साधना लघुवित्तको आईपीओ आजदेखि खुल्यो, कति लगानी गर्ने र कसरी फाइदा लिने ?

  २०७७ असार २१ गते ११:०४     विकासन्युज


काठमाडौं । राष्ट्रिय स्तरको साधना लघुवित्त वित्तीय संस्थाले आज(असार २१ गते)देखि साधारण सेयर(आईपीओ)को बिक्री खुला गरेको छ । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो ।

गत असार ७ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको लघुवित्तले १५ दिनमै सेयर निष्काशन गर्ने भएको छ । कूल ७ लाख ७ हजार ८ सय कित्ता साधारण सेयर मध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ ।

त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ ।

उक्त सेयर निष्काशनको लागि संस्थाले ईक्रा नेपालबाट ‘आईसीआरए एनपी आईपीओ ग्रेड ४’ क्रेडिट रेटिङ्ग पाएको छ ।

कति लगानी गर्दा उपयुक्त हुन्छ ?

‘सामन्यतः लघुवित्तको निष्काशन हुने सेयर संख्याको अनुपातमा आवेदन दिने व्यक्तिहरुको संख्या धेरै गुणा बढी हुने गर्दछ । त्यसो हुँदा प्रतिव्यक्ति १० कित्ताको दरले सेयर वितरण गरिने र त्यसमा पनि संख्या बढी भएमा चिठ्ठा मार्फत् छनोट गरिने हुँदा धेरै रकम लगानी गर्न आवश्यक छैन । तसर्थ हाम्रो लघुवित्तको हकमा न्युनतम कित्ता १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।’ – संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्याैपानेले बताए ।

यो आईपीओमा लगानी गर्दा कसरी फाइदा लिने र कहिलेदेखि प्रतिफल पाइन्छ ?

‘सेयरधनीहरुले यो आर्थिक वर्षको कमाईबाटै अझ गत वर्षहरुको सञ्चित आम्दानी समेत गरी अर्को वर्ष प्रतिफल पाउनुहुन्छ । अझ स्पष्ट भन्ने हो भने यसपालीको सेयरधनीहरु भाग्यमानी हुनुहुन्छ । किनभने, आईपीओ बाँडफाँट भए पश्चात् यस वर्षनै प्रतिफल दिईने संस्थाको योजना रहेको छ । त्यसैले, उहाँहरुले लगानी गरेको १० दिनमै उचित प्रतिफल पाउनुहुन्छ । ढुक्क भएर सेयर भर्नोस् ।’- सीईओ न्याैपानेले विकासन्युजसँग बताए ।

र, याे पनि पढ्नुहाेस्ः

साधना लघुवित्तमा लगानी गरेको १० दिनपछि नै उचित प्रतिफल पाइन्छ- सीईओ न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.