खानेपानी योजनामा नक्कली उपभोक्ता समिति खडा

  २०७७ असार १८ गते ९:१०     विकासन्युज

काठमाडाैं । सुन्दा पनि अचम्म लाग्न सक्छ, जिल्लाको आदर्श गाउँपालिका–२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना’मा उपभोक्ता समिति नै नक्कली बनाइएको खबर बाहिर आएको छ । सो वडामा सञ्चालन भइरहेको खानेपानी योजनाको नक्कली उपभोक्ता समिति गठन गरेर रकम झ्वाम पार्ने योजना बनाएको स्थानीयवासीको आरोप छ ।

प्राप्त जानकारीअनुसार नक्कली ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना उपभोक्ता समिति’ बनाएर रकम खाने योजना बनाएको स्थानीयवासीले चाल पाएपछि यो खबर बाहिर आएको हो । उपभोक्ताहरुको भेला नै नबोलाई कीत्र्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेर गाउँपालिकाबाट पेस्की रकमसमेत लिएको स्थानीय रमेशबहादुर साउदले आरोप लगाए । स्थानीय धनबहादुर साउद अध्यक्ष रहेको उपभोक्ता समिति गठन गर्दा र वडा कार्यालयसँग सम्झौताको कागज बनाउँदासमेत कसैलाई पनि उपस्थित नगराइएको उनको भनाइ छ । उक्त समिति गएको जेठ १२ गतेका दिन गठन गरिएको पाइएको छ ।

विसं २०७६ साल फागुन महिनामा सबै उपभोक्ताहरुको उपस्थितिमा कुलप्रसाद ओझाको अध्यक्षतामा सोही योजनाको समिति गठन भइसकेको भए पनि उक्त समितिसँग सम्झौता नै नगरी गोप्यरूपमा जेठमा आएर अर्को समिति गठन भएर काम अगाडि बढाइएको बताइएको छ । ओझाले भने, “हामीलाई कुनै जानकारी नगराई समिति गठन गरेर काम भएको रहेछ, सबै कागजात नक्कली बनाइएका छन्, हस्ताक्षर कीत्र्ते गरिएको छ, कारवाही हुने की नहुने ?”

उक्त खोपानी समितिमा अर्कै सडकको योजनाको समितिमा उपस्थित भएकाहरुको हस्ताक्षरसहितको कागजलाई ल्याएर खानेपानी समितिको फाइलमा राखेर उपस्थिति देखाइएको आदर्श–२ का अर्का स्थानीय नवराज ओझाले बताए । उनले भने, “वडा अध्यक्षलगायतको मिलेमतोमा काम अगाडि बढेको हो, यो कुरा उपभोक्ताहरु कसैलाई थाहा छैन्, सबैले मिलेर पैसा खान खोजेका हुन् ।”  तीन लाख रकम रहेको उक्त खानेपानी योजनाको ७५ हजार पेस्की लिएर नयाँ बनेको समितिले काम अगाडि बढाएको छ ।

समितिका अध्यक्ष धनबहादुर साउदले गठन प्रक्रिया नक्कली भएको स्वीकार गरे । “समिति गठन गर्दा सबैसँग सल्लाह हुन सकेन”, साउदले भने, “एकरदुई जनासँग मौखिक सल्लाह गर्दा हुन्छ भने, मैले पनि काम अगाडि बढाएँ, यस्तो होला भनेर थाहा पाएन ।” स्थानीय तीर्थ रौतेडाले सबै नक्कली कागजात मिलाएर सहयोग गरिदिएको अध्यक्ष साउदले जानकारी दिए ।

उता सो वडाका वडाअध्यक्ष रामबहादुर बोहराले भने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे । “सडकको समितिको माइन्युटलाई ल्याएर यो समितिमा उपस्थिति जनाएका रहेछन्”, वडाअध्यक्ष बोहराले भने, “कानूनमा नमिल्ने काम भएको अहिले थाहा पाएँ, नक्कली प्रक्रियाबाट उपभोक्ता समिति गठन भएको भए छानबिन गर्छौं ।”

अहिले काम रोकिएको र पेस्कीअनुसारको काम भए नभएको अनुगमन गर्ने र यदि काम भएको छैन भने समितिबाट असुलउपर गर्नेसमेत वडाध्यक्ष बोहराले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले समिति नक्कली बनाएर पेस्की लिएको प्रमाणित भए काम रोकेर कारवाही गरिने बताए ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.