बैंक वित्तीय संस्थाले शाखा बन्द गरेकोमा राष्ट्र बैंकको असन्तुष्टि, भन्छः यो बन्द गर्ने बेला होइन

  २०७७ असार १९ गते १३:३९     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनको कारण कारोबार नभएको कारण देखाएर बैंक वित्तीय संस्थाहरुले शाखा बन्द गर्न थालेका छन् ।

बैंक वित्तीय संस्थाले यसरी शाखा बन्द गरेकोप्रति नेपाल राष्ट्र बैंकले असन्तुष्टि जनाएको छ । कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण आर्थिक गतिविधि करिब ठप्प भएकोले यसलाई पुनरुत्थान गर्न आर्थिक गतिविधि बढाउनु पर्ने र त्यसका लागि बैंक तथा वित्तीय संस्थाको उपस्थिति अनिवार्य भएकोले बन्द गराउन नहुने राष्ट्र बैंकको भनाइ छ ।

आर्थिक गतिविधि बढाउन बैंक तथा वित्तीय संस्थाको उपस्थिति आवश्यक पर्ने भएकोले अहिले भएका शाखा बन्द गर्नु उपयुक्त नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

‘अहिले केही समयमा कारोबार कम भयो होला, आर्थिक गतिविधि कम भए होलान्, तर अहिले देखिएका समस्या समाधान गरेर आर्थिक रुपमा अघि बढ्न आवश्यक छ, त्यसको लागि बैंक वित्तीय संस्थाको उपस्थिति अनिवार्य हुन्छ, त्यसैकारण बैंक वित्तीय संस्थाका शाखा बन्द गर्नु हुदैन, शाखा नभएका ठाउँमा पनि नयाँ खोल्नुपर्ने अवस्था आउने भएकोले अहिले शाखा बन्द गर्नु उल्टो हुन्छ,’ अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका प्रवक्ता डा. भट्टले भने ।

केही बैंक तथा वित्तीय संस्थाहरुले भने पछिल्लो समय कारोबार कम भएको, खोलिएका शाखामा सेवाग्राही नआएका तथा आफ्नो संचालन खर्च कम गर्न भन्दै कम कारोबार हुने शाखालाई नजिकको शाखासँग गाभ्ने गरेका छन् ।

यसरी शाखा बन्द गर्दा आफूहरुलाई समस्या भएको सेवाग्राहीको गुनासो छ । सरकारले लकडाउनको समयमा बैंक वित्तीय संस्थाका कर्मचारीलाई आवत जावत गर्न कठाइ गरेपछि शाखा खोल्न समस्या भएको पनि बैंक वित्तीय संस्थाहरुको गुनासो छ । तर, पछिल्लो समय सरकारले लकडाउन खुकुलो बनाउँदै लगेपछि यो समस्या भने समाधान हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.