एनआईसी एशिया लघुवित्तको आईपीओ शनिबार नै बाँडफाँड हुने, घरबाटै लाइभ हेर्न सकिने

  २०७७ असार १९ गते १७:१७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) शनिबार(असार २० गते) नै हुने भएको छ । आइतबार बाँडफाँड हुने भनिएको संस्थाको आईपीओ एक दिन अगाडि नै बाँडफाँड हुने भएको हो ।

संस्थाको आईपीओ शनिबार बिहान साढे ९ बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा हुनेछ । उक्त सेयरकाे बाँडफाँड प्रक्रिया लगानीकर्ताले सानिमा क्यापिटलको फेसबुक पेजबाट लाइभ हेर्न सक्नेछन् ।

आगामी साता दुई कम्पनीको आईपीओ निष्काशन हुने भएको र उक्त सेयरमा लगानी गर्न लगानीकर्तालाई सहज हुने भएकाले शनिबार नै बाँडफाँड गर्न लागेको बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आइतबार साधना लघुवित्तको आईपीओको बिक्री खुला हुने भएको र सोहि दिन बाँडफाँड गर्दा सीडीएससीको सर्भरमा चाप पर्ने भएकाले अघिल्लो दिनको लागि मिति तय गरिएको हो ।

उक्त सेयरको प्री-अलोटमेन्ट आज(बिहीबार) भएको थियो । जसअन्तर्गत कूल ३ लाख ९७ हजार ७ सय ४१ जनाको आवेदन मात्र योग्य रहेकोे र बाँकी १६ लाख ४ सय ३९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

गत असार १० गतेदेखि असार १४ गतेसम्म निष्काशन भएको संस्थाको सेयरमा कूल ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए ।

यससँगै सेयर बाँडफाँडको क्रममा पहिलो चरणमा सबै आवेदकले १०/१० कित्ताको दरले सेयर प्राप्त गर्ने छन् र त्यसपछि बाँकी रहेको सेयर गोलाप्रथा मार्फत वितरण गरिने छ ।

गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । उनीहरुले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका छन् ।

जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो ।

संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो ।

जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.