पुनर्बीमा कम्पनीको अध्यक्ष पद खाली, १६० करोड लगानीकर्ताको प्रतिनिधि शुन्य

  २०७७ असार १८ गते १२:३२     विकासन्युज


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद खाली भएको छ । महेश गुरागाईँको कार्यकाल असार १४ गतेबाट सकिएको छ ।

पुनर्बीमा कम्पनीको कार्यकाल सकिनै लाग्दा गुरागाईँ पर्यटन मन्त्री योगेश भट्टराई अध्यक्ष रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । पुनर्बीमा कम्पनी छाेड्नु परेपनि सरकारले आफूलाई नछाेडेकाे सन्देश दिन उनी सफल भएका छन् ।

पुर्नबीमा कम्पनीमा कामु अध्यक्षको जिम्मेवारी सञ्चालक पुरुषोत्तम सुवेदीले पाएका छन् । बीमा संस्थानबाट अवकास प्राप्त सुवेदी उक्त कम्पनीमा  २०७५ भदाैदेखि स्वतन्त्र सञ्चालककाे रूपमा कार्यरत छन् ।

यस कम्पनीको सर्बसाधारण सेयरधनीको १ अर्ब ६० करोड रुपैयाँ सेयर लगानी रहेको छ । तर अहिलेसम्म सञ्चालक समितिमा साधारण लगानीकर्ताको प्रतिनिधित्व भएको छैन । कम्पनीको आगामी साधारणसभामार्फत सर्बसाधारण सेयरधनीको तर्फबाट सञ्चालक चयन हुने कम्पनीको प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले बताए ।

हाल नेपाल सरकारको तर्फबाट यमलाल भुषाल र रमेश राणा सदस्य छन् । बीमा कम्पनीहरुको तर्फबाट दीपप्रकाश पाण्डे सदस्य रहेका छन् । करिव ६० प्रतिशत सेयर नेपाल सरकारको रहेकोले कम्पनीको अध्यक्ष सोझै सरकारले नियुक्त गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.