निर्धारित समय अगावै बन्द भयाे सेयर बजार, कारोबार अब आइतबार मात्रै हुने

  २०७७ असार १८ गते १३:०४     विकासन्युज


काठमाडौं । गत मंगलबारदेखि निरन्तर बढेको सेयर बजारमा बिहीबार ब्रेक लागेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजारमा तीन पटक नकारात्मक सर्किट ब्रेक लागेर निर्धारित समय अगावै कारोबार बन्द भएको हो ।

दिउँसो १२ बजेर ४० मिनेटमा नेप्से परिसूचक ६.०२ प्रतिशतले घटेपछि बजारमा अर्को सर्किट ब्रेक लागेको हो । यससँगै आजको लागि कारोबार स्थगित भएको छ ।

यसअघि दुई दिन लगातार तीन पटक सम्म सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजारमा आज करेक्सन भएको छ । बजार खुलेको २३ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएको थियो । त्यसपछि बजार खुलेको ४ मिनेट नबित्दै परिसूचक ५ प्रतिशतले घटेर दोश्रो पटक सर्किट लागेको थियो । यससँगै ४० मिनेट पछि खुलेको बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेर पुनः सर्किट लागेर आजको कारोबार बन्द भएको हो ।

यो अवधिमा नेप्से परिसूचक ८०.४१ अंकले घटेर १२५६.११ अंकमा झरेको छ । सो दिन १४२ कम्पनीको ४७ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३८३ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबार म्युचअल फण्ड बाहेक कारोबारमा आएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६०८ अंकले घटेको छ ।

तीन पटकसम्म नकारात्मक सर्किट लागेको बजारमा पनि स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.०७ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी सोल्टी होटलको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, ९ प्रतिशत बढी गुमाउनेमा प्रभु बैंक, हिमालयन डिष्टिलरी, लाईफ इन्स्योरेन्स कम्पनी र ग्लोबल आईएमई क्यापिटलका लगानीकर्ता रहेका छन् ।

यससँगै अब आइतबार(असार २१ गते) मात्रै सेयर कारोबार खुल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.