१० खर्ब लगानी रहेको पर्यटन क्षेत्र संकटमा, ३४ अर्बकाे क्षति, ८ लाख मानिस बेरोजगार हुने चिन्ता

  २०७७ असार १९ गते १४:३२     विकासन्युज

काठमाडौं । सरकारी र नीजि क्षेत्रबाट गरी १० खर्ब बढीको लगानी रहेको पर्यटन क्षेत्र संकटमा परेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालको पर्यटन क्षेत्रमा धेरै असर परेको बताइएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि कोरोनाको कारण पर्यटन क्षेत्र धरासायी बनेको धारणा राखेका छन् । शुक्रबार मत्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यति ठूलो लगानी रहेको क्षेत्रमा परेको असरले सम्पूर्ण क्षेत्रलाई त्यतिकै असर परेको बताएका छन् ।

उनले अब कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल तथा तयारी भइरहेको बताएका हुन् । साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको उल्लेख गर्दै उनले अहिले यी सबै मानिसहरुलाई असर परिरहेको उनको भनाई छ ।

यस्तै, लकडाउन सुरु भएदेखि आजसम्म पर्यटन क्षेत्रमा ३४ अर्ब क्षति भएको बताइएको छ । सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ ।

मन्त्री भट्टराईले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लकडाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको बताए । कोभिडका कारण कर्मचारीहरुलाई तलब दिन पनि समस्या भइरहेको उनले बताए ।

‘भोलि होटल सञ्चालनमा आएपछि कसरी सतर्कता अपनाउने भन्ने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको छ, अहिलेको पर्यटक र ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै हुँदैन, त्यसका लागि हामी तयारी गरिरहेका छौं,’ उनले भने ।

व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उनले बताए ।
यस्तै, देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेटमार्फत ५० अर्बको पुर्नकर्जाका लागि कोष बनाइएको उनको भनाई छ । १ खर्बको अर्को कोष बनाइएको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रमा परेको असरलाई कसरी सम्बोधन गर्ने भनेर अहिले २० करोडको एउटा कोष बनाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.