मौद्रिक नीतिको अन्तिम तयारीमा जुट्यो राष्ट्र बैंक, अर्काे साता सरोकारवालासँग बृहत छलफल

  २०७७ असार १९ गते १३:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ । साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी सहित राष्ट्र बैंक तयारीमा जुटेको हो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिले राहत र पुनरुत्थानलाई विशेष जोड दिने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । अहिलेसम्मको अनौपचारिक रुपमा राहत र पुनरुत्थानलाई जोड दिएको र विभिन्न मञ्चहरुमा पनि यही विषयमा बढी छलफल भएकोले मौद्रिक नीतिले सरोकारवालाले उठाएका विषयलाई नै सम्बोधन गर्ने उनको भनाइ छ ।

‘अहिलेसम्म हामी विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिरहेका छौं, आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न आर्थिक समस्या समाधानको लागि राहत र पुनरुत्थानलाई बढी जोड दिनुपर्छ भन्ने सुझाव नै धेरै आएको छ, राष्ट्र बैंकको बुझाइ पनि त्यस्तै हो, मूल्यबृद्धि बान्छित सीमामा रहन सक्ने गरी मौद्रिक नीति केही खुकुलो खालको आउने सम्भावना छ,’ अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका डा. भट्टले भने ।

राष्ट्र बैंकले आगामी साता सुझाव संकलन सक्ने तयारी गरेको छ । मौद्रिक नीति ल्याउनुअघि राष्ट्र बैंकले बैंकर्स, व्यवसायी, अर्थशास्त्री, प्राध्यापक, उद्यमी जस्ता विभिन्न क्षेत्रका प्रतिनिधि तथा विज्ञहरुसँग सामुहिक छलफल गर्ने गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम धेरै भएकोले यसपाली राष्ट्र बैंकले भौतिक रुपमा उपस्थिति नगराई वेबनार मार्फत सुझाव संकलन गर्ने तयारी गरेको छ । आगामी साता यस्तो वेबनार हुने डा. भट्टको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.