सरोज कोइराला, माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कानून सेवाका शेरजङ कार्की र अर्थशास्त्रका सहप्राध्यापक रमेशचन्द्र पौडेल पनि बोर्डको सिइओका लागि आवेदन दिएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्प कँडेल र अर्थशास्त्री प्रा.डा गोविन्द नेपाल सदस्य रहेको छनौट समितिले उनीहरूमध्ये ३ जनाको नाम सर्टलिस्ट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा पेश गर्नेछ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाउने र मन्त्रिपरषद्ले तीन मध्ये एक जना लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षको लागि नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको कार्यावधि ४ वर्षको हुने कानुनी व्यवस्था छ।

सीईओका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियर वा विकास परियोजनासम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवद्र्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय तथा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुुभव हासिल गर्नुपर्ने योग्यता हुनुुपर्ने कानुनी व्यवस्था छ ।

प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि उक्त पद विगत ३ महिनाअघि खाली भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.